धरान- बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको संस्था ‘परिक्रमा विद्यार्थी परिवार’को आयोजनामा ‘सिम्पोजियम कम टक शो’को नवौँ संस्करण सम्पन्न भएको छ। दुई दिनसम्म सञ्चालन भएको उक्त कार्यक्रम चिकित्सा शास्त्रलाई मानविकीका विविध आयामसँग जोड्ने उद्देश्यसहित आयोजना गरिएको थियो।
कार्यक्रममा विभिन्न समसामयिक विषयमा संवाद, विशेष मन्तव्य तथा प्रतिष्ठानका विद्यार्थीहरूसँग ज्ञान आदान–प्रदान गरिएको थियो। प्रत्येक वर्षझैँ यस वर्ष पनि चारवटा मुख्य विषयमा केन्द्रित भई गहन छलफल सम्पन्न गरिएको आयोजकले जनाएको छ।
पहिलो प्यानल 'शान्त शिल्पीहरू: नेपाललाई आकार दिने संस्थाहरू' शीर्षकमा केन्द्रित थियो। राष्ट्र निर्माणमा मौन तर प्रभावशाली भूमिका निर्वाह गरिरहेका संस्थाहरूको योगदान, चुनौती, निर्णय प्रक्रिया र उत्तरदायित्वबारे विस्तृत बहस गरिएको थियो। उक्त प्यानलमा मतिना जोशी वैद्य, घनश्याम गुरुङ र राहुलमुनि बज्राचार्य प्यानलिस्टका रूपमा सहभागी थिए भने पत्रकार भोजराज श्रेष्ठले प्रश्नकर्ताको भूमिका निर्वाह गरेका थिए।
पहिलो दिनकै दोस्रो प्यानल कला र संस्कृतिमा केन्द्रित रह्यो। देश तथा विदेशमा परिचित व्यक्तित्वहरूसँग कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनबारे संवाद गरिएको थियो। उक्त सत्रमा हास्यकलाकार मनोज गजुरेल, संगीत पारखी झुमा लिम्बु, सेफ सन्तोष साह र लेखक सुरज सुबेदी प्यानलिस्टका रूपमा उपस्थित थिए। सत्रको सहजीकरण लेखक तथा पत्रकार केदार शर्माले गरेका थिए।
दोस्रो दिनको कार्यक्रम पनि उत्तिकै सारगर्भित रह्यो। समसामयिक परिवेशलाई मध्यनजर गर्दै 'जेनजीले ल्याएको परिवर्तन र भविष्यको रूपरेखा' विषयमा छलफल आयोजना गरिएको थियो। उक्त प्यानलमा रक्षा बम, प्रा.डा. लोकराज बराल, अर्थविद् डा. प्रदीप पन्थी र अधिवक्ता डिल्लीबहादुर कार्की सहभागी थिए। वरिष्ठ पत्रकार टीकाराम यात्रीले संवाद सञ्चालन गरेका थिए।
अन्तिम प्यानल 'बिपिकेआइएचएस एट क्रसरोड्स' शीर्षकमा केन्द्रित रह्यो, जसमा प्रतिष्ठानको विगत, वर्तमान र भविष्यबारे गहन छलफल गरिएको थियो। यस सत्रमा प्रा.डा. विक्रमप्रसाद श्रेष्ठ, प्रा.डा. नीलाम्बर झा, प्रा.डा. कृष्णा पोखरेल र अक्षय गौतम प्यानलिस्टका रूपमा सहभागी थिए। डा. अनिश अधिकारीले प्रश्नकर्ताको भूमिका निर्वाह गरेका थिए।
दुई दिनसम्म सञ्चालन भएको उक्त कार्यक्रम उपलब्धिमूलक रहेको परिक्रमा विद्यार्थी परिवारका अध्यक्ष दिक्षान्त यादवले बताए। उनका अनुसार कार्यक्रममा महत्वपूर्ण विषयमा गहन छलफल भएको र यसले विद्यार्थीहरूलाई विभिन्न आयाममा ज्ञान अभिवृद्धि गर्नुका साथै आफ्ना जिज्ञासा मेट्ने अवसर प्रदान गरेको थियो।