काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्री डा सुधा गौतमले नरदेवी आयुर्वेद चिकित्सालयलाई प्रमाणमा आधारित चिकित्सा पद्धतिको प्रवर्द्धन गर्न निर्देशन दिएकी छिन्।
शुक्रबार निरीक्षण तथा अनुगमन गर्दै मन्त्री गौतमले उक्त निर्देशन दिएकी हुन्। उनले समयानुकुल आयुर्वेद तथा वैकल्पिक चिकित्साको अध्ययन र अनुसन्धानमा समेत जोड दिएकी छिन्।
समुदायमा योग, ध्यान र स्वस्थ जीवनशैली अवलम्बनका लागि प्रेरित गर्न र सामुदायिक परिचालनका लागि सबै पक्षसँग प्रभावकारी समन्वय र सहकार्य पनि मन्त्री गौतमको निर्देशन छ। साथै उनले उपलब्ध स्रोत साधनको समुचित व्यवस्थापनका लागि प्रतिवद्धता व्यक्त गरेकी छिन्।
चिकित्सालयका निर्देशक डा बासुदेव जनार्दन उपाध्यायले उनले अस्पतालको हालको अवस्था, प्रगति, भावी योजना, चुनौती र समस्या समाधानका बारेमा मन्त्री गौतमलाई जानकारी गराएका थिए।
मन्त्री गौतमले अस्पतालको बहिरङ्ग, अन्तरङ्ग सेवा विभाग, प्रयोगशाला, बिरामी सहायता कक्ष, शल्यक्रिया कक्ष, स्त्री तथा प्रसूती उपचार कक्ष, पञ्चकर्म र एक्युपंक्चर विभाग लगायत शाखाहरुको निरीक्षण गरेकी छिन्।