विराटनगर- नोबेल मेडिकल कलेज विराटनगरको भवनबाट खसेर घाइते भएका एक जना एमबीबीएस इन्टर्न डाक्टरको उपचारका क्रममा ज्यान गएको छ।
प्रहरीका अनुसार आइतबार बिहान करिब ६:३० बजे कलेजको मुख्य गेटतर्फ रहेको भवनको पाँचौँ तलाबाट खसेर ३४ वर्षीय अमित यादव गम्भीर घाइते भएका थिए। सप्तरीको राजविराज नगरपालिका–९, जगदरी निवासी यादव तल भुइँमा खस्दा उनको टाउकोमा गम्भीर चोट लागेको थियो।
घटनापछि उनलाई तत्कालै सोही अस्पतालको आकस्मिक कक्षमा भर्ना गरी उपचार सुरु गरिएको थियो। तर उपचारकै क्रममा आज बिहान उनको मृत्यु भएको नोबेल शिक्षण अस्पतालका व्यवस्थापक दिपेश राईले जानकारी दिएका छन्।
मृतक यादव नोबेल मेडिकल कलेजमै अध्ययनरत एमबीबीएस इन्टर्न डाक्टर रहेको अस्पताल स्रोतले जनाएको छ।
घटनाको कारण खुल्न बाँकी रहेको भन्दै प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।