भरतपुर अस्पतालमा सञ्चालित सात फार्मेसीहरुको तस्विर
चितवन - भरतपुर अस्पतालको मूल गेटबाट छिर्ने बित्तिकै देब्रेपट्टी ठूलो अक्षरमा लेखिएको देखिन्छ, ‘अस्पताल फार्मेसी’
ओपिडी र स्वास्थ्य बीमाका बिरामीहरुले यो फार्मेसीबाट औषधि लिन्छन्। बिरामीले सुरुमा काउन्टरबाट टिकट लिन्छन्, डिजिटल डिस्प्लेमा नम्बर आएपछि बिलिङ हुन्छ। औषधि तयार भएपछि पालैसँग सबैको नाम माइकिङबाट बोलाइन्छ। र, त्यसपछि बिरामीले औषधि पाउँछन्। तर औषधि लिने बित्तिकै उनीहरु घर फर्कदैनन्। फार्मेसीमा रहेका फर्मासिस्टहरुले उनीहरुलाई पठाउन्छन्, औषधि परामर्श कक्षमा।
माइकिङबाट नाम बोलाएपछि औषधि लिन पुगेका सेवाग्राहीहरु।
काउन्टर नम्बर ३ को ठिक पछाडी रहेको औषधि परामर्श कक्षमा बिरामीलाई औषधि बारे परामर्श दिइन्छ। यो परामर्श कक्षमा हामी पुग्दा फर्मासिस्ट वेद प्रकाश निउरेले बिरामीहरुलाई औषधि बारे जानकारी दिँदै थिए।
औषधि परामर्श कक्षमा बिरामीहरुलाई परामर्श गर्दै फर्मासिस्ट वेद प्रकाश निउरे।
यो कक्षमा बिरामीलाई औषधि खाना अघि र पछि खानु भनेर मात्र पठाइदैन। औषधिले निम्त्याउन सक्ने साइड इफेक्ट र त्यसलाई न्यूनीकरण गर्न सकिने उपाय बारे पनि जानकारी दिइन्छ। बिरामीले औषधि सम्बन्धी अन्य थप जानकारी लिनुका साथै आफ्ना जिज्ञासा पनि मेटाउन सक्छन्।
उक्त फार्मेसीमा औषधि लिन आउने प्रत्येक बिरामीलाई औषधि बारे परामर्श गर्ने गरिएको डिस्पेन्सरी फार्मेसी इन्जार्च जय पाठक बताउँछन्।
उनी भन्छन्, ‘औषधिमा गोलो लगाएर खानापछि खाना अघि खानु भनेर मात्र दिँदैनौ। औषधि कसरी खाने ? त्यो औषधि खाँदा के कस्तो साइड इफेक्ट आउन सक्छ, र कसरी कम गर्ने ? जस्ता विषयहरु बिरामीलाई जानकारी दिन्छौ।’
उनका अनुसार दमका बिरामी, पाठेघरको मुखमा औषधि राख्नुपर्ने जस्ता र दीर्घ रोगीहरुका लागि विशेष खालको परामर्श समेत गरिन्छ।
बिरामीमा औषधिको सही प्रयोग बढाउनु नै परामर्श कक्षको मुख्य उद्देश्य भएको उनी बताउँछन्। धेरै भीडभाड हुने अस्पतालमध्ये भरतपुर अस्पताल पनि हो। भीडमा बिरामीलाई औषधिबारे सही जानकारी दिन समस्या हुने भएकाले यस किसिमको परामर्श कक्ष आवश्यक भएको उनले बताए।
‘बिरामीको भीडभाड भइरहन्छ। औषधिको जसरी प्रयोग हुनुपर्ने हो, त्यसरी भइरहेको हुँदैन।’ उनले भने, ‘चिकित्सकले जसरी बिरामीलाई औषधिको सही प्रयोग बारे भनेका हुन्छन्, त्यसको परामर्श हामी गर्छौ।’
रिजनल फर्माकोभिजिलेन्स सेन्टरमा पुग्छन्, साइड इफेक्टका कुरा
सोही परामर्श कक्षमा औषधिले निम्त्याउन सक्ने साइड इफेक्टका कुराहरु पनि नोट गरिन्छ। र, केही बिरामीहरुले औषधि खाने क्रममा भएका साइड इफेक्ट बारे पनि बताउने गर्छन्। जसलाई यस अस्पतालमा रहेको रिजनल फर्माकोभिजिलेन्स सेन्टर मार्फत अभिलेखिकरण गर्ने गरिन्छ।
भरतपुर अस्पताल औषधि व्यवस्था विभागको रिजलन फर्माकोभिजिलेन्स सेन्टरको रुपमा समेत काम गरिरहेको छ। यस सेन्टरमा औषधिको नकारात्मक प्रतिअसर अर्थात् एड्भर्स ड्रग रियाक्सन (एडीआर) का घटना दर्ता गरिन्छ।
कुनै पनि औषधि निर्धारित मात्रा र सही तरिकाले प्रयोग गर्दा पनि व्यक्तिमा देखापर्ने नकारात्मक प्रतिअसरलाई एडीआर भनिन्छ। जुन सामान्यदेखि जटिल प्रकारको हुन गर्दछ। यस किसिमको एडीआरका घटना गत पाँच महिनामा २८ वटा दर्ता भइसकेको छ।
एडीआरको नियमित निगरानी तथा रिर्पोटिङ्ग प्रणाली मार्फत अस्पतालले यी २८ वटा घटना भएको अस्पतालका फार्मेसी विभाग प्रमुख सबिनराज लामिछाने बताउँछन्। यसरी भरतपुर अस्पतालले सेन्टरको रुपमा रहेर काम गरेको पनि पाँच महिना भएको छ।
उनी भन्छन्, ‘बिरामीको उपचारमा विभिन्न औषधिहरु प्रयोग हुन्छन्। जसमा कहिले काही कुनै बिरामीमा केही नकारात्मक प्रतिकुल असरहरु देखिन सक्छन्। त्यस्ता असरहरु के कस्ता देखिए भनेर हामीले जानकारी संकलन गर्छौ।’
उनका अनुसार औषधिको प्रयोग गर्दा गम्भीर, मध्यम र सामान्य खालका असरहरु देखिन सक्छन्। जसमध्ये भरतपुर अस्पतालमा देखिएका असरहरु सामान्य खालका मात्र भएको उनले बताए। हालसम्म सामान्य खालका एलर्जीहरु मात्र देखिएको उनले जानकारी दिए।
विभाग अनुसार औषधि वितरण सेवा
यस अस्पतालमा औषधि लिन आउने बिरामीहरु सबै एउटै फार्मेसीमा भीड गरेर लाइनमा बस्नु पर्दैन। बिरामीको आवश्यकता अनुसार अस्पतालले विभाग अनुसार फार्मेसी सेवा सञ्चालन गरेको छ।
भीड नियन्त्रण र बिरामीको सहजताका लागि भन्दै यस अस्पतालले विभाग अनुसार फरक फरक सात वटा औषधि फार्मेसी सञ्चालन गरेको छ। ती हुन् :
१. ओपिडी ब्लकमा भएको ओपिडी फार्मेसी
२. मुख्य फार्मेसी (स्वास्थ्य बीमा/ओपिडी फार्मेसी)
३. रिफिल फार्मेसी
४. ओटी फार्मेसी
५. इण्डोर फार्मेसी
६. निःशुल्क औषधि वितरण कक्ष
७. इमरजेन्सी फार्मेसी
यी सातमध्ये ओपिडी तर्फ तीन, इण्डोरका लागि दुई, इमरजेन्सीका लागि एक र निःशुल्क औषधि वितरणका लागि एक वटा फार्मेसी सञ्चालित छन्।
ओपिडी फार्मेसी बिहान ७ देखि ६ बजेसम्म र इमरजेन्सी तथा इन्डोर फार्मेसी २४ सैँ घण्टा सञ्चालित हुन्छन्। रिफिल फार्मेसीमा आउने बिरामीले भने लाइनमा बस्नु पर्दैन। उनीहरुले खाइरहेका औषधि चिकित्सकको प्रेसक्रिप्सन अनुसार सकेका औषधि पुनः लिएर जान सक्छन्। यसको लागि टिकट लिएर चिकित्सकसँग जाँच गराई रहनु पर्दैन। ओपिडी ब्लकमा भएको फार्मेसी नगद कारोबार, अस्पतालमा कार्यरत कर्मचारी, ५ वर्षभन्दा मुनिका बालबालिका, ८० वर्ष माथिका ज्येष्ठ नागरिक र गर्भवती/सुत्केरी महिलालाई लक्षित गरिएको छ।
इमरजेन्सी फार्मेसीबाट औषधि दिँदै फर्मासिस्टहरु।
भरतपुर अस्पतालमा हाल दैनिक करिब २ हजार बिरामी उपचारका लागि आउँछन्। सबै बिरामीहरु एकै ठाउँमा औषधि लिँदा अनियन्त्रित रुपमा भीडभाड हुने गर्दछ। अनियन्त्रित भीड नियन्त्रण गर्न र बिरामीको सहजताका लागि फरक फरक फार्मेसी सञ्चालन गरिएको लामिछानेले बताए।
‘यो अस्पतालमा धेरै सेवाग्राही आउनु हुन्छ। एउटै फार्मेसीबाट सबै सेवा दिन थाल्यौ भने एकदम धेरै भीड हुन्छ।’ उनले भने, ‘भीडमा बिरामीलाई सही परामर्श सहित सही औषधि दिन अप्ठ्यारो हुन्छ।’
औषधि बिक्रि वितरणका लागि यस अस्पतालमा ४२ जना फार्मेसी जनशक्ति र ४ जना सहयोगी छन्। हाल यो जनशक्ति पर्याप्त भएको उनले बताए।
झन्झटिलो खरिद प्रक्रियाले सबै औषधि उपलब्ध गराउन समस्या
भरतपुर अस्पतालमा उपचारका लागि आउने ७० देखि ७५ प्रतिशत स्वास्थ्य बीमाका हुन्छन्। हाल आफुहरुले बिरामीको माग अनुसार करिब ९० प्रतिशत उपलब्ध गराउन सकिएको लामिछाने दाबी गर्छन्। बाँकी १० प्रतिशत औषधिको उपलब्धता खरिद प्रणालीको झन्झटिलो प्रक्रियाका कारण उपलब्ध गराउन नसकिएको उनी बताउँछन्।
उनका अनुसार अस्पतालले करिब १२ सय औषधिको टेण्डर गर्छ। जसमध्ये करिब ९ सय औषधिको मात्र टेण्डर बिड हुन्छ। बाँकी ३ सय औषधिको बिड हुँदैन। टेण्डरमा नपरेका बाँकी ३ सय औषधिको फिर्ता प्रक्रियामा जाँदा करिब ३ महिना लाग्छ। सिधै खरिद प्रक्रियामा गएर औषधि खरिद गर्दा संघीय अस्पतालको लागि रकम अत्यन्तै न्यून रहेको उनले बताए।
बिरामीलाई शतप्रतिशत औषधि उपलब्ध गराउन हाल रहेको सार्वजनिक खरिद ऐन र नियमावलीमा औषधि खरिद सम्बन्धी विशेष व्यवस्था गर्न जरुरी रहेको उनी बताउँछन्। समयमै औषधि उपलब्ध नगराउने सप्लायर्सलाई सरकारले कालोसूचीमा राखेर कारबाही गर्नुपर्ने उनले बताए। सप्लायसले समयमै औषधि उपलब्ध नगराउँदा अस्पतालमा औषधि अभाव हुने गरेको उनी बताउँछन्।
बिक्रेता र सप्लायर्सको बद्मासीका कारण पनि औषधिको पूर्ण रुपमा उपलब्धता नहुने अवस्था रहेको बताउँदै उनले भने, ‘सप्लायर्सले सबै औषधि पूर्ण रुपमा उपलब्ध गराउने प्रतिवद्धता सहितको सप्लाई चेन बन्नुपर्छ। टेण्डर गर्नेहरुले समयमै र नियमित रुपमा औषधि उपलब्ध नगराउँदा अभाव हुने स्थिति आउँछ।’
पूर्ण र नियमित रुपमा औषधि उपलब्ध नगराउँदा र सबै औषधि टेण्डरमा नपर्दा पनि अभावको स्थिति आउने गरेको उनले बताए। औषधि खरिद प्रक्रियालाई सहज बनाउन सरकारले छुट्टै औषधि खरिद सम्बन्धी व्यवस्था गर्नुपर्ने उनको भनाई छ। अन्य वस्तु जसरी औषधि आउन ढिलाई भयो भनेर बिरामीलाई पर्खाउन नमिल्ने अत्यावश्यक जीवनसँग जोडिएको विषय भएकाले यसमा सरकारले ध्यानुपर्ने उनी बताउँछन्।
फार्मेसी भरतपुर अस्पतालको राम्रो आम्दानीको स्रोतमध्ये एक हो। यस अस्पतालमा सञ्चालित फार्मेसीबाट वर्षेनी करौडौँ रकमको आम्दानी हुन्छ। अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट प्राडा कृष्णप्रसाद पौडेलेका अनुसार अस्पताल फार्मेसीबाट वर्षेनी १० देखि १५ करोड रुपैयाँ आम्दानी हुने गरेको छ।
बिरामीहरुले अस्पताल फार्मेसीबाट महँगो र ब्राण्डेड औषधि नपाउने गरेको गुनासो समेत गर्ने गर्छन्। अस्पतालका मेसु डा पौडेल बिरामीको उक्त गुनासो प्रति भन्छन्, ‘हामीले बजारबाट सिधै औषधि ब्राण्ड र कम्पनी तोकेर खरिद गर्न मिल्दैन। औषधि व्यवस्था विभागमा दर्ता भएका औषधि टेण्डर प्रक्रियाबाट खरिद गर्नुपर्छ। टेण्डरबाट पाउने औषधि नै हामीले बिरामीहरुलाई उपलब्ध गराउने हो।’
मेसु पौडेल पनि टेण्डर प्रक्रियाबाट सबै औषधि एकै पटक प्राप्त नहुँदा कतिपय औषधि अभाव हुने गरेको गरेको बताउँछन्। आगामी दिनमा बिरामीको सहजताका लागि फार्मेसी सम्बन्धी अन्य सेवाहरु पनि थप बढाउँदै लैजाने उनले बताए।
यो सँगै भरतपुर अस्पतालले हालै मात्र कम्पाउन्डिङ फार्मेसी ल्याब पनि सञ्चालनमा ल्याएको छ। जसको मुख्य उद्देश्य हो, बिरामीहरुको आवश्यकता अनुसार औषधिजन्य पदार्थको उपलब्धता र पहुँच सुनिश्चित गरी उपचारका नतिजाहरुमा सुधार ल्याउनु।कम्पाउन्डिङ फार्मेसी ल्याबबाट बजारमा उपलब्ध नभएका तर बिरामीको उपचारमा सहयोग हुने औषधिजन्य पदार्थहरु बनाईन्छन्।