एआईद्वारा निर्मित प्रतिकात्मक तस्विर
काठमाडौं - मानव शरीर कयौँ कोषिकाहरुबाट बनेको हुन्छ। स्वस्थ शरीरमा कोषहरु तन्तु र अंगहरुको सामान्य कार्यलाई कायम राख्न नियन्त्रित तरिकाले जन्मिन्छन्, काम गर्छन् र मर्छन्। यो एउटा सामान्य प्रक्रिया हो।
तर केही कोषिका शरीरमा अनियन्त्रित तरिकाले बढ्छन्। गाँठो (ट्युमर) बनाउँछन् र वरिपरिका स्वस्थ कोष र अंगलाई क्षति पुर्याउँछन्।
यसरी शरीरमा अनियन्त्रित रुपमा कोषहरु बढ्दै जानुलाई क्यान्सर भनिन्छ। यसलाई समयमै नष्ट गरिएन वा हटाइएन भने यो शरीरभरी फैलिन्छ र, मानिसको मृत्यु नै हुन सक्छ।
क्यान्सर रोगको जोखिम नेपाल सहित विश्वभर बढ्दैछ। अस्वस्थकर जीवनशैली र खानपानका कारण विश्वमै क्यान्सर रोगको भार बढ्दो छ। क्यान्सरको उपचार यात्रा अझै पनि सहज बनिसकेको छैन। बिरामीमा लक्षण देखिने चरणदेखि उपचारसम्मको यात्रा धेरै चुनौतीपूर्ण छन्।
जनचेतनाको कमी, उपचारमा ढिलाई र स्वास्थ्य सेवामा पहुँच जस्ता समस्याले क्यान्सर रोगको निदान अझै पनि चुनौतीपूर्ण छ। यो सँगै नेपाली समाजमा क्यान्सरसम्बन्धी यस्ता भ्रमहरु छन्, जसका कारण अहिले पनि बिरामीहरु यथार्थबाट टाढा छन्।
क्यान्सरसम्बन्धी जनमानसमा रहेका मुख्य १० वटा भ्रम र यसका यथार्थ बारे हामीले क्यान्सर रोग विशेषज्ञ डा अरुण शाहीसँग नै स्पष्ट हुने प्रयास गरेका छौँ। क्यान्सर रोग र यसको उपचारका क्षेत्रमा लामो अनुभव बटुलेका डा शाहीसँग गरिएको कुराकानीका आधारमा मुख्य १० वटा भ्रम र यथार्थ निम्न प्रकारका छन् :
१. बायोप्सी वा शल्यक्रियाले क्यान्सर फैलिन्छ
यथार्थ : क्यान्सरसम्बन्धी जनमानसमा रहेको पहिलो र प्रमुख भ्रम हो, बायोप्सी वा शल्यक्रियाले क्यान्सर फैलिन्छ। बायोप्सी र शल्यक्रिया क्यान्सर उपचारको महत्वपूर्ण पाटो हुन्। यसले क्यान्सर फैलिने वैज्ञानिक रुपमा हालसम्म प्रमाणित भइसकेको छैन। बरु बायोप्सी सही निदान र उचित उपचारका लागि अत्यावश्यक हुने डा शाही बताउँछन्।
२. क्यान्सर निको नहुने रोग हो
यथार्थ : क्यान्सरलाई प्राणघातक रोगको रुपमा चिनिन्छ। क्यान्सरसम्बन्धी सही चेतना र जानकारीको कमी अझै पनि समस्याको रुपमा छ। क्यान्सर लाग्नासाथ व्यक्तिको मृत्यु भइहाल्छ भन्ने भ्रम अधिकांशमा भेटिन्छन्। तर समयमै पत्ता लागे धेरै प्रकारका क्यान्सर पूर्ण रुपमा निको हुने डा शाही बताउँछन्। साथै सही समयमा गरिएको निदान र सही उपचारले क्यान्सरलाई लामो समय नियन्त्रणमा समेत राख्न सकिन्छ।
३. क्यान्सर लागेपछि उपचारको अर्थ हुँदैन
यथार्थ : कुनै पनि रोगको निदानपछि उपचारको पाटो सबैभन्दा महत्वपूर्ण हुन्छ। सही समयमा गरिएको निदान र उपचारले नै कुनै पनि रोग निको हुन सक्छ। तर अझै पनि क्यान्सर लागेपछि उपचारको कुनै अर्थ नै हुँदैन भन्ने भ्रम धेरैमा छ। तर डा शाहीका अनुसार उपचारले जीवन लम्ब्याउनुका साथै लक्षण कम गर्नु र जीवनको गुणस्तर सुधार्नु महत्वपूर्ण उपलब्धि हो।
४. क्यान्सर वंशाणुगत मात्रै हुन्छ
यथार्थ : अस्वस्थकर खानपान र जीवनशैलीले अन्य रोगसँगै क्यान्सरको जोखिम पनि बढाउँदै लगेको छ। धूम्रपान, मदिरा सेवा, सुर्तिजन्य पदार्थको पदार्थको प्रयोग, संक्रमण आदिका कारण क्यान्सरको जोखिम बढ्दो छ। थोरैमा मात्र क्यान्सर वंशाणुगत भएपनि यो जीवनशैलीमा भर पर्दछ।
५. क्यान्सर सँगै बस्दा, सुत्दा र खाँदा सर्छ
यथार्थ : क्यान्सर नसर्ने रोग हो। यो एक व्यक्तिबाट सर्दैन। क्यान्सर भएको व्यक्तिसँग सँगै सुत्दा, बस्दा र खाँदा यो रोग सर्दैन। तर केही भाइरसहरु एचपिभी, हेपाटाइटिसले क्यान्सरको जोखिम भने बढाउन सक्छ। तर यी भाइरसले क्यान्सर सार्ने भन्ने होइन।
६. क्यान्सरको उपचार नेपालमा संभव छैन
यथार्थ : क्यान्सरको उपचार नेपालमै संभव छ। नेपालकै सरकारी तथा निजी अस्पतालमा आधुनिक र गुणस्तरीय उपचार संभव छ। साथै आवश्यकता अनुसार यी अस्पतालहरुले अन्य देशहरुसँग पनि सहकार्य गर्दै आएको छ। नेपालमा क्यान्सर उपचारका लागि सरकारीस्तरबाट भक्तपुर क्यान्सर अस्पताल, भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल तथा नेपालगन्जस्थित सुशील कोइराला क्यान्सर अस्पताल क्यान्सरको विशिष्टीकृत अस्पताल सञ्चालित छन्। यो बाहेक वीर, त्रिवि शिक्षण, पाटन अस्पताल, कान्ति बाल लगायतका अस्पतालहरुमा पनि क्यान्सरको आंशिक उपचार पाउन सकिन्छ।
७. क्यान्सरको उपचार अत्यन्त महँगो हुन्छ
यथार्थ : क्यान्सरको सबै उपचार महँगो हुँदैनन्। सरकारी सहयोग, बीमा, सहुलियत कार्यक्रम पनि रहेको छ। सरकारले विपन्न नागरिकका लागि सबै प्रकारका क्यान्सरसम्बन्धी शल्यक्रिया, किमोथेरापी, रेडियोथेरापी, औषधि, शय्या तथा प्रयोगशाला सेवाका लागि १ लाख रुपैयाँसम्मको सहुलियत उपलब्ध गराउँदै आएको छ।
८. जडीबुटी वा घरेलु उपचारले क्यान्सर निको हुन्छ
यथार्थ : अझै पनि कतिपय व्यक्तिहरु क्यान्सर लागेपछि जडीबुटी वा घरेलु उपाय अपनाउने गर्छन्। तर त्यसो गर्दा उपचारमा ढिलाई हुन्छ र, समयमै अस्पताल नगए ज्यान जोखिममा पर्न सक्छ। जडीबुटी वा घरेलु उपचारले क्यान्सर निको पार्ने हालसम्म वैज्ञानिक प्रमाण नभएको डा शाही बताउँछन्।
९. क्यान्सर वृद्धहरूलाई मात्र हुन्छ
यथार्थ : क्यान्सर जुनसुकै उमेरका व्यक्तिलाई पनि हुन सक्छ। बालबालिकादेखि युवा र वृद्धवृद्धा सबै यसको जोखिममा पर्छन्। अस्वस्थकर जीवनशैली र वंशाणुगत कारण क्यान्सरको जोखिममा सबै पर्छन्। क्यान्सरबाट बच्ने उपाय भनेकै समय समयमा यसको परीक्षण गर्नु हो।
१०. क्यान्सर भएको कुरा लुकाउनु राम्रो हुन्छ
यथार्थ : क्यान्सर एक व्यक्तिबाट अर्कोमा सर्ने रोग होइन। न त यो कुनै पाप नै हो। त्यसैले क्यान्सर भएको आशंका हुने बित्तिकै उपचारमा जानु ठिक हुन्छ। उपचार जति ढिलो सुरु हुन्छ, यो रोग त्यति नै फैलिन्छ। उपचार प्रक्रिया पनि जटिल र महँगो हुन्छ। त्यसैले खुला रूपमा जानकारी लिएर उपचार सुरु गर्दा सही सहयोग, मानसिक बल र सामाजिक समर्थन प्राप्त हुन्छ।