काठमाडौं - पुराना र नयाँ उम्मेदवारका कारण रोचक बनेको जिल्लाहरुमध्ये एक हो, महोत्तरीको निर्वाचन क्षेत्र नम्बर १।
यो निर्वाचन क्षेत्रमा पुराना उम्मेदवार आफ्नो जितलाई दोहोर्याउने प्रयासमा छन् भने नयाँ उम्मेदवार जितको झण्डा गाड्ने दौडधूपमा छन्।
पुराना अनुहारमध्ये एक हो, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का गिरिराजमणी पोखरेल, जो पूर्व स्वास्थ्य मन्त्री समेत हुन्।
पोखरेलसँगै यस निर्वाचन क्षेत्रमा फागुन २१ गतेको प्रतिनिधि सभाको निर्वाचनका लागि १४ स्वतन्त्र सहित २७ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
नेपाली कांग्रेसबाट मुकेशराज काफ्ले, नेकपा एमालेबाट लक्ष्मी महतो कोइरी, नेपाली कम्युनिस्ट पार्टीबाट गिरिराजमणि पोखरेल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रमोदकुमार महतो, जनता समाजवादी पार्टी नेपालबाट योगनारायण महतो, जनमत पार्टीबाट वीरेन्द्र महतोले मनोनयन दर्ता गराएका छन्।
यस्तै, नेकपा संयुक्तबाट मणिराज निरौला, कृष्णश्वरी दुवाल, मंगोल नेशनल अर्गनाइजेशनबाट रमेशकुमार सिंह दनुवार, श्रम संस्कृति पार्टीबाट लिला दियाली, आम जनता पार्टीबाट मुकेश साह, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट होमप्रसाद पोखरेल र उज्यालो नेपाल पार्टीबाट मुकेशकुमार गुप्ताले उम्मेदवारी दिएका छन्।
स्वतन्त्रबाट मात्रै १४ जनाले उम्मेदवारी दर्ता गरेका छन्। सचिन महतो, सुरेन्द्र महतो, सुनिलकुमार सिंह, सविताकुमारी देवी, सोमिन्द्र सार्की, बौवेलाल महतो, टेकप्रसाद पोखरेल, प्रेमबहादुर राणा मगर, परमेश्वर पासमान, शिवनारायण महतो, सुनैनादेवी कोइरी, प्रमोदकुमार साह, जीवनकुमार मगर, निरु कुमारीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन्।
२०७४ सालको निर्वाचनमा जित हासिल गरेका पोखरेल अघिल्लो निर्वाचन (२०७९) मा पराजित भएका थिए। २०७४ को निर्वाचनमा लक्ष्मी महतो कोइरीलाई हराउँदै उनले जित हासिल गरेका थिए। त्यो बेला कोइरीको आवद्धता संघीय समाजवादी फोरम नेपालसँग थियो। हाल उनी नेकपा एमालेसँग जोडिएका छन्।
तर २०७९ सालको निर्वाचनमा पोखरेल यिनै कोइरीसँग १ हजार ३० मतान्तरले पराजित भएका थिए। कोइरी २३ हजार ४०२ मतका साथ विजयी हुँदा पोखरेलले २२ हजार ३७२ मत ल्याएका थिए। स्वतन्त्रबाट उम्मेदवारी दिएका पोषण बहादुर थापाले ७ हजार ८१२, जनमत पार्टीका राज किशोर साह, राष्ट्रिय स्वतन्त्र पार्टीकी खेम कुमारी भुर्तेलले २ हजार ६४ मत ल्याएका थिए।
एमालेका लक्ष्मी महतो र नेकपाका गिरिराजमणी पोखरेल पुराना उम्मेदवार हुन् भने कांग्रेसका मुकेश काफ्ले, जसपाका योगनारायण महतो, जनमतका वीरेन्द्र महतो र रास्वपाका प्रमोद महतो नयाँ अनुहार हुन्।
यस्तो छ महोत्तरी १ मा स्थानीय तह र समानुपातिक मत
२०७९ सालको प्रतिनिधि सभाको निर्वाचनमा यस क्षेत्रमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र/नेपाल समाजवादी पार्टी पहिलो बनेको थियो। १५ हजार ३१९ मत सहित यो पार्टी पहिलो बनेको हो। नेकपा एमाले १२ हजार १६७ मतका साथ दोस्रो, जनमत पार्टी ७ हजार ४४४, राष्ट्रिय स्वतन्त्र पार्टी ६ हजार १२६ मतका साथ तेस्रो, नेपाली कांग्रेस ४ हजार ७४८ मतका साथ चौँथो र जनता समाजवादी पार्टी नेपाल ३ हजार ९७८ मतका साथ पाँचौ स्थानमा थियो।
बर्दिबास नगरपालिका
महोत्तरी निर्वाचन क्षेत्र नं १ अन्तर्गत बर्दिबास नगरपालिका, गौशाला र भँगाहा नगरपालिकाका वडाहरु पर्दछन्। बर्दिबास नगरपालिकाको १ देखि १४ वडाहरु, गौशालाको १ देखि १२ र भँगाहा नगरपालिकाका ३, ४, ५ र ९ वडाहरु यो निर्वाचन क्षेत्रमा पर्दछ।
२०७९ को स्थानीय तह निर्वाचनमा बर्दिबास नगरपालिकामा प्रमुख र उपप्रमुख दुवै पदमा स्वतन्त्र उम्मेदवारहरु विजयी भएका थिए।निर्वाचन आयोगका अनुसार बर्दिबास नगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मदेवार प्रहलादकुमार क्षेत्र १४ हजार २१० मतका साथ विजयी भएका थिए। उनले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उम्मेदवार राजु खड्कालाई ५ हजार ८८७ मतान्तरले पराजित गरेका हुन्। खड्काले ८ हजार ३२३ मत ल्याएका थिए।
उपप्रमुखमा पनि स्तन्त्रकी उम्मेदवार तारा देवीले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उम्मेदवार कृष्णमाया गौमतलाई हराएकी थिइन्। तारा देवी ९ हजार ७३६ मतका साथ विजयी हुँदा गौतमले ८ हजार १८५ मत ल्याएकी थिइन्।
बर्दिबास नगरपालिका भित्र पर्ने १४ वटै वडाको नतिजा हेर्ने हो भने स्वतन्त्र उम्मेदवारले नेकपा माओवादी केन्द्रलाई बलियो टक्कर दिएको देखिन्छ।
२०७९ को स्थानीय तहको निर्वाचनमा स्वतन्त्र र माओवादी केन्द्रले समान ४÷४ वटा वडामा जितेको थियो। ३ वटा वडामा एमाले, २ वटा वडामा कांग्रेस र एउटा वडामा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका उम्मेदवारले जितेको थियो। वडा नं १, ७, १३ र १४ मा स्वतन्त्रले जित्दा वडा नं ६, ८, ११ र १२ मा माओवादी केन्द्रले जितेको थियो। यस्तै, वडा नं २, ३, ५ मा एमाले, ४, १० मा कांग्रेस र ९ मा लोकतान्त्रिकले जित हात पारेको थियो।
गौशाला नगरपालिका
स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत गौशाला नगरपालिकाको प्रमुख र उपप्रमुख दुवैमा जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवारले जिते।
जनता समाजवादी पार्टी नेपालका दिपेन्द्र महतो ८ हजार ७९९ मतका साथ प्रमुखमा विजयी भए। उनले नेकपा माओवादी केन्द्रका विष्णुबहादुर योन्जनलाई ३ हजार १७२ मतान्तरले पराजित गरेका हुन्। योन्जले ५६२७ मत ल्याएका थिए। उपप्रमुखमा जनता समाजवादी पार्टीकै रेनु कुमारी ८ हजार ४५५ मत सहित विजयी भइन्। उनका प्रतिद्धन्द्धी नेकपा माओवादी केन्द्रकी जनक दुलारी साहले ५ हजार ४९० मत ल्याइकी थिइन्।
यो नगरपालिका अन्तर्गत पर्ने सबै १२ वडा वडाहरु नै यस निर्वाचन क्षेत्र अन्तर्गत पर्दछन्। यो नगरपालिकामा जसपाको बलियो उपस्थिति छ। नगरपालिकाको प्रमुख र उपप्रमुमा मात्र नभई वडाहरुमा पनि जसपाकै उम्मेदवारले जित हात पारेका छन्।
१२ वटा वडामध्ये ७ वटा वडामा जसपाले जितेको छ। नेपाली कांग्रेसले ३, नेकपा माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टीले १/१ वटा वडामा जितेको थियो। वडा नं १, २, ५, ७, ९, ११ र १२ मा जसपा, ३, ४ र ६ वडामा कांग्रेस, ८ मा माओवादी र १० नं वडामा लोकतान्त्रिकले जितेको छ।
भँगाहा नगरपालिका
भँगाहा नगरपालिकाको प्रमुखमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका उम्मेदवार संजीवकुमार साह ५ हजार ६१७ मत ल्याई विजयी भएका थिए। उनले कांग्रेस उम्मेदवार विजय मण्डललाई २६३ मतान्तरले पराजित गरे। मण्डलले ५ हजार ३५४ मत ल्याएका थिए।
उपप्रमुखमा कांग्रेसकी उम्मेदवार शान्तीकुमारी सिंह ५ हजार ७७५ मत सहित विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टी नेपालकी गंगाकुमारी सिंह दनुवारले ५ हजार ३५५ मत ल्याएकी थिइन्।
कुल ९ वटा वडा रहेको यो नगरपालिकाको ३, ४, ५ र ९ नम्बर वडा यस निर्वाचन क्षेत्र अन्तर्गत पर्दछ। यी वडाहरुमा स्थानीय तहको निर्वाचनमा मिश्रित नतिजा आएको थियो। वडा नं ३ र ४ मा कांग्रेस, ५ मा लोकतान्त्रिक समाजवादी पार्टी र ९ मा माओादी केन्द्रले जितेको थियो।