काठमाडौं- चितवनस्थित भरतपुर–४ की श्रेयालाई विद्यालयमा खाजाको रूपमा चाउचाउ, चाउमिन, पास्ता जस्ता खानेकुरा लैजान मनपर्छ। हप्ताको ३/४ दिन उनको खाजा यस्तै केही जङ्क फूड हुने गर्छ। अनि घर फर्कँदा पसलमा राखिएका चिनीजन्य गुलिया पेय पदार्थ र चकलेटले उनलाई फेरि पनि लोभ्याउँछ।
घरको खाना र फलफूल उनको लागि ‘बोरिङ’ बनिसकेको छ। उमेरले ७ वर्ष भएकी श्रेया भर्खरै कक्षा २ मा अध्ययनरत छिन्। तर उनलाई विद्यालय पठाउने बेला खाजाको व्यवस्थापन गर्नमै उनकी आमा चन्दालाई दिक्क लाग्छ। कारण हो— घरमा बनाएको खाना खान मन नगर्ने तर बाहिरी प्रशोधित तयारी खाना मात्र खोज्ने।
घरमै स्वस्थवर्धक खाजा उनले नबनाउने भने होइनन्। तर छोरीले ती खानेकुरा खान मन नगर्ने गरेको उनी बताउँछिन्। कुनै बेला छोरीले खानै नमान्ने त कुनै समय उनको आफ्नै कार्यव्यस्तताका कारण बिस्कुट, चाउचाउ जस्ता तयारी खानेकुरा नै खाजाको रूपमा पठाउने गर्छिन्। उनी भन्छिन्, ‘छोरी आफैँले मलाई भोलि चाउचाउ राखिदिनु है भन्छे। कुनै बेला आज स्कुलको क्यान्टिनमा चाउमिन खान्छु भन्छे। अनि पसलमा देखेका गुलिया, चिल्ला खानेकुरा उसलाई थप चाहिन्छ।’
बाराकी सुमित्रालाई पनि छोरालाई विद्यालयमा खाजा पठाउन निकै समस्या पर्छ। उनको छोरा पनि घरमा बनाएको नखाने, तर बजारमा पाइने बिस्कुट, चाउचाउ, फ्रुटी जस्ता प्रशोधित खानेकुरा मात्रै खोज्ने गर्छ। उनले घरमै रोटी–तरकारी, हलुवा जस्ता खाजा बनाएर नपठाउने होइनन्। तर घरबाट पठाएको खाजा उनको छोराले खान रुचि देखाउँदैन। ‘मेरो छोरालाई हरेक दिन बिस्कुट चाहिन्छ, नभए पैसा लैजान खोज्छ,’ उनले भनिन्, ‘मैले रोटी–तरकारीहरू पठाउँछु, तर घर आउँदा टिफिन बक्समा खाजा जस्ताको त्यस्तै हुन्छ।’
बजारमा पाइने प्रशोधित खानेकुराले बालबालिकाको स्वास्थ्यमा पार्ने असरबारे उनीहरूलाई जानकारी नभएको होइन। तर बच्चाले घरमा बनाएको खानेकुरा नखाइदिँदा बाध्य भएर जङ्क तथा फास्ट फूड नै दिने गरेको उनीहरूको भनाइ छ।
स्वास्थ्यमा पर्ने तत्कालीन र दीर्घकालीन असर
आजको आधुनिक जीवनशैलीका कारण गुलिया पेय पदार्थ (सफ्ट ड्रिंक, प्याकेट जुस), जङ्क तथा फास्ट फूडको बिगबिगी बढ्दो छ। अस्वस्थकर खानाको मोह विद्यालय जाने उमेरका बालबालिकामा झनै ठुलो छ। सहज उपलब्धता, आकर्षक विज्ञापन र स्वादका कारण यस किसिमका खानेकुराप्रति बालबालिकाहरू आकर्षित भइरहेका छन्। बालबालिकामा लागेको यो लत दैनिक रूपमा बढ्दो छ।
यस किसिमको अस्वस्थकर खानपानले बालबालिकाको स्वास्थ्यमा तत्कालीन र दीर्घकालीन रूपमा गम्भीर असर पर्न सक्ने बालरोग विशेषज्ञ तथा पोषणविद्हरू बताउँछन्।
कान्ति बाल अस्पतालका बालरोग विशेषज्ञ डा. राजकुमार बिक गुलिया पेय पदार्थ, जङ्क तथा फास्ट फूड खाने समस्या बालबालिकामा बढ्दै गएको बताउँछन्। यस किसिमका अस्वस्थकर खानेकुरा खाएका कारण पेटसम्बन्धी समस्या लिएर दैनिकजसो नै अभिभावकहरू उनीकहाँ पुग्छन्। उनी भन्छन्, ‘मेरो बच्चा घरको खानेकुरा खाँदैन, बाहिरको मात्र खान्छ भनेर गुनासो लिएर आउने अभिभावक धेरै हुनुहुन्छ। अहिले यो ठुलो, अझ भनौँ घर–घरको समस्या बनेको छ।’
बजारमा पाइने यस्ता अस्वस्थकर खानेकुराले बालबालिकाको स्वास्थ्यमा तत्कालीन र दीर्घकालीन रूपमा असर गर्ने उनले बताए। यी अस्वस्थकर खानेकुरामा चिनी तथा चिल्लोको मात्रा अधिक हुने, हानिकारक रङ तथा केमिकलको प्रयोग हुने हुँदा यसले शरीरलाई चाहिने पोषण दिँदैन। यसले बालबालिकाको भोक त मेटाउँछ, तर आवश्यक पोषण पुग्दैन।
डा. बिकका अनुसार यसले बालबालिकामा पेटसम्बन्धी समस्याहरू जस्तै कब्जियत, पेट फुल्ने र पेट दुख्ने जस्ता तत्कालीन समस्या निम्त्याउँछ। दीर्घकालीन रूपमा भने मोटोपना बढ्ने, मधुमेह (चिनी रोग) र मुटु रोग जस्ता नसर्ने रोगको जोखिम बढाउने उनले बताए। भविष्यमा नसर्ने रोगको जोखिम बढ्नुमा यी अस्वस्थकर खानेकुरा नै प्रमुख कारण बन्न सक्ने उनको भनाइ छ।
कतिपय बालबालिकामा भने पोषणको अभावमा शरीरको तौल नबढ्नु पनि अर्को समस्याको रूपमा देखिएको उनले बताए। ‘मोटोपना बढ्ने समस्याका साथै तौल नबढ्ने पनि ठुलो समस्या छ। पोषण नपुग्दा बालबालिकाको आवश्यक तौल बढ्दैन,’ उनले भने, ‘अभिभावकले घरबाटै खाजा बनाएर विद्यालय पठाउने गर्नुपर्छ। घरको ताजा खानाको महत्त्व बुझ्नुपर्छ।’
सरकारले अस्वस्थकर खानेकुराको समस्यालाई न्यूनीकरण गर्न यससम्बन्धी जनचेतना बढाउनुपर्ने उनको आग्रह छ। साथै, सरकारले गुलिया पेय पदार्थ, जङ्क तथा फास्ट फूड जस्ता अस्वस्थकर खानेकुरामा कर बढाएर पनि यसलाई नियन्त्रण गर्न सक्ने उनको सुझाव छ।
यसरी घरमै बनाऔँ स्वस्थकर खाजा
नर्भिक इन्टरनेसनल हस्पिटलकी क्लिनिकल डाइटिसियन प्रज्ञा रुमाल यस किसिमका खानेकुराको अत्यधिक बजारीकरण, सहज उपलब्धता र तयारी अवस्थामा पाइने भएकाले बालबालिकाहरू आकर्षित हुने गरेको बताउँछिन्।
घरको भन्दा बाहिरका अस्वस्थकर खानेकुरा दिँदा बालबालिकामा पेटसम्बन्धी समस्यासँगै मोटोपना बढ्ने, फ्याट्टी लिभर, मधुमेह, मुटुको समस्या, एनेमिया (रक्तअल्पता) र हड्डी कमजोर हुने जस्ता स्वास्थ्य समस्या निम्तन सक्ने भन्दै उनी सचेत गराउँछिन्। आमाबुबा आफैँले पनि बालबालिकालाई बाहिरको खाना दिने बानी बसालेकाले यो समस्या बढ्दै गएको उनी बताउँछिन्। ‘बच्चाहरू रुनै हुँदैन, किन्दिएन भने रोइहाल्छन् भन्छन् अनि आमाबुबाले यस्ता गुलिया, अस्वस्थकर खानेकुरा किनिदिन्छन्। यसले उहाँहरूलाई पनि सजिलो भएको छ,’ उनले भनिन्।
अहिले धेरै अभिभावकहरूले दूधमा केमिकल मिसाइने डरले दूध खान नदिने गरेको तर अत्यधिक चिनी, रङ र केमिकल हालेर बनाइएको फ्रुटी, कोल्ड ड्रिंक, इनर्जी ड्रिंक र कोक जस्ता पेय पदार्थ भने सहजै खान दिने गरेकोमा उनको आपत्ति छ। उनी भन्छिन्, ‘दूधमा केमिकल हुन्छ भन्दै अभिभावकहरूले दूध खान दिँदैनन् तर विभिन्न केमिकल हालेर बनाइएको कोल्ड ड्रिंक भने खान दिन्छन्। यसले बच्चाहरूमा अन्य समस्याका साथै क्याल्सियमको कमीले हड्डी खिइने समस्या बढ्न सक्छ।’
धेरै गुलियो खाँदा बालबालिकाहरू झिझो मान्ने, अल्छी लाग्ने र पढाइमा ध्यान नजाने जस्ता समस्या हुने उनले बताइन्। उनका अनुसार वयस्क व्यक्तिले दिनमा चार पटक खानुपर्ने भए पनि बालबालिकाहरूले पाँच पटकसम्म खाने गर्छन्। उनीहरूले खाने खानामा यी चार समूहका खानेकुरा अनिवार्य रूपमा हुनुपर्छ:
१. अन्नजन्य (चामल, मकै, गहुँ आदि)
२. प्रोटिनजन्य (माछा, मासु, अण्डा, पनिर आदि)
३. सागसब्जी र फलफूल
४. दाल तथा गेडागुडी
बालबालिकाले खाने दिनभरिको खाना अथवा खाजामा यी चार समूहका खानेकुरा परे/पर्नन् भनेर अभिभावकले ध्यान दिनुपर्ने उनी बताउँछिन्। दहीको दैनिक सेवनले पनि बालबालिकाको आन्द्राको स्वास्थ्यमा ठुलो फाइदा पुग्ने उनले बताइन्। दहीमा भएको राम्रो ब्याक्टेरियाले पाचन प्रणालीलाई स्वस्थ राख्छ। यसका साथै चना र अण्डा जस्ता प्रोटिनलाई पनि खानामा समावेश गर्न उनको सुझाव छ।
स्वस्थकर विकल्प
बालबालिकाहरू विभिन्न किसिमका चिप्स, चकलेट र चटपटेमा पनि निकै लोभिने गर्छन्। उनीहरूलाई यी खानेकुराबाट पूर्ण रूपमा वञ्चित गराउन सम्भव छैन। तर यसको स्वस्थकर विकल्प भने छनोट गर्न सकिन्छ। क्लिनिकल डाइटिसियन रुमालका अनुसार गुलिया पेय पदार्थ, चिप्स, चकलेट र चटपटे जस्ता खानेकुरालाई यसरी स्वस्थकर तरिकाले विस्थापन गर्न सकिन्छ:
कोदोको चिप्स: आलुको चिप्स धेरैलाई मनपर्छ। बच्चाहरूले खाजाको रूपमा आलुको चिप्स खान धेरै मन पराउँछन्। तर बजारमा प्याकेटमा पाइने यस किसिमको चिप्स स्वास्थ्यका लागि भने फाइदाजनक हुँदैन। तेलमा डिप फ्राई गर्ने र प्याकेजिङ गर्ने हुँदा यसमा ट्रान्स फ्याटको मात्रा धेरै हुन्छ। आलुको चिप्सको सट्टा अभिभावकले घरमै कोदोको चिप्स बनाउन सक्ने रुमाल बताउँछिन्। ओभन वा तावामा यसलाई पकाएर पनि चिप्सको रूपमा दिन सकिने उनले बताइन्।
घरेलु सर्वत: बजारमा उपलब्ध विभिन्न गुलिया ड्रिंकको विकल्पमा घरमै पनि स्वादिष्ट सर्वत बनाउन सकिन्छ। चिनीको सट्टा सख्खर वा गुड मिसाएर तथा पुदिना राखेर पनि स्वादिष्ट एवं स्वास्थ्यवर्धक सर्वत बनाउन सकिने उनले बताइन्। यसका साथै सिजनमा उपलब्ध विभिन्न फलफूलको पनि ताजा जुस बनाएर दिन सकिन्छ।
चकलेट: चकलेटमा चिनीको मात्रा अत्यधिक हुन्छ। साथै आकर्षण बढाउन विभिन्न रङहरू पनि प्रयोग गरिएका हुन्छन्। यसको विकल्पको रूपमा डार्क चकलेटलाई घरमै पगालेर त्यसमा विभिन्न फलफूल तथा नट्सहरू (काजु, बदाम आदि) मिसाएर बालबालिकालाई दिन सकिने उनले बताइन्।
चटपटे: बालबालिकाले धेरै खान रुचाउने खाजामध्ये चटपटे पनि एक हो। घरमा सही तरिकाले बनाइएको चटपटेले स्वास्थ्यमा फाइदा पुर्याए पनि बाहिर पाइने चटपटेले पेटमा समस्या ल्याउँछ। त्यसैले घरमै गाजर, काँक्रो, भुजा, चना, केराउ र आलु मिसाएर स्वस्थकर चटपटे बनाउन सकिने उनले बताइन्।
खानपानले बालबालिकाको वृद्धि विकासमा प्रत्यक्ष रूपमा असर गर्ने भएकाले अभिभावकहरूले सधैँ स्वस्थकर खानाको विकल्प रोज्नुपर्ने र यसको अभ्यास गराउनुपर्ने उनले बताइन्। बालबालिकाको उमेर र शारीरिक अवस्था अनुसार पनि खानाको मात्रा मिलाउनुपर्ने भएकाले पोषणविद् (डाइटिसियन) सँग परामर्श गर्न उनको सुझाव छ।
‘बच्चालाई कुन उमेरमा कुन खानेकुरा दिने, कति दिने र कस्तो खानेकुरा दिने भनेर अभिभावकले ध्यान दिनुपर्छ। तर सबै अभिभावकलाई यो थाहा नहुन सक्छ। त्यसैले डाइटिसियनसँग परामर्श गर्न आवश्यक छ,’ उनले भनिन्, ‘अभिभावकले सधैँ हेल्थी अप्सन खोज्नुपर्छ र त्यसकै अभ्यास गराउनुपर्छ।’