काठमाडौं - फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा देशैभर चुनावी माहोल तातेको छ। पर्साको क्षेत्र नम्बर–१ पनि त्यसबाट अछुतो छैन। अझ, यो निर्वाचन क्षेत्रमा यस पटक रोमाञ्चक नतिजा आउन सक्ने विश्लेषण समेत हुन थालेका छन्।
कारण हुन्, लगातार जितको झण्डा फर्रफर्राइसकेका प्रदीप यादव। जो पूर्व स्वास्थ्य मन्त्री समेत हुन्।
पर्साको क्षेत्र नम्बर–१ मा लगातार तेस्रो पटक पनि जित हासिल गर्ने रणनीतिका साथ चुनावी मैदान उत्रिएका छन्, पूर्व स्वास्थ्य मन्त्री यादव।
२०७४ र २०७९ सालको प्रतिनिधि सभाको निर्वाचनमा जित हासिल गरेका यादव यही क्रमलाई निरन्तरता दिने दौडधूपमा छन्। तर यसमा रोमाञ्चक कुरा के छ भने २०७४ र ७९ सालको निर्वाचनमा जित हासिल गर्दा उनको आवद्धता जनता समाजवादी पार्टी (जसपा) सँग थियो। जसपाकै नेतृत्व गर्दै उनले दुई पटक चुनाव जिते। तर यस पटक भने उनले नेकपा एमालेबाट उम्मेदवारी दर्ता गराएका छन्।
२०७९ को प्रतिनिधि सभाको निर्वाचनमा २२ हजार ५३७ मतका साथ यादव निर्वाचित भएका थिए। जसपाकै सचिव भएका बेला उनी २०८१ वैशाख महिनामा स्वास्थ्य मन्त्री समेत नियुक्त भएका थिए।
२०७९ को निर्वाचनमा स्वतन्त्रबाट उम्मेदवारी दिएका अजय कुमार द्धिवेदीलाई १ हजार ६२० मतान्तरले हराउँदै यादव निर्वाचित भएका थिए। द्धिवेदीले २० हजार ९१७ मत ल्याएका थिए। उनीसँगै त्यो बेला चुनावमा उत्रिएका राष्ट्रिय प्रजातन्त्र पार्टीका किरणमान डंगोलले २ हजार ६५९, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका लक्ष्मणलाल कर्णले १ हजार ११७ मत ल्याएका थिए।
२०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा पनि २१ हजार १३२ मतका साथ उनी विजयी भएका थिए। नेपाली कांग्रेसका अनिल कुमार रुंगाटालाई ४ हजार ६५१ मत अन्तरले हराउँदै उनी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए।
रुंगाटाले १६ हजार ४८१ मत ल्याएका थिए। नेकपा एमालेका विचारी प्रसाद यादवले ५ हजार ४१८ मत ल्याउँदा नेकपा (माक्र्सवादी लेलिनवाद) का जितेन्द्र कुमार सिंहले ६०८ मत प्राप्त गरेका थिए।
२०७४ सालदेखि जित हासिल गर्दै आएको जसपाले यस पटक रामनरेश प्रसाद यादवलाई उम्मेदवार बनाएको छ। नेकपा एमालेबाट उम्मेदवारी दर्ता गराएका यादव सहित अन्य ३० जना उम्मेदवार चुनावी मैदानमा छन्।
यो पटक पर्सा क्षेत्र नम्बर–१ मा पुराना अनुहारसँगै नयाँ अनुहार पनि देखिएका छन्। पर्साको क्षेत्र नम्बर–१ मा १८ उम्मेदवार विभिन्न पार्टीबाट प्रतिनिधित्व छन् भने १२ स्वतन्त्र उम्मेदवार छन्।
एमालेका यादव सहित कांग्रेसका रुगंटा, नेकपाबाट अजय चौरसीया, राष्ट्रिय स्वतन्त्र पार्टीबाट बुद्धि प्रसाद पन्त, राष्ट्रि प्रजातन्त्र पार्टीबाट नन्द किशोर प्रसाद श्रीवास्ताव, जनता समाजवादी पार्टी नेपालबाट रामनरेश प्रसाद यादव, जनमत पार्टीबाट ओम प्रकाश शर्राफ, नेपाल मजदुर किसान पार्टीबाट प्रमोद प्रसाद पटेल, नेपाल लोकतान्त्रिक पार्टीबाट शालिकराम प्रसाद कानु, नेपाल जनता पार्टीबाट सुरेश प्रसाद साह कानुले उम्मेदवारी दर्ता गराएका छन्।
यस्तै, नेकपा (संयुक्त) बाट शंकर कुमार कर्ण, श्रम संस्कृति पार्टीबाट वसिम शेष, उज्यालो नेपाल पार्टीबाट रामकिशोर सिंह, नेपाल संघीय समाजवादी पार्टी (एकल चुनाव चिन्ह) बाट सोएब अन्सारी, राष्ट्र निर्माण दल नेपालबाट मोहम्मदर उमर खान, आम जनता पार्टी (एकल चुनाव चिन्ह) बाट विश्वराज पटेल, पिपुल फष्र्ट पार्टीबाट जाबेद एकबाल हैदर, जन अधिकार पार्टीबाट महेश कुमार पासवान चुनावी मैदानमा उत्रिएका छन्।
अनिल प्रसाद यादव, अभिनाश चौरसिया, आर्यशशिकला राउत, दीप कुमार बर्मा, नरेश कुमार यादव, प्रेम मेहता, पुकार थापा, म. साजिद अली, विशाल कुमार पाण्डेय, विशाल कुमार, शिव प्रसाद कोइरी र सरोज प्रसाद यादवले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्।
यस्तो छ पर्सा क्षेत्र नं १ मा स्थानीय तह र समानुपातिक मत
प्रतिनिधि सभा निर्वाचन २०७९ मा पर्सा क्षेत्र नं १ मा जनता समाजवादी पार्टी ११ हजार १५४ मतसहित पहिलो पार्टी बनेको थियो। नेपाली कांग्रेस ९ हजार ४६३ मतसहित दोस्रो र ८ हजार ३१४ मत ल्याउँदै राष्ट्रिय प्रजातन्त्र पार्टी तेस्रो स्थानमा थियो।
नेकपा एमालेले ६ हजार ३१५, एकल चिन्ह गोलाकारभित्र हँसिया हथौडा (नेकपा माओवादी केन्द्र/नेपाल समाजवादी पार्टी) ले ५ हजार ६९३ र राष्ट्रिय स्वतन्त्र पार्टीले २ हजार १२७ मत ल्याएको थियो।
पर्सा क्षेत्र नं १ मा वीरगञ्ज महानगरपालिकाको वडा नं २, ४, ५, ७, ८, ११ देखि १६, १८, २० देखि २३ र ३० देखि ३२ पर्छन्। प्रतिनिधि सभाको निर्वाचनमा मात्र नभई स्थानीय तहको चुनावमा पनि जनता समाजवादी पार्टीले नै आफ्नो बर्चश्व जमाएको थियो।
स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत वीरगञ्ज महानगरपालिकाको प्रमुखमा जनता समाजवादी पार्टी नेपालका उम्मेदवार राजेशमान सिंह विजयी भएका थिए। उनी ४६ हजार २१५ मतका साथ महानगरपालिकाको प्रमुख भएका हुन्। उनले निकटम प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवार विजयकुमार सरावगीलाई २२ हजार ५४४ मतान्तरले पराजित गरे। पराजित सरवगीले २३ हजार ६७१ मत ल्याएका थिए।
उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार इम्तियाज आलम ३० हजार ७८ मतसहित विजयी भए। उनका प्रतिद्धन्द्धी लोकतान्त्रिक समाजवादी पार्टी नेपालका उम्मेदवार पुरुषोतमलाल झाले ९ हजार ५६८ मत ल्याएका थिए।
कुल ३२ वटा वडा रहेको वीरगञ्ज महानगरपालिकामा १९ वटा वडा क्षेत्र नं १ अन्तर्गत पर्छन्। १९ वडामध्ये जसपाले ८ वटा वडा जितेको छ। नेपाली कांग्रेस र एमालेले समान ५/५ र लोकतान्त्रिक समाजवादी पार्टीले १ वटा वडामा जितेको छ। वडा नं ८, ११, १४, १५, १६, १८, ३० र ३२ मा जसपा, २, ४, ५, ७ र २२ मा कांग्रेस, १२, १३, २०, २३ र ३१ मा एमाले र २१ नं वडामा लोकतान्त्रिक समाजवादी पार्टीले जितेको थियो।
२०७४ र २०७९ सालको निर्वाचनमा प्रदीप यादवले लगातार जिते। त्यो बेला उनको आवद्धता जसपासँग थियो। हाल उनी एमालेबाट उम्मेदवार बनेका छन्। तर यसअघिको निर्वाचनको परिणाम हेर्दा यो निर्वाचन क्षेत्रमा जसपाकै हावी देखिन्छ।
त्यसैले यस पटकको निर्वाचनमा पार्टी हावी हुन्छ या व्यक्ति त्यो हेर्न बाँकी छ। या, जेनजी आन्दोलनपछि फेरिएको राजनीतिक परिवेशका कारण नयाँ अनुहार आउँछन् ? त्यो फागुन २१ को चुनावपछिको नतिजाबाटै थाहा हुन्छ।