काठमाडौं- आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका क्रममा हुन सक्ने सम्भावित स्वास्थ्य आपतकालीन अवस्थाहरूलाई मध्यनजर गर्दै वीर अस्पतालले विशेषज्ञ चिकित्सकसहितको 'र्यापिड रेस्पोन्स टिम' (RRT) गठन गरेको छ।
अस्पतालले आकस्मिक विभागका प्रमुख डा. सुरेशप्रसाद नेपालको संयोजकत्वमा २६ सदस्यीय उच्चस्तरीय टोली तयार पारेको हो। निर्वाचनको समयमा हुन सक्ने भवितव्य, दुर्घटना वा अन्य स्वास्थ्य समस्याहरूको तत्काल सम्बोधनका लागि अस्पतालले यो विशेष तयारी गरेको जनाएको छ।
वीर अस्पतालका निर्देशक डा. दिलीप शर्माका अनुसार निर्वाचन बिदाको अवधिभर यो टोलीलाई 'हाइ अलर्ट' (उच्च सतर्कता) मा राखिनेछ। 'निर्वाचनका बेला घट्न सक्ने सम्भावित घटनाहरूबाट उत्पन्न हुन सक्ने स्वास्थ्य चुनौतीको व्यवस्थापनका लागि हामीले विज्ञहरूको टोलीलाई तयारी अवस्थामा राखेका हौँ,' निर्देशक शर्माले भने।
टोलीमा को–को छन्?
यापिड रेस्पोन्स टिममा विभिन्न विभागका विशेषज्ञ चिकित्सक, नर्सिङ प्रशासक र औषधि व्यवस्थापन प्रमुखहरू समावेश छन्। टोलीका सदस्यहरू यस प्रकार रहेका छन्:
संयोजक: डा. सुरेशप्रसाद नेपाल (प्रमुख, आकस्मिक विभाग)
सदस्यहरू: डा. मीनचन्द्र अधिकारी, डा. विनोद शेरचन, डा. अनिप जोशी, डा. सुधांशु केसी, डा. ऋतु प्रधान।
विशेषज्ञ टोली: डा. रविनबहादुर बस्नेत, डा. अनिता जिसी, डा. प्रमोदकुमार कोइराला, डा. अपार लामिछाने, डा. अनिल बराल, डा. शरद पोखरेल, डा. प्रज्वल श्रेष्ठ, डा. राजीव झा, डा. समिर पौडेल, डा. दिनेश चापागाईँ, डा. लिसा गौचन, डा. लता गौतम, डा. अजित खनाल, डा. विवेक आचार्य, डा. विकासविक्रम अधिकारी, डा. सुनिलराम कोइराला र डा. आरती कारखेती।
प्रशासन र औषधि व्यवस्थापन: नर्सिङ प्रशासक संगिता श्रेष्ठ र फार्मेसी प्रमुख मानबहादुर महरा।
सदस्य सचिव: नरेन्द्र खनाल।
यो टोलीले निर्वाचनको अवधिमा अस्पतालमा आइपुग्ने आपतकालीन बिरामीहरूको उपचारमा नेतृत्वदायी भूमिका खेल्नेछ। अस्पतालले जनशक्तिसँगै आवश्यक औषधि र उपकरणहरूको पनि पर्याप्त व्यवस्था मिलाएको जानकारी दिएको छ।