काठमाडौं- डा अरुण शाहीले नेपाल चिकित्सक संघ(एनएमए)को उपाध्यक्ष (बागमती संयोजक)मा दिएको उम्मेदवारी खारेज गरिएको छ। उनको वारेसनामा नमिलेको भन्दै उम्मेदवारी खारेज गरिएको नेपाल चिकित्सक संघ निर्वाचन समितिले जनाएको छ।
उम्मेदवारी घोषणा गरेर डा शाही पेशागत कामका सिलसिलामा बेलायत गएका थिए। विदेश जानुअघि मंसिर २३ गते उनले आफ्नो तर्फबाट उम्मेदवारी दिन डा विपिन पौडेललाई वारेसनामा दिएको बताएका छन्ए। डा शाहीका अनुसार उक्त समयसम्म निर्वाचन समितिले अनिवार्य नोटरी गर्नुपर्ने नियम सार्वजनिक गरेको थिएन।

नेपाल चिकित्सक संघको निर्वाचन नियमावलीको परिच्छेद ४ को (१) बमोजिम वारेसनामा तयार पारेर आफू विदेश गएको उनले बताएका छन्। परिच्छेद ४ मा भनिएको छ, 'परिच्छेद ४ को (१) मा भनिएको छ, 'उम्मेदवारको मनोनयन, मतदाताको योग्यता र मतदाता नामावली १. निर्वाचन समितिको निर्वाचन कार्यक्रम अर्न्तगत नेपाल चिकित्सक संघको केन्द्रीय कार्यकारिणी समितिको निर्वाचन, संघको शाखा कार्यालयका कार्यकारिणी समितिको निर्वाचन र नेपाल चिकित्सक संघ परिषद्को निर्वाचनमा उम्मेदवार हुन नेपाल चिकित्सक संघको आजीवन नेपाली सदस्य स्वयंले वा निजको प्रतिनिधि, प्रस्तावक वा समर्थकमार्फत निर्वाचन कार्यक्रमको सूचनामा उल्लिखित मिति र समयभित्र निर्वाचन समितिको कार्यालयमा तोकिए बमोजिमको ढाँचामा मनोनयन पत्र दर्ता गर्न वा गराउनुपर्नेछ। यसरी मनोनयन पत्र दर्ता गराउँदा एक व्यक्तिले १ पदमा मात्र मनोनयन पत्र दर्ता गर्न गराउन सक्नेछ।'

निर्वाचन समितिले पछि मंसिर २८ गते मात्रै नोटरी पब्लिकले प्रमाणित गरेको वारेसनामा आवश्यक पर्ने सूचना निकालेको थियो। सोही मञ्जुरीनामालाई वारेस डा पौडेलले नोटरी पब्लिकमा लगेर प्रमाणित गरेको उनी बताउँछन्। उनी भन्छन्, 'मञ्जुरीनामा डा शाहीकै उपस्थितिमा बनाइएको हो।'
उम्मेदवारी खारेजीका विषयमा डा शाहीले अर्को पक्ष डराएको रुपमा टिप्पणी गरेका छन्। उनले भने, 'जानुअघि मैले निर्वाचन समितिका एक सदस्यसँग फोनमा कुराकानी गरेर समेत सोधेको थिएँ। आफू बाहिर जानुपर्ने भएकाले परिच्छेद ४ को उपनियम १ बमोजिमको वारेसनामा लेखेर छाड्ने बताएको थिएँ।'
आफू पेशागत मर्यादा, एकता र निष्ठामा विश्वास गर्ने बताउँदै लोकतान्त्रिक प्रक्रियामा सहभागी हुन बञ्चित गरिँदा दु:ख लागेको बताए। उनले थपे, 'कागजात नपुगेका केही उम्मेदवारको उम्मेदवारी दर्ता नै नभएको निर्वाचन आयोगकै सूचनाले प्रस्ट पार्छ। तर, सुरुमा कागजात पुगेको भनेर दर्ता गरेपछि किन खारेज गरियो ?'
निर्वाचन समितिले सूचना नदिइ आफ्नो वारेसनामाका विषयमा प्रतिष्पर्धी डा सुवास भट्टराईलाई जानकारी नहुने उनले बताए। उनले भने, 'निर्वाचन समितिबाटै वारेसनामाको सूचना बाहिरिएको आशंका छ। यसले निर्वाचन समितिको निष्पक्षमतामाथि पनि प्रश्न उठाएको छ।'

बागमती उपाध्यक्षमा ४ जनाको उम्मेदवारी परेको थियो। तीमध्ये उम्मेदवारी खारेज गर्नका लागि संस्थापन पक्षका उम्मेदवार डा सुवास भट्टराईले भूमिका खेलेको डा शाहीले बताएका छन्। डा शाही एनएमए संस्थापन पक्षकता उम्मेदवार हुन्। उनले थपे, 'बागमतीमा ४ जना उम्मेदवार थियौं। डा एकानन्द सिंह, डा रुवसनाथ योगीले यसबारे कुनै कुरा नउठाउनु र एनएमको नेतृत्व गरिरहेको पक्षकै उम्मेदवारले उजुरी गर्नुले पनि धेरै कुरा प्रस्ट पारेको छ।'
आगामी निर्वाचनलाई केवल नियमित प्रक्रिया नभई ‘एनएमए उत्सव’का रूपमा मनाउन अपिल गरेको स्मरण गराए। चुनाव जित्नका लागि यस्ता अनेक प्रपञ्चको आफू जानकार नभएका कारण यस्तो अवस्था आएको उनले बताए। उनले थपे, 'पेशागत संगठनमा पनि चिकित्सा क्षेत्रको इथिक्स, भातृत्व र एकता कायम राख्ने कुरामा विश्वास गर्छु। त्यही मान्यता अनुसार अघि बढ्छु।
स्वतन्त्र उम्मेदवारी घोषणा गरेका डा शाही 'टिम मंगल'मा समाहित भएका थिए। अध्यक्षका उम्मेदवार डा मंगल रावल निर्वाचन समितिको उक्त निर्णयविरुद्ध अदालत जाने बताएका छन्। उनले भने, 'अन्याय महशुस भएको छ। न्यायका लागि अदालतको ढोका ढकढक्याउनुको विकल्प रहेन।'
यस्तो छ दाेस्राे नामावली