ध्यान दिवस विश्वव्यापी रुपमा मनाउन थालिएको यो दोस्रो वर्ष हो। सन् २०२४ डिसेम्बर ७ मा संयुक्त राष्ट्र संघले औपचारिक रुपमा २१ डिसेम्बरलाई विश्व ध्यान दिवस घोषणा गरेपछि ध्यान दिवसको महत्व बढेको हो। विश्वको ध्यान केन्द्रित भएतापनि हाम्रो पूर्वीय सभ्यतामा भने यसको गहिरो प्रभाव छँदै थियो र छ।
भागवत गिता, हठ योग प्रदिपिका, पातञ्जल सूत्र र अन्य वैदिक शास्त्रहरुमा योग र ध्यानको प्रशस्त उल्लेख छ। समयक्रमसँगै योग र ध्यानलाई लिएर विभिन्न योगीहरु पनि आउनुभएको छ। ओशो, महाविर, कृष्णामूर्ति, हालका सद्गुरु आदि तिनका उदाहरण हुन्।
योगी अनुसार योग ध्यानका पद्दति फरक भएता पनि सबैको मूल उद्देश्य भनेको मन र शरीरलाई स्वस्थ राख्नु र मोक्ष (परम सुःख) को मार्गमा लानु नै हो। आधुनिक जीवनशैलीका कारण बढ्दो तनाव, चिन्ता र मानसिक थकानबीच ध्यान एक सरल, प्रभावकारी र प्राकृतिक उपायका रूपमा स्थापित गराउन लागि पर्नुपर्ने देखिन्छ।
के हो ध्यान ?
ध्यान अष्टांग योग (यम, नियम, आसन, प्रणायाम, प्रत्याहार, धारणा, ध्यान, समाधि) मध्यको सातौँ क्रिया हो। पातञ्जल सूत्र अनुसार धारणा भन्नाले कुनै एक स्थानमा मन स्थिर बनाउनु हो भने ध्यान भन्नाले त्यसैमा टिकाइराख्नु हो। तत्र प्रत्ययैकतानता ध्यानम् अर्थात् कुनै निश्चित विन्दुमा (ज्योति, नाकको टुप्पो आदि) एकनाशले मन लगाएर अभ्यास गर्नु नै ध्यान हो।
शास्त्रहरुमा दुई प्रकारका ध्यान बताइएको छ, सगुण र निर्गुण ध्यान। सगुण ध्यान भन्नाले ‘सगुणं मूर्ति ध्यानं’ अर्थात् कुनै मूर्ति वा प्रतिकमा गरिने ध्यान सगुण ध्यान हो भने निर्गुण ध्यान भन्नाले ‘निर्गुणमात्मयथात्म्यम्’ अर्थात् आत्मामा ध्यान केन्द्रित गरेर गरिने ध्यान निर्गुण ध्यान बुझ्नुपर्दछ।
ध्यानका फाईदा
ध्यानको मूल उद्देश्य भनेकै मनको एकाग्रता बनाउनु हो। वर्तमान क्षणमा सचेत रहन, व्यक्तिलाई आफ्नो विचार भावनाप्रति सजग बनाउन, आत्मबल उच्च राख्न, तनाव घटाउन मद्दत गर्दछ। यसका अतिरिक्त शारीरिक र मानसिक रोगहरु जस्तै उच्च रक्तचाप, मानसिक समस्याहरु अनिद्रा, डिप्रेशन, गलत विचार आइरहने समस्या लगायतमा भरपूर सहयोग पुग्दछ।
ध्यानद्वारा अहंकारको नाश हुनुका साथै ‘मै हुँ’ भन्ने भावना बाट ‘करोडौ जिवमध्ये मेरो पनि एक अस्तित्व छ’ भन्ने भावमा पुर्याउँछ। साथै समाधिको मार्गमा डोर्याउन मद्दत पुग्दछ। विभिन्न अनुसन्धानबाट पनि ध्यानको महत्व देखिएको छ। तीमध्ये केहि यहाँ चर्चा गरौँ:
मस्तिष्कमा प्रभाव
तनाव हर्मोन भनेर चिनिने कर्टिसोललाई कम गर्नुका साथै पारासिम्पाथेटिक स्नायु प्रणालीलाई सक्रिय बनाएर दिमागलाई शान्त बनाई तनाव कम गर्न मद्दत गर्दछ।
केही रिसर्चबाट यमिग्डाला (जसले तनाव, डर पैदा गराउँछ) को सक्रियता कम गरी भावानात्मक प्रतिक्रिया नियन्त्रणमा आउँछ जसले एन्जाइटी कम गर्नको लागि मद्दत पुग्ने देखिएको छ। ध्यानले हिप्पोक्याम्पस र प्रिफ्रोन्टल कर्टेक्सको मोटाइलाई समेत बढाउने देखाएको छ जसले समग्र बौद्धिक क्षमताको वृद्धि गराउँदछ।
मुटुमा प्रभाव
पारासिम्पाथेटिक स्नायु प्रणाली (शरीरलाई शान्त बनाएर पाचन आदि क्रिया गर्दछ) लाई सक्रिय बनाएर हृदयको गति र उच्च रक्तचाप समेत नियन्त्रण गर्न मद्दत पुग्ने देखिएको छ।
अन्य कर्म
निद्रा कम हुनु मानसिक र शारीरिक स्वास्थ्यका लागि अभिशाप हो भने यसमा पनि विभिन्न अध्ययनले छिटो निदाउन र निद्राको गुणस्तर बढाउँन मद्दत पुग्ने देखाएको छ। मानसिक रुपमा हुने पिडा पनि नियन्त्रण हुने देखिएको छ। स्ट्रेस हर्मोन कम हुँदा इम्युन सिस्टम लगायत अन्य लाभ समेत पाउनुका साथै ध्यानले समग्र जीवनको गुणस्तरमा नै सुधार ल्याउँछ।
कसरी गर्न सकिन्छ ध्यान
नियम अनुसार जाने हो भने अष्टांग योगलाई पालना गरी यमबाट शुरु गर्नुपर्ने हुन्छ। जसमा अहिंसा, सत्य बोल्नु, अस्तेय वा चोरी नगर्नु, ब्रह्मचर्य, अपरिग्रह वा अनावश्यक वस्तुको संग्रह नगर्नु जस्ता कुरा पर्दछन्। त्यसै गरी नियममा पाँच कुराहरु (शौच, सन्तोष, तप, स्वाध्याय, ईश्वरप्रणिधान) आसन प्राणायम आदि कुराहरु क्रमश पालना गर्दै ध्यानसम्म पुग्नुपर्ने नियम छन्।
भागवत गीतामा ध्यान गर्ने तरिकाको बारेमा उल्लेख गरिएको छ, जहाँ भनिएको छ :
समं कायशिरोग्रीवं धारयन्नचलं स्थिरः ।
सम्प्रेक्ष्य नासिकाग्रं स्वं दिशश्चानवलोकयन् ।।
अर्थात् शरीर टाउको र घाँटीलाई सिधा गरेर नचलिकन साथै कुनै पनि दिशामा नहेरिकन केवल आफ्नो नाकको अग्रभागलाई हेरेर स्थिर रूपमा बसेर ध्यान गर्नुपर्छ। विभिन्न योग गुरुहरुका ध्यानका आ–आफ्नै विधिहरु रहेका छन्। तिनै ध्यानहरु पनि क्रमशः बढाउदै जाँदा लाभहरु पाउँदै जान सकिन्छ।
त्यो सबै बाहेक पनि अफिस वा अन्य बाहिर रहँदा यसरी गर्न नसक्ने अवस्थामा आयुर्वेदमा भनिएझै ‘त्याग सर्वोपधानां च सर्वदुःख व्यपोहक’ अर्थात् त्याग नै सबै दुख नाशको उपाय हो। त्यसै अनुरुप केही ५ देखि १० मिनेट मात्रै भएपनि सबै कर्मबाट अलग भएर एक्लै बस्ने, दिमागलाई शान्त हुन दिने, कुनै तनाव वा सोच आएमा त्यसलाई नडोर्याउने, सहजै सोचहरुलाई जान दिने मात्र गरेमा पनि ध्यानका केहि लाभ पाउनु सकिन्छ।
यसका साथै पढ्ने, अफिस जाने, मोबाइल, ल्यापटप, टिभि जन्य उपकरण चलाउनको लागि समेत निश्चित रुटिन बनाएर अनावश्यक यसमै लागिरहनबाट बचेर शान्त बस्नु पनि लाभदायक हुन्छ। ध्यानबाट आफू र आफ्नो सन्ततीलाई तनाव र विक्षिप्त जीवनबाट सुन्दर, शान्त र उत्साहपूर्ण जीवन बाँच्न सिक्न र सिकाउन जरुरी छ।
(डा सुमन सत्याल आयुर्वेद चिकित्सक एवं सरकारी सेवामा कार्यरत छन्।)