नेपाल चिकित्सक संघको केन्द्रीय कार्यसमिति सदस्यका रूपमा बिताएका मेरा तीन वर्ष सिकाइ, जिम्मेवारी र सेवाभावले भरिएका रहे। यस अवधिमा संस्थाको गरिमा जोगाउँदै चिकित्सकहरूको हक–हित, व्यावसायिक स्वाभिमान तथा स्वास्थ्य प्रणालीको सुधारका लागि इमानदार प्रयास गर्ने अवसर प्राप्त भयो।
मेचीदेखि महाकालीसम्म मत माग्दै गरिएको यात्राले निकै परिश्रम माग्यो। काठमाडौंमा बसोबास गर्ने, नेवार समुदायमा हुर्किएको मेरो लागि मेची–महाकाली यात्रा पहिलो अनुभव थियो। मैले यसलाई अवसरका रूपमा लिएँ—देशभरको स्वास्थ्य सेवा अवस्थाबारे प्रत्यक्ष बुझ्ने, विद्यमान चुनौतीहरू पहिचान गर्ने र सुधारका दिशामा सोच्न प्रेरित हुने अवसरका रूपमा। यस क्रममा पुराना साथीहरूसँग पुनर्मिलन र नयाँ साथीहरूसँग सम्बन्ध विस्तार गर्ने महत्वपूर्ण अवसरसमेत प्राप्त भयो।
यस कार्यकालभरि कुनै पनि लाभदायक पद ग्रहण नगरी संस्थागत हितलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने प्रयास गरेँ। चिनजान भएका वा नभएका सबै सदस्यहरूले सहज रूपमा सम्पर्क गर्न सक्ने वातावरण निर्माण गर्न निरन्तर प्रयत्नशील रहेँ। आवश्यकता पर्दा जहाँसुकै पुगेर सहयोग गर्ने, सदस्य नभएकाहरूलाई समेत संस्थागत साथ दिँदै सदस्यता लिन प्रेरित गर्ने कार्यमा सक्रिय रहेँ, किनकि नेपाल मेडिकल एसोसिएसन हामी सबैको साझा संस्था हो भन्ने विश्वास मेरो आधारभूत मान्यता हो।
चुनावमा उम्मेदवारी दिएको दिनदेखि नै म निरन्तर तपाईंहरूकै बीचमा सक्रिय रहेँ। मतगणनाका प्रत्येक चरणमा पूर्ण समय दिँदै प्रत्येक मतको अवलोकन गरेँ। कार्यभार हस्तान्तरण हुनुअघि—बीर अस्पताल अगाडि ‘भीआईपी’ को नाममा एक चिकित्सकमाथि कुटपिट भएको समाचार सुन्नासाथ बीर अस्पताल पुगेर प्रहरीसँगको बैठकमा सहभागी भएँ।
यी तीन वर्षमा करिब ९९ प्रतिशत बैठकहरूमा मेरो उपस्थिति रह्यो। काठमाडौंमा रहँदा सधैं शारीरिक रूपमा उपस्थित भएँ भने विदेश वा काठमाडौं बाहिर रहँदा परेका दुई–तीनवटा बैठकमा मात्र अनलाइन माध्यमबाट सहभागी भएँ। म तपाईंहरूबाट कहिल्यै टाढा बसेको छैन।

चुनावअघि सामाजिक सञ्जालमा सक्रिय भएर हराउने प्रवृत्तिको म सधैं विरोधी हुँ—र यो प्रतिबद्धता मैले कहिल्यै तोडेको छैन। पहिलेझैं स्पष्ट र सोझो रूपमा आफ्ना धारणा राखिरहेँ, उठेका प्रश्नहरूमा सक्दो छिटो उत्तर दिने प्रयास गरिरहेँ।
संस्थागत निर्णयहरू सधैं विधानअनुसार हुनुपर्छ भन्नेमा म दृढ रहेँ। परिवर्तन आवश्यक भए त्यसका लागि तोकिएको प्रक्रिया अवलम्बन गर्नुपर्छ भन्ने मेरो स्पष्ट धारणा रह्यो। व्यक्तिगत भावना, दबाब वा आग्रहका आधारमा होइन-विधि र विधानको पालना गर्दै निर्णय हुनुपर्छ भन्ने सन्देश मैले निरन्तर रूपमा उठाएँ। यस सन्दर्भमा सबै सदस्यहरूले विधान अध्ययन गर्नुपर्छ भन्ने आग्रह पनि बारम्बार दोहोर्याएँ।
विभिन्न जटिल र संवेदनशील विषयहरूमा संस्थाको आधिकारिक धारणा स्पष्ट, जिम्मेवार र तथ्यमा आधारित रहोस् भन्ने मेरो निरन्तर प्रयास रह्यो। प्रश्न उठाउनु स्वाभाविक हो, तर उत्तर सुन्ने र स्वस्थ बहस गर्न सक्ने क्षमता पनि उत्तिकै आवश्यक हुन्छ भन्ने मान्यताका साथ संवादको संस्कार प्रवर्द्धन गर्न खोजेँ।
म सधैं विश्वास गर्छु—चिकित्सा क्षेत्रमा वास्तविक र दिगो परिवर्तन सम्भव छ। तर त्यसका लागि समय, धैर्य र निरन्तरता अपरिहार्य हुन्छन्। बाटो कठिन छ, तर त्यसमा आफ्नो इमानदार योगदान दिनु मेरो कर्तव्य र प्रतिबद्धता दुवै हो।
रेजिडेन्ट चिकित्सकहरूको समस्याका सन्दर्भमा चिकित्सक संघबाट सहयोगको आग्रह आएदेखि नै, संघ स्वयं मैदानमा उत्रिएको क्षणबाट म हरेक चरणमा अग्रपंक्तिमा रहेर आवाज उठाउँदै सक्रिय रूपमा काम गर्दै आएको छु। आन्दोलनका क्रममा अत्यावश्यक सेवाबाहेक अन्य सेवा सञ्चालन गर्न अस्पतालहरू असमर्थ भएको अवस्थामा, विभिन्न स्थानमा स्वयं उपस्थित भई समन्वय, संवाद र अनुरोधमार्फत जिम्मेवारी निर्वाह गरेँ।
काठमाडौंका जुनसुकै अस्पतालमा समस्या देखिँदा संघको निर्देशनअनुसार तुरुन्तै पुग्ने प्रयास गरेँ। संघले आयोजना गरेका कार्यक्रमहरूमा पनि सक्दो सहभागिता जनाएँ।

अरूको विरोध गर्नु सजिलो हुन्छ,
तर आफ्नै साथीको गलत कुरामा आवाज उठाउनु अत्यन्तै गाह्रो।
तर म त्यो कठिनाइबाट कहिल्यै पछि हटिनँ।
साथीहरू चुकेका ठाउँमा म सधैं सत्यको पक्षमा उभिएँ—आवश्यक परे स्पष्ट रूपमा विरोध पनि गरेँ।
यो कुनै व्यक्तिगत मनोमानी होइन,
यो मेरो इमानदारिता (Integrity) को प्रश्न हो।
सत्य र न्यायका अगाडि—साथी होस् वा नहोस्—म सम्झौता गर्न सक्दिन।
पदको लोभ वा केही व्यक्तिलाई खुसी पार्न गलतलाई साथ दिने स्वभाव मसँग छैन—र भविष्यमा पनि हुने छैन।
म व्यक्तिअनुसार होइन, सिद्धान्तअनुसार हिँड्छु।
नेपाल चिकित्सक संघका यी तीन वर्ष मेरा लागि ठूलो सिकाइको यात्रा रहे। तत्कालीन अध्यक्ष डा. अनिल कार्की र महासचिव डा. संजीव तिवारीसँग नजिक भएर काम गर्ने अवसरले नेतृत्व, व्यवस्थापन र संस्थागत संस्कारका धेरै आयामहरू बुझ्ने अवसर दियो। तीन वर्षअघि म आजको मभन्दा कम परिपक्व थिएँ—यो यात्राले मलाई अझ जिम्मेवार, संयमित र सक्षम नेतृत्वतर्फ अघि बढाएको छ।
यी तीन वर्षमा भएका दुई घटनाले मलाई गहिरो रूपमा छोएका छन्।
पहिलो- पारिवारिक रूपमा अत्यन्तै महत्वपूर्ण ‘बुवाको मुख हेर्ने दिन’ जस्तो अवसरमा चितवनमा छोरीहरूसँग समय बिताउन सक्ने अवस्थामा पनि चिकित्सकहरूको समस्याको समाधानका लागि काठमाडौंमै बसेर समय दिनु भएका तत्कालीन अध्यक्ष डा. अनिल कार्की ज्यू।
दोस्रो- चिकित्सकसम्बन्धी विषयमा छलफल भइरहेका बेला विद्यालयबाट फर्कँदै गरेको छोरालाई लिन जान नसक्दा, घरमा कोही नभएकाले बच्चालाई विद्यालयमै फर्काउनुपरेको महासचिव डा. संजीव तिवारीज्यूको अवस्था।
यी व्यक्तिगत त्यागहरू धेरैलाई थाहा नहुन सक्छन्। चिकित्सकहरूको हक–हितका लागि गरिएको काममा अत्यधिक समय, श्रम र धैर्य आवश्यक पर्छ- र कहिलेकाहीँ अपेक्षित नतिजा नआएर आलोचना र गालीसमेत सहनुपर्छ। यस्तो अवस्थामा नेतृत्वमा बसेकाहरूको त्यागप्रति हाम्रो सहानुभूति अझ सुदृढ हुन आवश्यक छ। यहीँबाट आत्ममूल्याङ्कन र आन्तरिक परिवर्तनको आवश्यकता देखिन्छ।

आज पनि पेशागत जिम्मेवारी वहन गर्न सक्ने हिम्मत र ऊर्जा मभित्र उत्तिकै छ। नेतृत्व भनेको हतार होइन—धैर्यपूर्वक सिक्दै, सुधार गर्दै अघि बढ्ने प्रक्रिया हो भन्नेमा म दृढ छु। त्यसैले म हतारको होइन, सिक्दै–उदाउँदै जाने नेतृत्वको बाटोमा छु।
मलाई विश्वास गर्नु भएकोमा निवर्तमान अध्यक्ष डा. लोचन कार्की ज्यू, सम्पूर्ण अग्रजहरू तथा ३३२१ बहुमूल्य मत प्रदान गर्दै सदस्य–उम्मेदवारमध्ये प्रथम स्थानमा राख्नु हुने सबैप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु।
वि.सं. २००७ सालमा स्थापना भएको नेपाल मेडिकल एसोसिएसन नेपालकै सबैभन्दा पुरानो, प्रतिष्ठित र गरिमामय पेशागत संगठन हो। यस संस्थाका संस्थापकहरूमध्ये मेरा हजुरबुवा डा. जित सिंह मल्ल प्रथम महासचिव तथा दोस्रो अध्यक्षका रूपमा सेवा गर्नु भएको, र बुवा डा. तेज सिंह मल्लज्यूद्वारा निरन्तर योगदान दिइएको यस संस्थामा, तपाईंहरूको विश्वासका कारण तीन वर्ष कार्यकारिणी सदस्यका रूपमा सेवा गर्न पाउनु मेरा लागि गर्व र सम्मानको विषय हो।
आमा डा. सुशिला मल्ल र श्रीमती डा. आरतीलाई बुझी सधैं साथ दिएकोमा हार्दिक धन्यवाद।
समग्रमा, मेरो तीन वर्षे व्यक्तिगत उपलब्धिभन्दा पनि सामूहिक जिम्मेवारी, इमानदार प्रयास र सेवाको यात्राका रूपमा रहेको छ। आगामी दिनमा पनि नेपाल मेडिकल एसोसिएसनको सुदृढीकरण, चिकित्सकहरूको एकता तथा स्वास्थ्य क्षेत्रको समग्र सुधारका लागि संस्थागत मर्यादाभित्र रहेर निरन्तर योगदान गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।
