काठमाडौं- उपभोक्ता हित संरक्षण मञ्चले डब्लुएचओ नेपालका प्रमुख डा. राजेश सम्भाजीराव पाण्डव लाई आज एक कार्यक्रम गरेर बिदाइ गरेको छ।
आगामी मङ्सिर ५ गते डा पाण्डवले नेपालका लागि काम गरेको पाँच वर्ष पूरा हुँदै गर्दा मञ्चले उनलाई एक कार्यक्रमका बीच बिदाइ गरेको हो।
उनले २०७७ असोज २ अर्थात् १८ सेप्टेम्बर २०२० मा डब्लुएचओ नेपाल प्रमुख भएर कार्यभार सम्हालेका थिए। विदाई कार्यक्रममा बोल्दै डा पाण्डवले आफ्नो नयाँ कार्य गन्तव्यका लागि श्रीलंका तय भइसकेको जानकारी दिए। नेपालमा रहेर काम गरिरहँदा सहयोग गर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, विभिन्न संघसंस्था, सरोकारवाला तथा सञ्चारमाध्यम प्रति उनले आभार व्यक्त गरे।
कार्यक्रममा आफ्नो धारणा राख्दै उपभोक्ता हित संरक्षण मञ्च नेपालका अध्यक्ष एवं वरिष्ठ अधिवक्ता ज्योति बानियाँले डा पाण्डव डब्लुएचओ प्रमुखका रूपमा रहँदा उपभोक्ताको हक हितमा काम गर्नका लागि सधैँ सहयोगी भूमिकामा रहेको बताए।
उनले नेपालमा हरेक क्षेत्रमा उपभोक्ताहरू ठगिने क्रम दिनप्रतिदिन बढ्दै गएको समेत जानकारी दिए। हाल उपभोक्ता अदालतमा चिकित्सकीय लापरवाहीका ११ मुद्दा रहेकोमा तीन वटा मात्रै फैसला भएको उनले जानकारी दिए। मुद्दाको प्रकृति अनुसार बढीमा डेढ करोडसम्म क्षतिपूर्ति पीडितलाई दिने गरी फैसला भएको उनी बताउँछन्।