नेपालको स्वास्थ्य क्षेत्रले पछिल्ला वर्षहरूमा ठूलो छलाङ मारेको छ। सरकारले स्वास्थ्यलाई प्राथमिकतामा राखेको छ भने हामी जस्ता व्यवसायीले पनि विश्व बजारको मापदण्डलाई ध्यानमा राखेर काम गरिरहेका छौँ। प्राविधिक जनशक्ति, प्रविधि र उपकरणका हिसाबले नेपालका प्रमुख सहरी क्षेत्रहरू (काठमाडौं, पोखरा, महेन्द्रनगर, धनगढी, सुर्खेत) आज युरोप र अमेरिकाभन्दा कुनै पनि हालतमा कम छैनन्।
अन्य विकसित देशमा सिटी स्क्यान, एमआरआई जस्ता सेवाका लागि आकस्मिक अवस्थाबाहेक ४०–४५ दिनसम्म कुर्नुपर्ने हुन्छ, तर हाम्रो देशका प्रमुख सहरहरूमा ३–४ घण्टामै विशेषज्ञ सेवासहित यी सुविधा उपलब्ध छन्। यो हाम्रो स्वास्थ्य क्षेत्रको ठूलो सफलता हो। यद्यपि, राज्यले मूल्य अनुगमन (प्राइज मोनिटरिङ) मा कमजोर देखिएको छ। यदि सरकारले प्रभावकारी अनुगमन गर्ने हो भने नेपालीले अझै कम शुल्कमा स्वास्थ्य सेवा पाउन सक्छन्।
हामी डर्मा (छाला रोग) को क्षेत्रमा काम गर्छौं। हाल युरोप, यूएई र कतारमा बसोबास गर्ने नेपालीहरू बिदामा नेपाल आएर दाँत, छाला र कपाल प्रत्यारोपण जस्ता सेवा लिने गरेका छन्। यसले नेपालमा यी सेवाहरू सहज, सरल र सस्तो रहेको पुष्टि गर्छ। हामीले सुलभ मूल्यमा अत्याधुनिक प्रविधि उपलब्ध गराइरहेका छौँ। आजभन्दा १५–२० वर्षअघि वीर र त्रिवि शिक्षण अस्पतालमा थाइराइडको रिपोर्ट लिन १५ दिन कुर्नुपर्ने अवस्था थियो। अहिले जिल्ला र नगर अस्पतालमा हर्मोनल परीक्षणसहित अन्य धेरै परीक्षणको रिपोर्ट केही घण्टामै प्राप्त गर्न सकिन्छ। फिजियोथेरापी, आईसीयू र भेन्टिलेटर जस्ता अत्याधुनिक प्रविधिहरू पनि नेपालमा सहजै उपलब्ध छन्।
पहिले "नेपालमा मेसिन ल्याए एक वर्ष चल्दैन" भन्ने जस्ता खबरहरू सुनिन्थ्यो। तर अहिले हाम्रो जस्ता कम्पनीहरूले दक्ष बायोमेडिकल इन्जिनियरहरू राखेर सेवा दिइरहेका छन्। हामीसँग मात्रै १५ जना बायोमेडिकल इन्जिनियरहरू छन्। पोखरा, महेन्द्रनगर जस्ता सहरमा पनि स्टेसन इन्जिनियरहरू राखेर मेसिनको मर्मत र वारेन्टी सेवा उपलब्ध गराइरहेका छौँ। अहिले सरकारी वा निजी कुनै पनि अस्पतालले खरिद गरेका मेसिनहरू त्यसको 'लाइफ' अवधिभर निरन्तर चलेका सयौँ उदाहरण छन्। हामीले नयाँ प्रविधि भित्र्याउने, जडान गर्ने र तालिम दिने सबै काम आफैँ गरिरहेका छौँ।
कोभिड–१९ पछि तालिमको स्वरूप पनि बदलिएको छ। अब हामी गुगल मिटको माध्यमबाट 'लाइभ' तालिमहरू दिन्छौँ, जहाँ मेसिन बनाउने निर्मातासँग सिधै भिडियो कल गरेर अद्यावधिक जानकारी लिन सकिन्छ। नेपाल भूपरिवेष्ठित भए पनि युरोप, अमेरिका र जापानका कम्पनीहरूसँगको नेटवर्कमा जोडिएर हामी लाइभ रिपोर्ट आदानप्रदान गर्छौँ। हाम्रा दक्ष डाक्टरहरूले युरोपका डाक्टरहरूसँग आइडिया साटेर बिरामीलाई रिपोर्ट दिने गरेका छन्। सन् २०१९ मा आइएफए टेक्नोलोजी नेपालमा ल्याएपछि हाम्रा प्याथोलोजिस्टहरूले युरोपका डाक्टरहरूसँग मिलेर रिपोर्टहरू उपलब्ध गराए। यसले नेपाली डाक्टरहरूलाई अन्तर्राष्ट्रिय फोरममा पहिचान दिलाएको छ।
अहिले रिपोर्ट हेर्नका लागि विभिन्न एपहरूको विकास भएको छ। पहिले जस्तो डाक्टरकोमा जाने, रगत दिएर रिपोर्टको फिल्म हातमा लिएर पुनः डाक्टरकोमा जानुपर्ने अवस्था छैन। ल्याबबाट सीधै डाक्टरको कम्प्युटरमा रिपोर्ट पुग्ने प्रविधि हामीले भित्र्याएका छौँ। होम केयर सेवा, सानो पोर्टेबल मेसिनबाट घरमै अक्सिजन उत्पादन गर्न सकिने जस्ता सुविधाहरूले नेपालले प्रविधिको क्षेत्रमा फड्को मारेको छ।
जनसङ्ख्या र संविधानले परिकल्पना गरेअनुसार राज्य र हामी निजी क्षेत्र मिलेर ग्रामीण भेगमा पनि नयाँ प्रविधि पुर्याइरहेका छौँ। यद्यपि, ग्रामीण क्षेत्रमा केही विशेष सेवा उपलब्ध गराउन नसकिनुको कारण त्यहाँ आवश्यक टर्नओभर वा ग्राहकको अभाव हो, किनभने जनता सहरीकरणतर्फ आकर्षित भएका छन्। तैपनि, हाम्रो कुनै पनि गाउँ प्राथमिक स्वास्थ्य केन्द्रभन्दा बाहिर छैन र त्यहाँ उपलब्ध सुविधा पनि विश्वस्तरको छ। विगत १० वर्षको तुलना गर्दा, आज ग्रामीण क्षेत्रका जनता पनि स्वास्थ्य पहुँचबाट बाहिर छैनन्।
सरकारसँग मेरो एउटै अनुरोध छ: राज्यले स्वास्थ्यमा जति खर्च गरेको छ, त्यसको अनुगमन भएको छैन। जनताले लगानीको लाभ पूर्ण रूपमा लिन पाएका छैनन्। खरिद प्रक्रिया जटिल छ र केही स्वार्थी समूहले आफ्नो स्वार्थ अनुसार यसलाई डिजाइन गरेका छन्। राज्यले आवश्यकता पहिचान नगरी ठूलो लगानी गरेको छ। गाउँका लागि खरिद गरिएका उपकरण कति प्रयोग भएका छन्, त्यसको मूल्याङ्कन हुनु जरुरी छ। उपकरणहरू लोकेशन वा चुनावी क्षेत्र हेरेर बाँड्नुभन्दा आवश्यकता पहिचान गरेर मात्र वितरण गर्नुपर्छ।
-(रामइन्द्र न्यौपाने वेभ ट्रेडिङ कन्सर्न प्रालीका प्रबन्ध निर्देशक हुन्।)
सिफारिस

