काठमाडौं- चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तह अन्तर्गत एमबीबीएस शैक्षिक कार्यक्रमको एकीकृत प्रवेश परीक्षाको नतिजा आज सार्वजनिक गरेको छ।
शैक्षिक सत्र २०८२/८३ का लागि मिति २०८२ कात्तिक १५ गते सञ्चालन गरिएको उक्त परीक्षामा सहभागी उम्मेदवारहरूमध्ये योग्यताक्रममा रहन सफल परीक्षार्थीहरूको नामसूची आयोगले सार्वजनिक गरेको हो।
आयोगका अनुसार परीक्षामा सहभागी उम्मेदवारहरूले आफ्नो योग्यताक्रम सहितको नतिजा आयोगको आधिकारिक वेबसाइट र व्यक्तिगत प्रोफाइलमार्फत हेर्न सक्ने व्यवस्था गरिएको छ। यस वर्षको परीक्षामा देशका विभिन्न प्रदेशका विद्यार्थीहरू सहभागी भएका थिए। आयोगले परीक्षा निष्पक्ष, पारदर्शी र व्यवस्थापित रूपमा सम्पन्न भएको जनाएको छ।
त्यसैगरी, उत्तरपुस्तिकामा रोल नम्बर वा प्रश्नपत्र सेट नम्बरको बबल नभरेका, गलत बबल भरेका, वा परीक्षाको मर्यादा विपरीत गतिविधि गरेको पाइएका उम्मेदवारहरूको उत्तरपुस्तिका रद्द गरिएको आयोगले जनाएको छ। साथै, झुठा विवरण पेश गरी परीक्षामा सहभागी भएको प्रमाणित भएमा त्यस्ता परीक्षार्थीहरूको नतिजा जुनसुकै समयमा रद्द गरिने चेतावनी पनि दिइएको छ।
आयोगले पुनर्योग सम्बन्धी सूचना पछि अलग रूपमा प्रकाशन गरिने बताएको छ।
नतिजा प्रकाशनपछि अब योग्यताक्रमअनुसार विद्यार्थीहरूले सम्बन्धित विश्वविद्यालय तथा शिक्षण संस्थामा भर्ना प्रक्रिया अघि बढाउन सक्नेछन्। भर्ना सम्बन्धी मिति, आवश्यक कागजात र थप निर्देशन आयोगले चाँडै सार्वजनिक गर्ने जनाएको छ।
चिकित्सा शिक्षा आयोगले विद्यार्थीहरूलाई आधिकारिक वेबसाइटबाहेक अन्य अनौपचारिक स्रोतबाट भ्रममा नपर्न आग्रह गर्दै सबै सूचनाहरू आयोगकै माध्यमबाट अनुसरण गर्न अनुरोध गरेको छ।
नतिजा हेर्नका लागि यहाँ क्लिक गर्नुहोस्