विश्वभर अन्तर्राष्ट्रिय परिवार दिवस २०२५ मनाइएको छ। यस वर्षको नाराले 'दिगो विकासका लागि परिवारमुखी नीतिहरू' लाई विशेष प्राथमिकता दिएको छ। नेपालको सामाजिक, सांस्कृतिक, आर्थिक र राजनीतिक परिवेशमा यो सन्देश झनै सान्दर्भिक छ। पारिवारिक एकता, सम्बन्ध, मूल्य मान्यता र जिम्मेवारीका आधारभूत पक्षहरू तीव्र रूपले बदलिँदै गर्दा, परिवार र त्यसमा आधारित सामाजिक ढाँचाले पुनरवलोकन र पुनर्संरचनाको आवश्यकता महसुस गरिरहेको छ।
नेपाली समाजमा पारिवारिक संरचनाको रूपान्तरण
नेपाल परम्परागत रूपमा संयुक्त परिवार प्रणालीमा आधारित समाज हो, जहाँ पुस्तौँ-पुस्ताको सह–अस्तित्व, सहकार्य र परस्पर निर्भरता देखिन्थ्यो। वृद्धको हेरचाह, बालबालिकाको संरक्षण, निर्णयमा सामूहिक सहभागिता जस्ता विशेषता सामाजिक पूँजीको रूपमा व्याख्या गरिन्थ्यो। तर पछिल्लो दशकमा, शिक्षा, शहरीकरण, वैदेशिक रोजगारी र व्यक्तिगत स्वतन्त्रताको विस्तारसँगै न्यूक्लियर परिवार प्रणाली विस्तार भएको छ।
२०२१ को जनगणनाले देखाउँछ कि २९ प्रतिशत भन्दा बढी परिवार एकल संरचनामा परिणत भएका छन्। साझा घर-परिवारको ठाउँमा व्यक्तिगत जीवन र अलग बसोबास प्राथमिकता बन्न थालेको छ। यसले पारिवारिक सद्भाव, परस्पर माया र सघन सम्बन्धमा टुटफुट ल्याएको छ।
वैदेशिक रोजगारीको असर: एकता होइन, विखण्डन
नेपाली समाजमा वैदेशिक रोजगारी मुख्य आर्थिक स्रोत बनेको छ। हाल अनुमानित ५० लाखभन्दा बढी नेपाली विदेशमा श्रमिक जीवन बिताइरहेका छन्। रेमिट्यान्सले मुलुकको अर्थतन्त्र धानिरहे तापनि, पारिवारिक एकता, मानसिक सन्तुलन र सामाजिक मूल्यमा ठूलो खलल परेको छ।
सन् २०२४ मा मात्र १२ खर्बभन्दा बढी नेपाली रुपैयाँ रेमिट्यान्स मार्फत भित्रिएको नेपाल राष्ट्र बैंकको तथ्याङ्क छ, जसले देखाउँछ कि नेपाली अर्थतन्त्रको मेरुदण्ड नै वैदेशिक रोजगारी बनेको छ।तर, यत्रो आर्थिक फाइदाले पनि पारिवारिक एकता, मानसिक सन्तुलन र सामाजिक मूल्यमा परेको क्षति पुरा गर्न सकेको छैन।
एक अध्ययनअनुसार, वैदेशिक रोजगारीमा रहेका बाबुआमाका छोराछोरीमा आत्मबल कमी, अनुशासन समस्या, असुरक्षित यौनिक व्यवहार र भावनात्मक अलगावको समस्या बढ्दै गएको छ। अभिभावक टाढा हुँदा बालबालिकाको पालनपोषण हजुरआमा, बुवा वा अन्य आफन्तले गर्ने चलन सामान्य बनिसकेको छ, जसमा भावनात्मक सम्बन्ध, अभिभावकत्व र व्यवहारिक सल्लाहको गम्भीर अभाव देखिन्छ।
पारिवारिक विखण्डन नेपालको प्रमुख सामाजिक चिन्ताको रुपमा देखा परिरहेको छ। जब परिवारका सदस्य विशेषगरी बुवा वा आमा विदेश जान्छन्, परिवारको भावनात्मक संरचना कमजोर हुँदै जान्छ। विवाह सम्बन्धमा अविश्वास, टाढोपन र भावनात्मक रिक्तता निम्तिन्छ। पछिल्ला वर्षहरूमा सम्बन्धविच्छेद दर उच्च भएको प्रमुख कारण मध्ये वैदेशिक रोजगारी एक हो (नेपाल कानून आयोग, २०२३)।
नेपालमा वैदेशिक रोजगारीको उच्च प्रवृत्तिले महिलाहरूलाई 'लेफ्ट-बिहाइन्ड वाइभ्स'को रूपमा परिभाषित गर्ने सामाजिक संरचना विकास भइरहेको छ। यस्ता महिलाहरूको जीवन यौनिक तथा प्रजनन अधिकारको अभाव, लगातार मानसिक तनाव, सामाजिक संकोच र आफ्नै जीवनसँग सम्बन्धित निर्णय प्रक्रियाबाट बहिष्करणका साथ बितिरहेको छ।
धेरै महिलाहरूले आर्थिक आत्मनिर्भरता, सामाजिक पहुँच र आत्म-सशक्तिकरणका उपायहरू खोज्न प्रयास गर्छन्, तर उनीहरूको प्रयासलाई सामाजिक सञ्जालमार्फत गरिने चरित्र मूल्याङ्कन, लैङ्गिक पूर्वधारणा, परिवार तथा समुदायको संकीर्ण सोचले निरन्तर दबाबमा राख्ने गर्छ। एकातिर ती महिलाहरू 'इज्जत र कर्तव्य'को नाममा विवशतापूर्वक पतिप्रति निष्ठावान् बन्न बाध्य छन्, अर्कोतिर उनीहरूका व्यवहार र निर्णयमा शंका गर्ने संस्कृति अझै बलियो छ।
अध्ययनहरूबाट देखिन्छ कि यस्तो सामाजिक संरचनाले महिलाहरूमा आत्मबलको कमी, यौनिक असन्तुष्टि, मानसिक अस्वस्थता, र कहिलेकाहीं असुरक्षित सम्बन्धहरूमा संलग्न हुने सम्भावना बढाउँछ। साथै, उनीहरूलाई आफ्नै यौनिकता र आवश्यकताको विषयमा खुलेर कुरा गर्न सक्ने सुरक्षित ठाउँको अभाव छ, जसले उनीहरूको सामाजिक बहिष्करणलाई अझ गहिरो बनाउँछ।
बालबालिकाको संरक्षण, यौनिकता र मानसिक स्वास्थ्य
नेपालमा बालबालिका अझै पनि संरक्षित र अधिकारयुक्त नागरिक बन्न सकेका छैनन्। यद्यपि विद्यालयमा पहुँच केही हदसम्म विस्तार भएको छ, तर गुणस्तरीय शिक्षा, बालमैत्री वातावरण, मनोवैज्ञानिक सुरक्षा र अभिभावकीय सहकार्यको अभावले गर्दा बालबालिकाको समग्र विकासमा चुनौती देखिन्छ। विशेषतः वैदेशिक रोजगारीको कारण लामो समयसम्म टाढा रहने बाबुआमाले आफ्ना छोराछोरीसँग गहिरो भावनात्मक सम्बन्ध कायम गर्न कठिनाइ भोगिरहेका छन्। यसले बालबालिकामा आत्मबलको कमी, व्यवहारगत अस्थिरता र निर्णय क्षमतामा प्रभाव पारिरहेको छ।
अध्ययनहरू अनुसार, घरभित्र खुला संवादको कमी, यौनिकता र यौन शिक्षालाई लाज र निषेधको विषय मानिने परम्परागत सोचले गर्दा किशोर/किशोरीहरू आफ्नो यौनिक जिज्ञासा इन्टरनेट, सामाजिक सञ्जाल वा साथीहरूमार्फत् सम्बोधन गरिरहेका छन्। तर, यी माध्यमहरू सधैँ सुरक्षित वा वैज्ञानिक जानकारीका स्रोत हुँदैनन्। यसले असुरक्षित यौन व्यवहार, अविवाहित गर्भावस्था, यौनजन्य संक्रमण, यौन हिंसा तथा दीर्घकालीन मानसिक स्वास्थ्य समस्याहरूको जोखिम बढाइरहेको छ।
यस सन्दर्भमा, विद्यालय, परिवार र समुदायबीच सहकार्य गरी यौन तथा प्रजनन स्वास्थ्य अधिकार (एसआरएचआर) लाई औपचारिक पाठ्यक्रम र व्यवहारिक सिकाइ दुबैमा आत्मसात् गराउनु अत्यावश्यक छ। विद्यालयले केवल पाठ्यपुस्तकमा सीमित नभई सहभागीमूलक र वैज्ञानिक यौन शिक्षा प्रदान गर्नुपर्छ। परिवारले आफ्ना छोराछोरीसँग खुलेर संवाद गर्ने संस्कार विकास गर्नुपर्छ। साथै, समुदायले यौनिकता र लैङ्गिकता जस्ता संवेदनशील विषयमा सकारात्मक दृष्टिकोण र सहयोगी वातावरण सिर्जना गर्नु दीर्घकालीन रूपमा युवापुस्ताको सुरक्षित भविष्यको आधार बन्न सक्छ।
लैङ्गिक भूमिकामा असमानता: महिलाको डबल बर्डेन
समाजमा महिलाको सक्रियता बढ्दै गइरहे पनि पारिवारिक जिम्मेवारीमा उनीहरूलाई दोहोरो बोझ पर्ने अवस्था छ। उनीहरू जागिरे छन्, तर खाना पकाउने, बालबालिका हेर्ने, सासु-ससुरा स्याहार गर्ने दायित्व अझै पनि उनीहरूकै काँधमा छ।
महिलाहरूलाई 'डबल बर्डेन'ले मानसिक थकान, आत्मविश्वासमा कमी, यौन जीवनमा असन्तोष, र कार्यक्षमता ह्रास गराइरहेको छ। अझ खल्बलिएको कुरा त के हो भने, न घरभित्र न त समाजमा नै महिला सशक्तीकरणको वास्तविक अभ्यास देखिन्छ।
नेपालको पारिवारिक नीति अझै पनि लिंग-समानता र साझा जिम्मेवारीको सिद्धान्तमा आधारित छैन। यसको पुनरावलोकन र व्यवहारिक रूपान्तरण अपरिहार्य छ।
सामाजिक मूल्य र यौनिक व्यवहारमा रूपान्तरण
नेपालमा यौन र यौनिकता अझै पनि लाज, गोपनीयता र निषेधको विषय मानिन्छ। तर, पछिल्लो पुस्तामा प्रविधिको प्रयोग, सामाजिक सञ्जाल, सहजीवन, आत्मनिर्भरता र खुला सोचाइको कारण यौनिक व्यवहारमा खुलापन आएको छ।
पूर्व-विवाह यौन सम्बन्ध, समलिङ्गी पहिचान, सहजीवन र स्वतन्त्र निर्णय गर्ने अधिकारमा चेतना वृद्धि भएको छ। तर, पारिवारिक संवादको अभाव, स्कूलमा यौन शिक्षाको अपूरो पहुँच, र समाजमा नकारात्मक दृष्टिकोणका कारण जोखिमयुक्त यौन व्यवहार बढ्दो छ।
नेपालमा यौन र यौनिकतालाई अझै पनि लाज, निषेध र गोपनीयताको विषय मानिन्छ, जसले गर्दा खुला संवादको अवसर सीमित हुन्छ। यद्यपि पछिल्लो पुस्तामा प्रविधिको व्यापक प्रयोग, सामाजिक सञ्जालको प्रभाव, सहजीवनको बढ्दो अभ्यास, आत्मनिर्भरता र स्वतन्त्र सोचको विकाससँगै यौनिक व्यवहारमा खुलेपन देखिएको छ। विशेषगरी, युवा पुस्तामा पूर्व-विवाह यौन सम्बन्ध, समलिङ्गी पहिचान र सहजीवनप्रति स्वीकार्यता बढ्दै गएको पाइन्छ। यस्ता व्यवहार र पहिचानलाई आत्मसात गर्ने झुकावले स्वतन्त्र निर्णय गर्ने चेतनामा वृद्धि भएको छ। तर, २०७५ सालमा युएनएफपीएका अनुसार किशोरकिशोरीहरूमध्ये २५ प्रतिशतले पूर्व-विवाह यौन सम्बन्ध राखेको र तीमध्ये आधाभन्दा बढीले असुरक्षित यौन सम्बन्धमा संलग्न भएको देखिन्छ। अर्कोतर्फ, यौनिक अल्पसंख्यकहरू अझै पनि पारिवारिक, सामाजिक तथा कानुनी विभेदको सिकार भइरहेका छन्।
पारिवारिक संवादको अभाव, विद्यालय तहमा यौन शिक्षाको अपूरो पहुँच र समाजमा विद्यमान नकारात्मक दृष्टिकोणका कारण किशोरकिशोरी तथा युवाहरू जोखिमयुक्त यौन व्यवहारतर्फ उन्मुख भइरहेका छन्। 'एडलोसेन्ट हेल्थ एन्ड डेभलपमेन्ट" सम्बन्धी एक अध्ययन अनुसार, १५–१९ वर्षका ४० प्रतिशत युवाहरूलाई यौनिक स्वास्थ्यबारे आधारभूत जानकारी समेत छैन। यौनिक जिज्ञासा समाधान नहुँदा उनीहरू इन्टरनेट र असत्य स्रोतमा भर पर्न बाध्य छन्, जसले भ्रम, डर र गलत व्यवहार जन्माउँछ। यस सन्दर्भमा, यौन तथा प्रजनन स्वास्थ्य अधिकार (एसआरएचआर)लाई केवल स्वास्थ्यको विषय नभई पारिवारिक र सामाजिक बहसको अनिवार्य अङ्ग बनाउनु आजको आवश्यकता हो। अभिभावक, शिक्षक र समुदायका सदस्यहरूलाई सम्वेदनशीलता र वैज्ञानिक दृष्टिकोणबाट प्रशिक्षण दिई यौनिकताको संवादमैत्री वातावरण निर्माण गर्नु दीर्घकालीन समाधानको मार्ग हो।
पारिवारिक नीति र दिगो विकासको अन्तरसम्बन्ध
दिगो विकासको लक्ष्य प्राप्तिका लागि परिवारमुखी नीति बनाउनु रणनीतिक खम्बा हो। स्वास्थ्य, शिक्षा, लैङ्गिक समानता, गरिबी न्यूनीकरण, र सामाजिक समावेशीकरणमा परिवारले निर्णायक भूमिका खेल्दछ। तर, नेपालमा फ्यामिली इम्प्याक्टर एसेसमेन्ट प्रणालीको अभाव छ। कुनैपनि नीति बनाउँदा त्यसले परिवारमा पार्ने असरको मूल्याङ्कन नगर्ने चलन आज पनि यथावत् छ।
अब राज्यले परिवारमुखी नीति बनाउन, समुदायमा आधारित सेवाहरू विस्तार गर्न, वृद्ध, बालबालिका, महिला र अपांगता भएका व्यक्तिहरूका लागि लक्षित कार्यक्रम ल्याउनुपर्ने बेला भएको छ।
परिवारप्रति प्रतिवद्धता नै विकासको पूर्वाधार
अन्तर्राष्ट्रिय परिवार दिवस केवल एक औपचारिकता होइन, यो अवसर हो, परिवारभित्रको सम्वाद, समझदारी, समानता र सद्भाव निर्माण गर्ने। नेपालजस्तो संक्रमणशील समाजमा पारिवारिक विखण्डन, लोपोन्मुख मूल्य मान्यता र वैदेशिक रोजगारीले खलबल्याएको सम्बन्धलाई पुनः मजबुत बनाउन परिवारमुखी नीति, कार्यक्रम र व्यवहार निर्माणको खाँचो अत्यन्तै छ।
दिगो विकास केवल संरचना, पूर्वाधार र उत्पादनसँग जोडिएको विषय होइन। यो परिवारभित्रको प्रेम, सम्मान, संवाद र साझा दायित्वबाट सुरु हुन्छ।
अन्ततः, परिवार बचाउन सकिएन भने समाज, संस्कृति र राष्ट्रको दीर्घकालीन विकासको सपना केवल भ्रममै सीमित हुनेछ।
(अधिकारी यौन तथा प्रजनन् स्वास्थ्यको क्षेत्रमा अध्ययन अनुसन्धान, प्रशिक्षण तथा शिक्षण गर्छन्)