आधुनिक चिकित्सा विज्ञानका महत्वपूर्ण उपलब्धिहरूमध्ये प्रतिजैविक औषधीको आविष्कार एक असाधारण क्रान्ति थियो। यी औषधिहरूको विकाससँगै ब्याक्टेरिया, परजीवी, भाइरस र फङ्गसले उत्पन्न गर्ने धेरै रोगहरूको समयमै पहिचान र प्रभावकारी उपचार सम्भव भइरहेको छ। ब्याक्टेरियाजन्य संक्रमणको समयमै उपचार हुन थालेपछि जनधनको क्षति घटेको छ। तर अर्कोतर्फ, एन्टिबायोटिकको अनुचित प्रयोग तथा दुरुपयोग का कारण ब्याक्टेरियामा प्रतिरोध क्षमता (रेसिस्टेन्स) तीव्र गतिमा बढ्दो छ।
एक दृष्टिकोणबाट हेर्दा सूक्ष्म जीवहरू झनझन् शक्तिशाली र परिवर्तनशील बन्दै छन् भने अर्को दृष्टिकोणबाट नयाँ एन्टिमाइक्रोबियल औषधिको विकास भने अत्यन्त सुस्त गतिमा भइरहेको छ। प्रतिरोधी जीवाणुहरू सजिलै एक स्थानबाट अर्को स्थानमा फैलिने भएकाले संक्रमण हुने सम्भावना बढ्छ। यस अवस्थामा सामान्य अवस्थामा प्रयोग हुने औषधि नलाग्न थालेपछि जटिल र कडा प्रकारका एन्टिबायोटिक प्रयोग गर्नुपर्ने बाध्यता सिर्जना हुन्छ।
एन्टिमाइक्रोबियल रेसिस्टेन्स बढ्दै जाँदा एन्टिबायोटिकको प्रभाव घट्दै जान्छ, जसले गर्दा पछि-पछिका कडा औषधिहरू छान्नुपर्ने हुन्छ। यस्तो औषधि प्रयोग गर्दा साइड इफेक्ट पनि बढी हुन्छ, उपचार असफल हुन सक्छ, प्रतिरोधी जीवाणु अझ फैलिन सक्छ, उपचार खर्च बढ्छ, विकल्प सीमित हुन्छ, संक्रमण दीर्घकालीन बन्छ, र मृत्युको जोखिम समेत बढ्छ।
एएमआरको कारण ब्याक्टेरिया, भाइरस, फङ्गस र परजीवीहरूले समयसँगै आफ्नो संरचना परिवर्तन गर्दै जान्छन्, जसले गर्दा अस्तित्वमा रहेका औषधिहरूले काम गर्न नसक्ने अवस्था बन्छ। परिणामस्वरूप, यस्ता प्रतिरोधी किटाणुले गम्भीर संक्रमण र मृत्युको जोखिम दिनप्रतिदिन बढाइरहेका छन्।
नेपालमा बढ्दो समस्या
नेपालमा पनि एन्टिबायोटिकको दुरुपयोग चुनौतीको मुख्य कारण हो। चिकित्सकसँग परामर्श बिना औषधि सेवन गर्ने प्रवृत्ति बढ्दै गएको छ। कतिपय अवस्थामा चिकित्सक तथा स्वास्थ्यकर्मीबाट पनि अनावश्यक रूपमा एन्टिबायोटिक लेखिने गरेको पाइन्छ। अझ जहाँ एन्टिबायोटिकको आवश्यकता नै हुँदैन, त्यहाँ पनि औषधि प्रयोग गर्ने प्रवृत्तिले प्रतिरोधी जीवाणुको विकासलाई थप गति दिइरहेको छ।
यस्ता प्रतिरोधी ब्याक्टेरियाले संक्रमण गराएमा रोग चाँडै फैलिन सक्छ, उपचार ढिलो हुन्छ, खर्च बढ्छ, लामो समय अस्पताल बस्नुपर्ने हुन्छ, र कहिलेकाहीँ यिनकै कारण ज्यानसम्म जान सक्छ।
संक्रमण भएको अवस्थामा सम्बन्धित नमुना संकलन गरेर कल्चर र सेन्सिटिभिटी टेस्ट गराउने हो भने कुन किटाणुले संक्रमण गरेको हो र कुन एन्टिबायोटिक प्रभावकारी हुन्छ भन्ने छुट्याउन सकिन्छ। प्रयोगशालाले दिने सेन्सिटिभ, इन्टरमिडिएट वा रेसिस्टेन्ट रिपोर्टले उपचारलाई सही दिशा दिन मद्दत गर्छ।
भेटेरिनरी क्षेत्रमा पनि एन्टिबायोटिकको उपभोग उच्च छ। पशु–पन्छीमा अनावश्यक रूपमा औषधि प्रयोग गर्दा प्रतिरोधी जीवाणु विकास भई मासु तथा मासुजन्य उत्पादन, वातावरण, जनावर तथा मानवमा सजिलै फैलिन सक्छ। यस्ता प्रतिरोधी जीवाणुले संक्रमण गराएमा उपचार गर्न नै गाह्रो पर्न सक्छ र मृत्युको जोखिम समेत रहन्छ।
विश्वव्यापी प्रयास
हरेक वर्ष नोभेम्बर १८ देखि २४ सम्म विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह मनाइन्छ। प्रतिरोध नियन्त्रणमा वन हेल्थ दृष्टिकोण अत्यन्त महत्वपूर्ण छ, जसले मानव स्वास्थ्य, जनावर स्वास्थ्य र वातावरणबीचको सम्बन्धलाई केन्द्रमा राखेर प्रतिरोधी किटाणुको अनुगमन र नियन्त्रणमा जोड दिन्छ।
एन्टिमाइक्रोबियल रेसिस्टेन्स नियन्त्रण कुनै एक क्षेत्रको मात्र प्रयासले सम्भव छैन। यसको लागि सरकारी निकायको निगरानी, सामाजिक तथा शैक्षिक अभियान, एन्टिबायोटिकको उचित प्रयोग, तथा जनचेतना अत्यावश्यक छन्। सबैभन्दा महत्वपूर्ण कुरा– अनावश्यक एन्टिबायोटिक प्रयोग रोक्नु नै प्रतिरोध कम गर्ने प्रमुख उपाय हो।
आज एएमआर मौन महामारीझैँ फैलिरहेको छ। त्यसैले यसले निम्त्याउने चुनौती र यसको जोखिमलाई समयमै सम्बोधन गर्नु अत्यन्त आवश्यक छ।