जनकपुरधाम- प्रादेशिक अस्पताल गौर लगातार दोश्रो वर्ष मधेश प्रदेशमै उत्कृष्ट बनेको छ ।
मधेश प्रदेश स्वास्थ मन्त्रालय अन्तर्गत न्यूनतम् सेवा मापदण्ड कार्यान्वयन कार्यक्रम अनुसार गरिएको अनुगमन निरीक्षणपछि कार्यसम्पादन मूल्यांकनको आधारमा रौतहट जिल्लाको सदरमुकाम गौरस्थित प्रादेशिक अस्पताल उत्कृष्ट भएको हो । स्वास्थ्य निर्देशनालयका निर्देशक सरोजचन्द्र न्यौपानेले तीन दिने वार्षिक समीक्षा गोष्ठीको समापन समारोहमा गौर अस्पताल उत्कृष्ट भएको घोषणा गरे।
प्रादेशिक अस्पताल गौर मूल्यांकनको आधारमा कुल ९१ प्रतिशत नम्बर ल्याएर मधेश प्रदेश को ७ वटा प्रादेशिक अस्पतालमध्ये १ नम्बर हुन सफल भएको हो । यसअघि आर्थिक वर्ष २०८०।८१ मा पनि प्रादेशिक अस्पताल गौर प्रदेशको उत्कृष्ट घोषणा भएको थियो ।
आर्थिक वर्ष २०८१।८२ मा सम्पादित स्वास्थ्य कार्यक्रमहरुको प्रदेश स्तरीय तीन दिने वार्षिक समीक्षा गोष्ठीमा पर्सा बाहेकका जिल्लाको प्रादेशिक अस्पतालको वर्ष दिनको कार्यक्रमको समीक्षा गरिएको थियो ।
न्यूनतम् सेवा मापदण्ड कार्यान्वयन कार्यक्रम अन्तर्गत गौरले नियमित रुपमा कार्य सम्पादनमा अब्बल देखिएको छ । अस्पतालले दिइरहेको सेवा, डाक्टर स्वास्थ्य कर्मीको अवस्था, उनीहरूले बिरामीसँग गर्ने व्यवहार, भौतिक पूर्वाधारको अवस्था, एम्बुलेन्स, क्यान्टिन, बिरामीको बेड, अप्रेसन कक्ष, शौचालयको अवस्था, सरसफाइ, अस्पतालले बिरामीलाई दिने सुविधा लगायतको मूल्यांकन गरी छुट्टाछुट्टै नम्बर दिने गरेको छ ।
८० प्रतिशत अंक ल्याएको जलेश्वर अस्पताल दोश्रो र ७८ प्रतिशत अंक ल्याएर सिरहा तेश्रो भएको छ । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत रहेको प्रादेशिक अस्पताल जनकपुर भने ५० प्रतिशत अंक ल्याएर पुछारमा छन् ।
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले उत्कृष्ट भएका स्वास्थ्य संस्थाका मेडिकल सुप्रिटेन्डेन्टलाई सम्मान पत्रसहित दोसल्ला ओढाएर सम्मान गरे । यता पालिकातर्फ सर्लाही जिल्ला उत्कृष्ट भएको छ ।
१३६ पालिका रहेको मधेशमा शीर्ष पाँचमा सर्लाही जिल्लाको पालिका परेको छ । लालबन्दी नगरपालिकाले उत्कृष्ट स्वास्थ्य सम्बन्धी कार्यक्रम सञ्चालन गरेर प्रथम स्थान प्राप्त गरेको छ । लालबन्दी नगरपालिकाले ९९.०३ प्रतिशत अंक प्राप्त गरेर प्रथम भएको हो । दोश्रो हरिपुर नगरपालिका, तेश्रो विष्णुपुर गाउँपालिका, चौथो हरिवन नगरपालिका र पाँचौ बसबरिया गाउँपालिका भएको छ । स्वास्थ्य कार्यालयतर्फ पर्सा जिल्ला प्रथम, सर्लाही जिल्ला द्वितीय र महोत्तरी जिल्ला तृतीय स्थान प्राप्त गरेका छन् ।
त्यस्तै आयुर्वेदतर्फ पर्सा जिल्ला प्रथम, बारा द्वितीय तथा महोत्तरी तृतीय भएको छ । संस्थागत अस्पतालमा बर्दिबास अस्पताल प्रथम भएको जनाइएको छ । उत्कृष्ट गर्ने सबै स्वास्थ्य संस्थाहरुलाई पुरस्कृतसँगै दोसल्ला ओढाएर सम्मान पत्रसहित मुख्यमन्त्री यादवले सम्मान गरे । समापन कार्यक्रममा कार्य सम्पादनमा उत्कृष्ट गरेका स्वास्थ्यकर्मी, कर्मचारीहरुलाई पनि सम्मान गरिएको थियो ।