हुम्ला - स्वास्थ्य पहुँच अत्यन्त सीमित रहेको नेपालका दुर्गम क्षेत्रहरूमा ‘जीवन बचाउने आधारभूत सीप’ पुर्याउने लक्ष्यसहित हाप्सा नेपालले आफ्नो अभियानलाई देशभर तीव्र बनाउँदै आएको छ।
आकस्मिक अवस्थाहरू विशेष गरी कार्डियाकअरेस्टमा कसरी छिटो र प्रभावकारी प्रतिक्रिया दिने भन्ने ज्ञान र सीप अभावले धेरैले ज्यान गुमाइरहेकाले यो अभियान जनजीवनमा अत्यन्तै आवश्यक रहेको संस्थाले जनाएको छ।
हाप्सा नेपालका संस्थापक तथा ब्राउन विश्वविद्यालयका सह–प्राध्यापक तथा आकस्मिक चिकित्सक डा रामु खरेलका अनुसार हालसम्म देशका १५ जिल्लामा सीपीआर तालिम प्रदान भइसकेको छ। तीमध्ये कर्णाली प्रदेशको दुर्गम जिल्ला हुम्लामा पहिलो पटक सीपीआर, भिडियो एक्सरे तथा प्रि–हस्पिटल ट्रमा केयर सम्बन्धी विशेष तालिम सञ्चालन गरिएको छ।

डा. खरेलले भने, ‘कार्डियाक अरेस्ट जस्तो आकस्मिक अवस्था कहिले–कहाँ र कसलाई पर्छ भन्ने थाहा हुँदैन। केही समयअघि बुटवलमा बोल्दा बोल्दै एक जनाको मृत्यु भयो। यदि त्यस्तो अवस्थामा आसपासका मानिसलाई सीपीआरको ज्ञान भएको भए सम्भवतः उनको ज्यान बच्न सक्थ्यो। त्यसैले यो सीप सबै नेपालीले सिक्नै पर्ने अत्यावश्यक ज्ञान हो।’
हुम्लामा स्वास्थ्यकर्मीदेखि आम समुदायसम्मलाई सीप
हुम्लामा आयोजित तालिममा स्वास्थ्यकर्मी र गैर–स्वास्थ्यकर्मी दुवै समुदायलाई जीवन रक्षाका आधारभूत सीपहरू सिकाइएको छ। ग्रामीण क्षेत्रमा आपतकालीन स्वास्थ्य सेवा पहुँच कम भएकाले यस्तो सीपले ठूला दुर्घटनाहरूमा पनि तत्काल मद्दत पुर्याउन सक्ने डा खरेलको भनाइ छ।
‘हामीले प्रशिक्षण दिएको ठाउँहरूमा यसको प्रयोग पनि राम्रो भएको देखिएको छ। यो केवल सुरुवात मात्र हो। यदि सबैले सीपीआर सिके नेपालभर धेरैको जीवन बचाउन सकिन्छ।’ उनले भने।
सुरक्षा निकायदेखि स्थानीय तहसम्म सहकार्य
देशभरका नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीय तह र विभिन्न अस्पतालहरूसँग सहकार्य गरेर हाप्सा नेपालले नियमित रूपमा सीपीआर तालिम सञ्चालन गरिरहेको छ।

त्यस्तै, सामान्य देखिने तर ज्यान जोखिममा पार्न सक्ने घाँटीमा मासु वा हड्डी अड्किने समस्यामा कसरी छिटो राहत दिन सकिन्छ भन्ने सीप पनि प्रशिक्षण टोलीले बुझाउँदै आएको छ। डा खरेलले नेपालका सबैभन्दा दुर्गम बस्तीहरूमा स्वास्थ्य समानता सुनिश्चित गर्न निरन्तर प्रयास गरिरहेको हाप्सा नेपालको समर्पित टोलीप्रति आभार व्यक्त गर्दै भने, ‘यो जीवन–रक्षा यात्रा निरन्तर प्रयासको हो। समुदाय केन्द्रित काम मार्फत हामीले स्वास्थ्यमा देखिने असमानता घटाउन योगदान गरिरहेका छौँ।’
विद्यालय तहमै सीपीआर विषय समावेश गर्ने तयारी
हाप्सा नेपालले विद्यालय तहमै सीपीआर प्रशिक्षण र पाठ्यक्रम समावेश गर्ने उद्देश्यसहित शिक्षा मन्त्रालयसँग सहकार्य अघि बढाइरहेको छ। यसको सुरुवातदरबार हाइ स्कूलबाट गरिएको छ। डा खरेलले भने, ‘विद्यार्थी र शिक्षकले नै यो सीप सिके, हजारौ जीवन बचाउन सकिनेछ। आधारभूत जीवन रक्षा ज्ञान विद्यालय स्तरबाटै सुरु हुनु आवश्यक छ।’
काठमाडौँमहानगरसँग सहकार्यमा एइडी उपकरण काठमाडौंको अन्तर्राष्ट्रिय विमानस्थल र अर्को सार्वजनिक स्थलमा राख्ने तयारी भइरहेको डा खरेलले जानकारी दिए। यस्तो उपकरण उपलब्ध भएमा आकस्मिक अवस्थामा तत्काल प्रतिकृया दिन सकिने र धेरै नागरिकको जीवन बचाउन मद्दत पुग्ने उनले बताए।