सामान्य जिवाणु, विषाणु र ढुसीले स्वास्थ्य उपचारमा बढ्दो प्रतिरोध देखाइरहेका छन्। यसका फलस्वरूप सामान्य विरामीले पनि लामो समयसम्म उपचार गर्नुपर्ने, मृत्यु दर बढ्ने र स्वास्थ्य उपचार खर्च बढ्नेजस्ता चुनौतीहरू उत्पन्न भएका छन्। यस्ता विश्वव्यापी समस्याबारे जनचेतना जगाउन तथा राज्य र सरोकारवाला निकायलाई प्रतिजैविक प्रतिरोध न्यूनीकरणतर्फ प्रेरित गर्न विश्व स्वास्थ्य संगठन तथा अन्य संस्थाहरूको संयुक्त पहलमा हरेक वर्ष विशेष जनचेतना अभियान सञ्चालन हुँदै आएको छ। हरेक वर्षझैं यस वर्ष पनि नोभेम्बर १८–२४ सम्म प्रतिजैविक प्रतिरोध न्यूनीकरण अभियान सञ्चालन भइरहेको छ।
परिचय
विभिन्न संक्रामक रोगहरूको सफल उपचारका साथै शल्यचिकित्सा, क्यान्सर उपचार तथा संक्रमण व्यवस्थापनसहित धेरै आधुनिक चिकित्सकीय प्रक्रियामा एन्टिमाइक्रोबियल (प्रतिजैविक) औषधिको प्रयोग अत्यन्त प्रभावकारी छ। त्यसैले एन्टिमाइक्रोबियलको विकास र प्रयोगलाई बीसौँ शताब्दीको महान् चिकित्सकीय सफलता मानिन्छ।
एन्टिमाइक्रोबियल प्राकृतिक वा सिन्थेटिक रसायन तथा औषधिहरू हुन्, जसले रोग लगाउने ब्याक्टेरिया, भाइरस, फंगस तथा परजीबीलाई नष्ट गर्ने, निष्क्रिय पार्ने वा तिनीहरूको वृद्धि रोक्ने काम गर्छन्। प्याथोजनिक ब्याक्टेरियाद्वारा हुने रोगको उपचारका लागि सबैभन्दा महत्वपूर्ण र प्रभावकारी एन्टिमाइक्रोबियल एन्टिबायोटिक भएकाले यसको विश्वव्यापी प्रयोग व्यापक छ।
ऐतिहासिक पृष्ठभूमि
एन्टिमाइक्रोबियल खोजको इतिहास निकै पुरानो छ। इसापूर्व १५५० को एबर प्यापिरस मा औषधीय ढुसी लागेको रोटी र माटो प्रयोग गरिएको उल्लेख पाइन्छ, जसलाई आजसम्मको सबैभन्दा पुरानो चिकित्सा अभिलेख मानिन्छ। एन्टिमाइक्रोबियल क्रान्ति आउनुअघि पनि मानिसले हजारौँ वर्षदेखि संक्रामक रोगविरुद्ध ढुसी र व्याक्टेरियाको उपयोग गरेको विभिन्न प्रमाणहरू छन्।
१६४० मा जोन पार्किन्सनको थियाट्रन बोटानिकम मा ढुसीका विभिन्न प्रयोगबारे विस्तृत उल्लेख पाइन्छ। प्राचीन मिश्रवासीहरूले बियर उत्पादनमा व्याक्टेरिया उपयोग गरेको, साथै पुरातात्विक कंकालहरूमा टेट्रासाइक्लिनको अवशेष फेला परेपछि त्यतिबेलै एन्टिबायोटिक प्रयोग भएको स्पष्ट हुन्छ।
सत्रौँ शताब्दीमा एन्टोनी भ्यान लिउवेनहकले जिवाणु अध्ययन सुरु गरेपछि आधुनिक एन्टिमाइक्रोबियल खोजलाई नयाँ गति मिल्यो। रोबर्ट कोच र लुइस पाश्चरले रोग र ब्याक्टेरियाबीचको सम्बन्ध प्रमाणित गरेपछि उन्नाइसौँ शताब्दीमा वैज्ञानिक रूपमा एन्टिमाइक्रोबियल विकासको सुरुवात भयो।
‘पियोसाइनेज’लाई संक्रामक रोगको उपचारमा प्रयोग गरिएको पहिलो एन्टिबायोटिक मानिन्छ, जुन रुडोल्फ एमेरिच र ओस्कर लोले सन् १८९०–१९१० को बीचमा प्रयोगमा ल्याएका थिए। त्यसपछि पाउल एर्लिचको आर्सफेनेमिन, गेरहाल्ड डोमागकको सल्फोनामाइड तथा अन्ततः सन् १९२८ मा अलेक्जेन्डर फ्लेमिङले पत्ता लगाएको पेनिसिलिन एन्टिमाइक्रोबियल क्रान्तिको आधारशिला बने।
एन्टिमाइक्रोबियल रेसिस्टेन्सः सुस्त महामारी
एन्टिमाइक्रोबियल रेसिस्टेन्स भनेको पहिले प्रभावकारी रहेका औषधिले भविष्यमा संक्रमण रोक्न नसक्ने अवस्था हो। सूक्ष्मजीवहरू आनुवंशिक रूपमा परिवर्तन हुँदै प्रतिरोधी बन्ने भएकाले समयसँगै औषधिको प्रभावकारिता कमजोर बन्छ। कमजोर स्वास्थ्य प्रणाली भएका देशमा यसको असर झनै गम्भीर हुन्छ। विश्व स्वास्थ्य संगठनका अनुसार यो विश्वका प्रमुख जनस्वास्थ्य चुनौतिमध्ये एक हो।
वर्तमान अवस्था
हाल प्रतिवर्ष विश्वभर १०–१५ लाख मानिसको मृत्यु प्रतिजैविक प्रतिरोधका कारण प्रत्यक्ष रूपमा हुने गरेको छ, जुन एचआइभी–एड्स र मलेरियाबाट हुने संयुक्त मृत्युभन्दा पनि धेरै हो। एन्टिबायोटिक–प्रतिरोधी स्टेफाइलोकोकस औरियस ले मात्र वर्षेनी १ लाखभन्दा बढी मृत्यु गराउँछ।
नेपालमा पनि प्रतिरोध तीब्र रूपमा बढ्दै गएको छ। प्रचलित एन्टिबायोटिकहरूमा प्रतिरोध बढेकाले उच्चस्तरका बहुप्रतिजैविक औषधिको आवश्यकता बढेको छ। सुकुम्वासी बस्तीमा गरिएको अनुसन्धानले मानव–पशु–वातावरणबीच प्रतिरोधी जीनको प्रवाह देखाएपछि नेपालमा अदृश्य महामारीको जोखिम थप स्पष्ट भएको छ।
समस्या
- चिकित्सकको प्रेस्क्रिप्सनविना एन्टिबायोटिक सेवन गर्ने गलत बानी
- प्रयोगशाला परीक्षण बिना औषधि सिफारिस गर्ने प्रवृत्ति
- फार्मेसीबाट अनियमित रूपमा ‘ओभर द काउन्टर’ बिक्री
- पशुपालनमा अनियन्त्रित एन्टिमाइक्रोबियल प्रयोग
- कुखुरामा प्रतिबन्धित कोलिस्टिनको दुरुपयोग
- खाद्य पदार्थमा एन्टिमाइक्रोबियल अवशेषको उपस्थिति
- नियमन, अनुगमन र जनचेतनाको गम्भीर अभाव
यी सबैले प्रतिरोधी जीवाणुको तीव्र विकास गरेर साधारण संक्रमणलाई पनि घातक बनाउन सक्छ।
एन्टिमाइक्रोबियल दुरुपयोग र मौन महामारी
प्रतिजैविक औषधिको मनपरी प्रयोगले विगतका चिकित्सकीय उपलब्धिहरूलाई कमजोर बनाइरहेको छ। नेपालजस्ता देशमा स्वास्थ्य प्रणाली, निगरानी, शिक्षा र पूर्वाधार कमजोर भएकाले जोखिम अझै गहिरो छ। नयाँ एन्टिबायोटिक विकासको गति सुस्त हुँदा समस्या झनै जटिल बन्दै गएको छ।
मुख्य कारणहरू
- स्वास्थ्य सेवा पूर्वाधार कमजोर
- एन्टिबायोटिक अपूरो मात्रामा सेवन
- प्रेस्क्रिप्सनबिना औषधि उपलब्ध हुनु
- स्वास्थ्य संस्थामा संक्रमण नियन्त्रण प्रणाली कमजोर
- पशुपालन र कृषिमा अत्यधिक एन्टिबायोटिक प्रयोग
- प्रभावकारी निगरानी प्रणालीको अभाव
- गुणस्तरीय औषधिको पहुँच सीमित
- यसको असर स्वास्थ्य, अर्थतन्त्र र सामाजिक जीवन सबै क्षेत्रमा व्यापक रूपमा पर्न गएको छ।
- प्रतिजैविक प्रतिरोध नियन्त्रण अभियान
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय प्रतिजैविक प्रतिरोध नियन्त्रण कार्ययोजना लागू गरिरहेको छ। यद्यपि कार्यान्वयन सुचारु रूपमा अघि बढ्न चुनौतीपूर्ण छ। समाधानका केही मुख्य सुझावहरूः
जनचेतना अभिवृद्धि
– प्रेस्क्रिप्सन बिना औषधि सेवन रोक्न शिक्षा, सञ्चार र अभियान विस्तार गर्नुपर्छ।
स्वास्थ्य पूर्वाधार सुदृढीकरण
– समयमै निदान र उपचार गर्न पर्याप्त उपकरण, तालिम र नीतिगत कडाइ आवश्यक छ।
अनावश्यक एन्टिमाइक्रोबियल सिफारिस नियन्त्रण
– चिकित्सकलाई नीतिगत दायरामा ल्याएर प्रमाण–आधारित उपचार प्रवर्द्धन गर्नुपर्छ।
वन–हेल्थ दृष्टिकोण अपनाउने
– मानव–पशु–कृषि–वातावरण सबै क्षेत्रमा मानक निर्देशिका लागू गर्नुपर्छ।
निगरानी प्रणाली सुदृढ बनाउने
– संक्रमण नियन्त्रण, फोहोर व्यवस्थापन, नयाँ रोग पहिचान र अनुसन्धानमा लगानी बढाउन आवश्यक छ।
(अर्याल स्वास्थ्य प्रवर्द्धन विज्ञ अर्याल स्वास्थ्य निर्देशकबाट सेवा निवृत्त हुन्)