काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोपमा स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौडाका तत्कालीन निमित्त निर्देशक डा अर्जुन प्रसाद सापकोटा सहित ७ जना विरुद्ध मुद्दा दायर गरेको छ।
कोभिड १९ महामारीको समयमा स्वास्थ्य सामग्री खरिद प्रक्रियामा भ्रष्टाचार गरेको भन्दै उनीहरु विरुद्ध मुद्दा गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।
भ्रष्टाचार गरेको आरोपमा निमित्त निर्देशक डा सापकोटा सहित तत्कालीन लेखा अधिकृत राधा कृष्ण श्रेष्ठ, तत्कालीन फार्मेसी सुपरभाइजर राजेश्वर रंजितकार, तत्कालीन रेफ्रिजेरेटर टेक्निसियन रवीकुमार महतो र तत्कालीन बायोमेडिकल इन्जिनियर राजेश्वर कमली विरुद्ध मुद्दा दाय भएको हो।
यस्तै, प्रदेश लेखा नियन्त्रक कार्यालय हेटौडाका तत्कालीन लेखा अधिकृत नेत्र नर सिंह कार्की र आपूर्तिकर्ता जनमुक्ति हेल्थ इन्टरप्राइजेज तथा उक्त कम्पनीका प्रोपाइटर नवराज श्रेष्ठ रहेका छन्। उनीहरु विरुद्ध जनही ३१ लाख १७ हजार ८९ रुपैयाँ मागदाबी गरिएको छ। साथै भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १९ को उपदफा २ बमोजिमको सजाय हुने आयोगले जनाएको छ।
कोभिड १९ विरुद्ध आवश्यक व्यक्तिगत सुरक्षा सामग्रीहरुको व्यवस्थापनका लागि स्वास्थ्य सामग्री खरिद प्रक्रियामा खरिद नियमावली विपरित कम मूल्य कबोल गर्ने फर्मको नभई बढी मूल्य कबोल गर्ने फर्मको बोलपत्र स्वीकृत गरी भ्रष्टाचार गरेको आरोप पत्रमा उल्लेख गरिएको छ।