अछाम- अछाम जिल्ला अस्पताल सुदूरपश्चिम प्रदेशमै पहिलो भएको छ। २०८१/८२ को बार्षिक कार्यसम्पादन मुल्यांकनमा जिल्ला अस्पताल अछाम प्रदेशमै पहिलो भएको हो।
सुदूरपश्चिम प्रदेशको स्वास्थ्य तर्फको वार्षिक समीक्षा कार्यक्रममा प्रदेशका अस्पतालहरुको स्वास्थ्य सेवाहरुको सूचांकको मुल्यांकनमा अछाम जिल्ला अस्पताल प्रथम भएको स्वास्थ्य निर्देशनालय राजपुर डोटीले जानकारी दिएको छ।
एक आर्थिक वर्षभरी भएका कामकारबाही, स्वास्थ्य सेवा, रेकर्डिंग रिपोटिंग, प्रशासनिक तथा आर्थिक क्षेत्रमा भएको प्रगतीको आधारमा मुल्यांकन गरिएको थियो। सो मुल्यांकनका आधारमा अछाम जिल्ला अस्पताल प्रदेशमा प्रथम भएको स्वास्थ्य निर्देशक खगेन्द्र बमले बताए।
प्रदेशमै पहिलो भएको जिल्ला अस्पताल अछामलाई स्वास्थ्य निर्देशनालय दिपायल, डोटीले सम्मान गरेको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा कमलेश प्रसाद यादबले जानकारी दिए। टिमवर्कका कारण अस्पताले यो सफलता प्राप्त गरेकोमा खुशी व्यक्त गर्दे डा यादवले आगामी दिनमा समेत उत्कृष्ट कार्य गर्दै जाने प्रतिवद्धता व्यक्त गरे।
कार्यसम्पादन मुल्यांकनमा महाकाली प्रादेशिक अस्पताल दोश्रो र डोटी जिल्ला अस्पताल तेस्रो भएको छ।
यस्तै जनस्वास्थ्य तर्फ स्वास्थ्य कार्यालय डडेल्धुरा प्रथम भएको छ। स्वास्थ्य कार्यक्रमका सूचकाङ्कहरूको मूल्याङ्कनमा स्वास्थ्य कार्यालय डडेल्धुराले प्रथम स्थान हासिल गरेको हो।
सुदूरपश्चिम प्रदेश स्वास्थ्य कार्यालयहरूबाट आर्थिक वर्ष २०८१र८२ मा सम्पादित स्वास्थ्य कार्यक्रमका सूचकाङ्कहरूको मूल्याङ्कनमा उत्कृष्ट प्रगति हासिल गरेर स्वास्थ्य कार्यालय डडेल्धुरा प्रथम भएको हो।
प्रदेशमै पहिलो भएको स्वास्थ्य कार्यालय डडेल्धुरालाई स्वास्थ्य निर्देशनालय दिपायल, डोटीले सम्मान गरेको छ। एकीकृत वार्षिक स्वास्थ्य समीक्षा कार्यक्रममा स्वास्थ्य कार्यालय डोटी दोस्रो र स्वास्थ्य कार्यालय कैलाली तेस्रो भएको छ।