काठमाडौं- कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति डा. मंगल रावलले नेपाल चिकित्सक संघको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्।
संघको आगामी माघमा हुने नयाँ नेतृत्वको निर्वाचनमा अध्यक्ष पदका लागि डा रावलले औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेका हुन्।
डा रावलले उम्मेदवारी घोषणाको जानकारी दिँदै सामाजिक सञ्जालमा केही समयपछि भिडियो सन्देश समेत जारी गर्ने बताएका छन्।
डा. रावलले चिकित्सा पेशामा हासिल गरेका अनुभव र नेतृत्व क्षमताका आधारमा संघमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यसहित आफू अघि सरेको बताएका छन्।
'जुनसुकै विचारधारा, भूगोल वा पृष्ठभूमिबाट आएका भए पनि बिगतमा महत्वपूर्ण योगदान पुर्याएका र भविष्यमा अझ ठूलो भूमिका निर्वाह गर्न सक्ने सबै चिकित्सक साथीहरूलाई टिममा जोडिन आग्रह गर्दछु,' उनले भने।
उनका अनुसार चिकित्सक संघमा आवश्यक संरचनागत तथा नीतिगत परिवर्तन एउटै व्यक्तिको प्रयासले सम्भव छैन, त्यसका लागि साझा संकल्प र सामूहिक नेतृत्व आवश्यक छ।
आगामी निर्वाचनको तयारीक्रममा उनले नेपाल चिकित्सक संघको सदस्यता नलिएका सबै चिकित्सकहरूलाई आगामी मंसिर १३ भित्र अनिवार्य रूपमा सदस्यता लिनुपर्ने आवश्यकता औंल्याउँदै समयमै दर्ता प्रक्रियामा सहभागी हुन अनुरोध गरेका छन्।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एमबिबिएस, चिकित्सक विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट एमएस अर्थोपेडिक्स, बंगलादेशमा एओए फेलोशिप, त्रिभुवन विश्वविद्यालयबाट एमपीए, हार्वर्ड मेडिकल स्कूलको LIMSEA तथा एलएलबी अध्ययनरत डा. रावल कर्णाली क्षेत्रका सक्रिय अर्थोपेडिक चिकित्सक हुन्।