माननीय मन्त्रिज्यु मैले हजुरलाई माननीय भन्दा पनि हाल नेपालको स्वास्थ्य क्षेत्रको पिताको हैसियतले यो पत्र लेख्दैछु। हुन त हजुरको कार्यकाल स्वास्थ्य क्षेत्रमा स्वस्थतिर लम्कदै गरेको महशुस आम नागरिकले गरिरहेका छन्।
म सबैभन्दा पहिला नेपाली नागरिक, त्यसपछी एक स्वास्थ्यकर्मी अनी एक स्वास्थ्य व्यवस्थापक पनि........।समाचारमा आइरहने हजुरको प्रत्येक भनाईमा सबै नागरिकलाई स्वस्थ बनाउनुपर्छ अनि सबै नागरिकलाई स्वस्थ बनाउन सबै सामाजिक सुरक्षालाई एकीकृत गरेर सेवाको दायरा अझ फराकिलो बनाएर स्वास्थ्य बीमालाई थप सुदृढिकरण गर्नुपर्छ अझ आ.व. २०८२/०८३ नीति तथा कार्यक्रममा त स्वास्थ्य बीमालाई पुनर्संरचना गरि सबै नागरिक स्वास्थ्य सेवाबाट बञ्चित नहुने व्यवस्थापन गर्नुपर्छ भनेर योजना बनाउदै गर्दा ........
हाल स्वास्थ्य सेवाको ७० प्रतिशत सेवा उपलब्ध गराउने निजी तथा केहि टेरिटरी लेबलका अस्पतालहरुले गुणस्तरिय स्वास्थ्य स्वास्थ्य सेवाको नाममा बच्चा जन्मिन नपाउदै, ल्याक्टोजिन जस्ता खाद्य पदार्थ (अखाद्य) र एनआइसीयू/एसएनसीयूको बेडको पूर्व तयारी अनिवार्यता गराइएको छ। साथसाथै शल्याक्रियालाई पनि प्राथमिकतामा राखेको देखिन्छ।
च्याँच्याँ गर्दै जन्मिएको बच्चाले आफुलाई जन्म दिने आमाको मुखभन्दा पहिला अस्पतालको सानो चिटिक्क परेको बेड, अगाडि ल्याक्टोजिन, सुइ, कलरफुल क्यानुला, नशाबाट दिने आकस्मिक र अत्यावश्यक औषधि सहितको ट्रे देख्छ।विस्तारै अनेक गरेर ति सवै चिजहरु उसलाई भिराइन्छ, लगाइन्छ..... त्यसपछी उसको रोगसँग लड्ने क्षमता (इम्युनिटी) विस्तारै कम हुदै जान्छ। आमाको दुध तान्न चुस्न सक्दैन, ल्याक्टोजिनमा बानि पर्दै जान्छ अन्ततोगत्वा उ त्यो अस्पतालको नियमित ग्राहक बन्न पुग्छ।
यो सब ल्याक्टोजिन जस्ता उत्पादककको कमिशन, निजी अस्पतालको एनआइसीयू/एसएनसीयू र निरन्तर ग्राहक भएबापत हुने कमाई........वाहा स्वास्थ्यकर्मी, स्वास्थ्य पेशाविद र स्वास्थ्य व्यवसायीको मानवता समेत हराएको यो कुकर्ममा हजुर टुलुटुलु अस्पताल दर्ता र नवीकरण गरेर अनि भन्नु हुन्छ स्वास्थ्य क्षेत्रमा अझ ४० अर्ब भयो भने पनि पुग्दैन....... ।जब स्वस्थ जन्मेका अधिकांश (७० प्रतिशत) बच्चाहरु पलपल अस्वस्थ होस भनेर शुरुमै निमोठिन्छ (आमाबाट अलग्याएर उसलाई अस्वस्थ हुन बाध्य पारिन्छ) अनि त्यसपछि उसको अस्वस्थता जीवन्त हुन्छ......। अनि कसरी पुग्छ मन्त्रीज्यू यसरी विनियोजन गरेको बजेटले....................... घरको जगनै खत्तम भएपछि त्यसपछीका तलाहरु जतिनै खर्च गरेर दह्रो बनाउन खोजेपनि त्यो टिकाउ हुँदैन ढल्छ, ठ्याक्कै त्यही भएको छ हाल स्वास्थ्य क्षेत्रमा..........।
यी सब कुराहरु नियाल्दै गर्दा म कहिले ति गर्भवती जाँच गराइरहेका आमाहरुसँग पुग्छु त कहिले न्यूनतम सेवा मापदण्डको चेकलिस्ट बोकेर ति आमा र गर्भभित्र रहेका बच्चाहरुले लिने स्वास्थ्य सेवाको तयारी र उपलब्धता, कहिले अयाअया गरेर प्रसूति व्यथाले छटपटाईरहेका आमाहरुसँग त कहिले बच्चा जन्माएर बच्चा एकातिर आमा एकातिर पल्टाइएका कुरुवासँग भलाकुसारी त कहिले पटकपटक बच्चा बिरामी भएर अस्पतालमा भर्ना गरी उपचार गराइरहेका कुरुवा बुवाआमासँग आफु पनि आँखाभरी आसु पार्दै डुलिरहेको हुन्छु........। तर यति सबै विषय प्रत्यक्ष अनुभुत गर्दैगर्दा पनि म विवश छु.......म मात्र सक्छु रातभर ति सवै पात्रलाई झलझली याद गर्दै ननिदाउन......... त्यही भएर मैले हजुरलाई पटक पटक ९८५१०….६ मा फोन गरेँ किनकी हजुर त यसको पिता हुनुहुन्छ।देशको विभिन्न अवरोधका बावजुद पनि यसको केही हदसम्म व्यवस्थापन गर्नसक्नुहुन्छ भनेर.....तर पटकपटक फोनमा घण्टी बजिरह्यो तर उत्तरमा तपाईंले प्रयास गर्नुभएको फोन उठेन................... त्यसैले म निराश हुँदै तर केही सकारात्मक अपेक्षा बोकी यो खुला पत्र लेख्न प्रत्येक बच्चाका तिता, नमिठा वास्तविकताले मलाई बाध्य बनायो। सायद हजुरको स्थानमा म आफु हुन्थे भने मलाई यो बाध्यता हुन्नथियो होला।
सुरक्षित मातृत्वको नाममा स्वास्थ्य क्षेत्रमा सबैभन्दा बढी बजेट खर्च भएको देखिन्छ तर यो बजेट तथा कार्यक्रमले सुरक्षितलाई अगाडि “अ” थपेर असुरक्षित त बनाइरहेको छैन? के यसको अध्ययन जरुरी छैन?
बिचरा हाम्रा पुर्खाले समेत आमाको दुध अमृत समान हो भन्ने उखान र वैज्ञानिक अध्ययनले पनि जन्मिने वित्तिकै आमाको दुध खुवाइहाल्ने र निरन्तर ६ महिनासम्म आमाको दुधमात्र खाएको बच्चाको बिरामी दर र मृत्युदर ३३ प्रतिशतले कम हुन्छ भनेर देखाउँदै गर्दा साथै हजुरको संयन्त्रले नै निर्माण गरेको प्रोटोकलले समेत बच्चा जन्मिसकेपछि नाभी काट्नुभन्दा पनि पहिला आमाको छातिमा टाँस है, स्तनपान गराउ है अनि जति छिटो स्तनपान गरायो त्यति नै त्यो बच्चाले आमाको दुध तान्ने क्षमता बढी हुन्छ अनि उ स्वस्थ हुन्छ तर जति ढिला भयो त्यति नै त्यो बच्चाले दुध चुस्न, तान्न सक्दैन त्यसैले बच्चालाई स्वास्थ बनाउनु छ भने छ महिनासम्म आमाको दुधमात्र खुवाउ त्यो बच्चा आफैँ स्वास्थ हुन्छ।
त्यही बच्चा नै हो ठुलो हुने हजुर पनि त्यही बच्चा हो तर सायदै हजुरले जन्मिनेबित्तिकै आमाबाट अलग्गिएर ल्याक्टोजिन र एनआइसीयू/एसएनसीयूको अनुभुती गर्न पाउनु भएन होला र हजुर आज यहाँ अनि यो पदमा हुनुहुन्छ........।
आर्थिक वर्ष २०८२/०८३को बजेट तथा कार्यक्रमको योजना तथा तयारीको अन्तिम अन्तिम चरण हुँदै गर्दा हजुरको ध्यान यसो यतातिर गयो भने अब जन्मिने पुस्ता स्वस्थ भएर बाच्न सक्ने थिए भन्ने सानो अनी झिनो आशा अनि अपेक्षा सहित म आफैँलाई ढुक्क बनाउन यो पत्र हजुरलाई पस्किएँ। धन्यवाद....।
लेखकः मिलन घिमिरे, स्वास्थ्य कार्यालय मोरङ्ग, जनस्वास्थ्यविद्