डा मोहनचन्द्र रेग्मीले निजामति अस्पतालको कार्यकारी निर्देशको भूमिका निर्वाह गरेको झन्डै एक महिना बितेको छ। करिब डेढ वर्षदेखि अस्पतालबाट सेवा दिइरहेका उनले अस्पताल प्रमुख भएपछि त्यहाँ देखेका समस्या, त्यसको सम्बोधनका उपाय र उनका भावी कार्यायोजनाका विषयमा गरिएको संवाद् :
अस्पताल प्रमुखको जिम्मेवारी सम्हालिएको झन्डै एक महिना हुन लागेको छ । कस्तो अनुभव गरिरहनुभएको छ?
नेपालकै ठूलो उडान क्षेत्र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल नजिकै र सहरको मध्येभागमा रहेको यो अस्पताल उपचारका लागि धेरैले खोजी गर्ने अस्पताल हो। स्थापनाको १६/१७ वर्ष मात्रै भएकोले अस्पताललाई धेरै पुरानो भन्न मिल्दैन। सबै प्रकारका सेवा छन्। कतिपय सेवाका लागि यसले बेञ्चमार्क समेत सेट गरेको छ। जस्तो हेमाटोलोज/अंकोलोजीका केही सेवाहरु, जस्तै बोनम्यारो ट्रान्सप्लान्ट, रेडियोलोजी, का लागि उत्कृष्ट मानिएको छ ।
मैले यसको नेतृत्व लिन रुचि दर्शाउनुको कारण निजामती अस्पताललाई सरकारले उच्चतम् विशिष्टिकृत संस्थाको रुपमा विकास गर्ने योजना बनाइरहेको छ। यसरी भन्नुपर्दाे मैले अस्पतालको नेतृत्व समाल्दादेखि आजसम्मलाई सुखद् रुपमा नै लिएको छु।
अस्पतालको विकासका लागि तपाईंका अल्पकालीन तथा दीर्घकालीन के-कस्ता योजना बनाउनुभएको छ ?
मेरो पहिलो प्राथमिकता सेवामा सहजता प्रदान गर्नु हो । यो अस्पताल निजामती कर्मचारीका लागि बनेको अस्पताल हो, उहाँहरुले सहज रुपमा सेवा पाउने र आमजनले पनि सहज रुपमा सेवा पाउने व्यवस्था मिलाउने हो ।
साना-साना कुरामा सुधारका कुराहरु छन्। त्यसका लागि पहल थालिसकेका छौं।अनलाइन ओपिडी प्रणाली, ल्याब सेवामा सेवाग्राहीलाई सहज हुने हिसाबले काम भइसकेका छन्।
नेपाल सरकारका नियमनकारी निकायहरुले बनाएका नियम कानुनको क्षेत्राधिकारभित्र रहेर अस्पतालको आन्तरिक प्रशासनलाई थप बलियो बनाउनेमा पनि मेरो ध्यान केन्द्रित रहन्छ।
भविष्यमा यसलाई निजामती सेवा स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुप दिएर अति विशिष्टिकृत अस्पतालको रुपमा यसलाई एकेडेमिक प्रतिष्ठानको रुपमा विकास गर्न सकिने देखेको छु। अस्पतालको विकासका लागि यी ३ साता भित्र नै धेरै प्रकारका पहल समेत गरिसकेको छु।
स्वास्थ्य सेवामा गुणस्तरीयता तथा सुधारका लागि के-कस्ता योजना बनाउनुभएको छ ?
निजामती अस्पतालमा दैनिक १ हजारदेखि १२ सय बिरामी परीक्षणका लागि आउने गर्छन्। कतिपय अवस्थामा बिरामीले बिहानदेखी कुरेर बस्दा पनि सेवा नपाउने स्थिति छ।
अस्पतालमाथि भरोसा गरेर आएका बिरामीहरुलाई सेवा दिनका लागि विस्तारित अस्पताल सेवामार्फत् बिरामीलाई बाहिर जान नपर्ने अवस्था बनाउने कार्यमा लागिरहेको छु।
यहाँ एमआरआई, सिटी स्क्यान, जिन स्क्विन्सिङ लगायतका अत्याधुनिक सेवाहरु रहेका छन्। यहाँका कतिपय प्रविधि नेपालमा अन्य अस्पतालमा छैन । हालसम्म नेपालबाट परीक्षणका लागि बाहिर पठाउनुपर्ने अवस्था रहेको जेनेटिक ल्याब सेवाको सुरुवात निजामती अस्पतालमा गरिदैछ।
अस्पतालमा शल्यक्रियाका लागि लामो समयसम्म कुर्नुपर्ने अवस्था छ। शल्यक्रियाका लागि ८ /९ महिनासम्म कुर्नुपर्ने अवस्थाको अन्त्यका लागि पुरानो शल्यक्रिया कक्षलाई मर्मत सम्भार चाँडै नै सञ्चालन गर्ने योजना बनाएको छु।
लामो समयदेखि चिकित्सक तथा अस्पतालमा कार्यरत जनशक्तिको माग सम्बोधन नभएको स्थिति छ । त्यसको सम्बोधनका लागि संगठनात्मक सर्वेक्षण थालनी गरिसकेको छु।

मेरो ४ वर्षे कार्य अवधिमा सबै काम सम्पन्न गर्न सम्भव नभएपनि एक प्रकारको प्लेटफर्म निर्माणको कार्य गर्नेछु। दीर्घकालीन योजनाका रुपमा अत्याधुनिक ५ तले भवन निर्माणका लागि पहल सुरु गरिसकेको छु।
चीनले निर्माण गरिदिएको ३ तले भवन रहेको छ। आगामी दिनमा नेपाली मापदण्ड अनुसारको बेसमेन्ट सहितको ८ तले भवन बनाइनेछ । जसमा हालसम्म चीन सरकारले पनि सहयोग गर्ने बताउँदै आएको छ।
यी सम्पुर्ण योजनाहरु पूरा गर्नका लागि आर्थिक व्यवस्थापन कसरी हुनसक्छ?
हाल अस्पतालमा रहेका मेसिन तथा उपकरणहरुलाई पूर्ण रुपमा प्रयोगमा ल्याउन सकेमा अस्पताललाई दिगोपना प्रदान गर्न सकिन्छ।
काठमाडौं अन्य सरकारी अस्पतालमा नभएका सेवाहरु प्रदान गर्नका लागि हामीले बिरामीहरुलाई समेत प्रारम्भिक रुपमा जानकारी दिइसकेका छौं।
विस्तारित सेवा थप गरेपछि मेसिन तथा उपकरणहरुलाई पुर्णरुपमा प्रयोग गर्न सकिन्छ।
संस्थालाई आर्थिक रुपमा सबल कसरी बनाउने भन्ने प्रश्न जायज हो। हामीले आन्तरिक खर्च आफैंले व्यहोर्नुपर्ने स्थिति छ। गुणस्तरीय सेवा सस्तो तथा सहज शुल्कमा प्रदान गर्नुपर्ने अवस्था छ।
विस्तारित सेवा विकास गर्न सकेमा चिकित्सक तथा स्वास्थ्यकर्मीले पनि अन्य निजी अस्पतालमा काम गर्नुपर्ने अवस्था हुँदैन। यसलाई आवासीय रुपमा अध्ययन/अध्यापन हुने केन्द्रको रुपमा विकास गर्न सके अनुसन्धानका कार्यसमेत अगाडि बढाउन सहज हुन्छ।
बोनम्यारो ट्रान्सप्लान्ट सेवा धेरै भन्दा धेरै बिरामीलाई दिनका लागि केही योजना बनाउनुभएको छ ?
बोनम्यारो ट्रान्सप्लान्ट सेवाका लागि लामो लाइन बस्नुपर्ने अवस्था छ। त्यसका लागि जनशक्ति व्यवस्थापन हुन नसक्दा लामो समयसम्म कुर्नुपरेको हो। त्यसका लागि डिएम हेमाटोलोजी उत्पादन भइरहेको छ। विगतमा केही पूर्वाधारको अभाव पनि थियो। हाल त्यो समस्या समाधान भइसकेको छ। त्यसका लागि आवश्यक कार्टिसेल थेरापीका कुराहरु पनि अगाडि बढिरहेको छ।
बोनम्यारो ट्रान्सप्लान्ट सेवाका हकमा चीन सरकारले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा पनि उक्त सेवा सुरु गरिसकेकोले लामो समय कुर्नुपर्ने अवस्थालाई यी दुई विकल्पहरुले कम गर्छ भन्ने लाग्छ।
निजामती अस्पतालमा पनि सल्लाह गरेर बोनम्यारो ट्रान्सप्लान्ट सेवा लिनका लागि कुर्नुपर्ने समय घटाउने प्रयासमा छौं । कार्टिसेल थेरापी विस्तारका लागि चीन सरकारले जवाफ पठाइसकेको छ। निश्चित समय निर्धारण नभएपनि यसका लागि छिटो भन्दा छिटो काम हुने गरी हामी लागिरहेका छौं।
अस्पताल प्रमुखका रुपमा यो बीचमा महशुस गरेका चुनौतीहरु के-के हुन्?
अझैपनि अस्पतालमा रहेका विशिष्टिकृत सेवाहरुलाई पूर्ण रुपमा सञ्चालनमा ल्याउन सकेको छैनौं। अझैपनि कतिपय सेवाका लागि बिरामीलाई अन्यत्र पठाउनुपर्ने अवस्था छ।
यहाँ कार्डियोलोजिष्ट भएपनि क्याथल्याब सञ्चालन हुन सकेको छैन । यद्यपि निजामती अस्पतालमा युवा जनशक्ति रहेका छन् । जसले थप आशा प्रदान गरेको छ । अस्पताल टिमको राम्रो साथ र सहयोग पाएको छु,त्यो मेरो लागि एक उर्जा पनि हो।
अस्पतालमा रहेका करार तथा अस्थायी कर्मचारीहरुको माग सम्बोधन कसरी गर्नुहुन्छ ?
धेरै जस्तो प्राविधिक क्षेत्रका साथीहरुले स्थायी गरिनुपर्न माग राख्दै आउनुभएको छ । अस्पताललाई उहाँहरुको खाँचो पनि छ । सेवा विस्तार गर्न सकेमा उहाँहरुको माग सम्बोधन पनि हुन्छ।
हाम्रो नियमावलीमा भएका प्रावधानहरुलाई सम्बोधन हुनेगरी उहाँहरु सबैलाई अस्पतालमा नै काम गर्ने वातावरण मिलाइनेछ । कतिपय १५,१६ वर्षदेखि नै अस्पतालमा काम गरिरहनुभएको छ, संरचनाको वैज्ञानिक प्रक्षेपण पश्चात् उहाँहरु सबैलाई एकमुष्ट रुपमा सम्बोधन गर्ने तयारी गरेको छु।
तपाईं अस्पताल निर्देशकका रुपमा रहँदा धेरैतिर सुधार हुने अपेक्षा गर्न सकिन्छ ?
सामाजिक संस्थाप्रति समाजमा रहेको संवेदनशीलता पुरा गर्नका लागि पनि यहाँ आइसकेपछि सेवामा सुधार गर्नेपर्छ।
ल्याब तथा अन्य सेवाका लागि आएका बिरामीहरु अस्पतालप्रति खुसी नै छन् । यद्यपि त्यसको पनि वैज्ञानिक मापन आवश्यक छ । जसका लागि मेडिकल अडिटको आवश्यकता छ।
निजामती अस्पतालको सेवा मलाई ठीक लागेपनि त्यो सूचांकले नै भन्ने स्थिति बन्नुपर्छ भन्ने मलाई लाग्छ । त्यसकारण मेडिकल अडिटलाई मैले कार्ययोजना कै रुपमा अगाडि बढाएको छु।
जसमा आन्तरिक मूल्यांकनका साथै बाहिरबाट आएका विज्ञहरुहरुले पनि गुणस्तरलाई मापन गरेर सुझाव दिने गर्छन् । त्यो अस्पताललाई अगाडि बढाउनका लागि आवश्यक पनि हुन्छ । त्यो प्रक्रियालाई अगाडि बढाइसकिएको छ।
निजामती अस्पतालमा इएचएस सेवाको सुरुवात कहिलेदेखि हुन्छ?
आगामी एक महिनाा भित्र नै इएचएस सेवा विस्तार हुन्छ। इचएसको निर्देशिकामा हाम्रा साथीहरुको आन्तरिक गुनासा थियो,त्यसको सम्बोधन प्रक्रिया अगाडि बढिसकेको छ, निष्कर्षको अन्तिम चरणमा छ, त्यसलाई समितीमा पठाएर प्रमाणिकरण गरेपछि इएचएस सेवा सुरु हुन्छ।