तपाईंले घर वा अफिसमा पक्कै एक कुरा ध्यान दिनु भएको होला- महिलाहरू र पुरुषहरूबीच सधैं एसीको तापक्रम कति राख्ने भन्ने विषयमा असहमति हुने गर्छ।
जहाँ पुरुषहरू तापक्रम घटाउन चाहन्छन्, त्यहाँ महिलाहरू भन्छन् 'पहिले नै धेरै चिसो छ।' उनीहरु तापक्रम बढाउन जोड दिन्छन्।
तर यस्तो बारम्बार किन हुन्छ?
के महिलाहरू पुरुषहरूको तुलनामा बढी चिसो महसुस गर्छन्?
के उनीहरूमा चिसो सहने क्षमता कम हुन्छ? वा यो केवल महसुस मात्र हो?
यस विषयमा धेरै अनुसन्धान भएका छन् जसले देखाउँछ कि महिलाहरू स्वभावतः पुरुषहरूभन्दा बढी चिसो महसुस गर्छन्।
साइन्स डाइरेक्ट र नेचर जस्ता प्रसिद्ध वैज्ञानिक पत्रिकामा प्रकाशित अध्ययनहरूले पनि यही नतिजा निकालेका छन्।
नेचर डटकममा प्रकाशित एक अनुसन्धान अनुसार, महिलाहरू त्यस्तो तापक्रममा सहज महसुस गर्छन्, जुन पुरुषहरूको लागि आरामदायक तापक्रमभन्दा झन्डै २.५ डिग्री सेल्सियस बढी हुन्छ। अर्थात् करिब २४ देखि २५ ग्री सेल्सियस।
के मेटाबोलिक रेट यसको कारण हो?
‘द कन्भरजेसन’ मा प्रकाशित एक रिपोर्टका अनुसार, महिलाहरूको मेटाबोलिक रेट पुरुषहरूको तुलनामा कम हुन्छ। जसका कारण चिसो मौसममा शरीरले गर्मी उत्पादन गर्ने क्षमता घट्छ।
रिपोर्टका अनुसार यही कारणले गर्दा तापक्रम घट्दा महिलाहरूले बढी चिसो महसुस गर्छन्।
साइन्स डाइरेक्ट डटकममा प्रकाशित एक अनुसन्धान पत्र अनुसार, पुरुषहरूको मेटाबोलिक रेट बढी हुन्छ। त्यसैले उनीहरूले सामान्यतया शरीरमा बढी गर्मी महसुस गर्छन् र तातो तापक्रममा कम आराम पाउँछन्।
इङ्ग्ल्यान्डको वारविक मेडिकल स्कूलका प्राध्यापक पल थर्नलेका अनुसार पुरुष र महिलाबीचको औसत मेटाबोलिक रेट र शरीरमा गर्मी उत्पादन गर्ने क्षमतामा भएको भिन्नताकै कारणले दुबैका लागि आरामदायक तापक्रम फरक हुन्छ।
मेटाबोलिक रेट भनेको के हो?
मेटाबोलिक रेट भनेको त्यो ऊर्जाको मात्रा हो जुन हाम्रो शरीरले निश्चित समयमा प्रयोग गर्छ। अपोलो ग्रुप अफ हस्पिटल्सका भिजिटिङ कन्सल्ट्यान्ट डा. बी. सुजीत कुमारका अनुसार, बेसल मेटाबोलिक रेट (BMR) भनेको त्यो ऊर्जा हो जसलाई हाम्रो शरीरले आरामको अवस्थामा रहँदा जीवनका आधारभूत कार्यहरू गर्न प्रयोग गर्छ।
उनका अनुसार, यो शरीरको ऊर्जा आवश्यकताहरू, पोषण र तौल नियन्त्रणका लागि अत्यन्तै महत्वपूर्ण हुन्छ।
हरेक व्यक्तिको मेटाबोलिक रेट फरक हुन्छ। यो जेनेटिक्स , मेटाबोलिज्म र जीवनशैली जस्ता कुराहरूमा निर्भर गर्छ। आरामको अवस्थामा बीएमआर कम हुन्छ, तर व्यायाम जस्ता गतिविधिहरू गर्दा यो दर बढ्छ।
आरामका समयमा शरीरले केवल आवश्यक अंगहरू (जस्तै मुटु, फोक्सो र मस्तिष्क)लाई सामान्य रूपमा काम गर्न ऊर्जा प्रयोग गर्छ।
मेटाबोलिक रेट तलका तीन तरिकाबाट नापिन्छ:
- अक्सिजनको खपत
- कार्बनडाइअक्साइडको उत्सर्जन
- गर्मी उत्पन्न दर
के हर्मोन पनि यसको लागि जिम्मेवार छन्?
द कन्भरजेसनमा प्रकाशित रिपोर्ट अनुसार, महिलामा पाइने एस्ट्रोजेन र प्रोजेस्टेरोन नामक हर्मोनहरूले शरीरको तापक्रम र छालाको तापक्रममा प्रभाव पार्छन्।
डा. सुजीत कुमारका अनुसार, जब शरीरमा एस्ट्रोजेनको स्तर बढ्छ, तब रगतका नलीहरू फराकिलो हुन्छन्, जसका कारण केही महिलाहरूलाई बढी चिसो महसुस हुन सक्छ।
त्यस्तै, प्रोजेस्टेरोन हर्मोनले छालामा रहेका रगतका नलीहरूलाई संकुचित (narrow) बनाउँछ। यसको अर्थ शरीरका बाहिरी भागहरूमा कम रगत पुग्छ र आन्तरिक अंगहरूमा गर्मी बढी रहन्छ, जसका कारण महिलाहरूलाई अझ बढी चिसो महसुस हुन्छ।
यो हर्मोनल सन्तुलन प्रत्येक महिनाको मासिक धर्म चक्र सँगै परिवर्तन हुँदै जान्छ। द कन्भरजेसनको रिपोर्ट अनुसार, यी हर्मोनहरूकै कारण महिलाहरूका हात, खुट्टा र कान पुरुषहरूको तुलनामा करिब तीन डिग्री सेल्सियसले बढी चिसा रहन्छन्।
ओभुलेसन अर्थात् अण्डाशयबाट अण्डा निस्कने प्रक्रियापछि करिब एक हप्तापछि प्रोजेस्टेरोनको स्तर बढ्छ। यस समयमा शरीरका मुख्य भागहरू (छाती र कमर बीचको भाग) को तापक्रम सामान्यभन्दा बढी रहन्छ।
डा. सुजीत कुमारका अनुसार, यसको अर्थ यो अवधि (समय) मा महिलाहरू बाहिरी तापक्रमबाट बढी प्रभावित हुन्छन्।
तर, मेनोपज पछि एस्ट्रोजेन र प्रोजेस्टेरोनको प्रभाव घट्दै जान्छ, जसका कारण हट फ्ल्यास अर्थात् अचानक गर्मी लाग्ने, पसिना आउने, र चिडचिडापन हुने लक्षणहरू बढी देखापर्छन्।
पुरुष र महिलाको शरीर संरचनामा भिन्नता
डा. सुजीत कुमारका अनुसार पुरुषहरूमा सामान्यतया मांसपेशी बढी र बोसो कम हुन्छ, त्यसैले उनीहरूको शरीरले बढी गर्मी उत्पादन गर्छ।
जब मांसपेशीको मात्रा बढी हुन्छ, तब बेसल मेटाबोलिक रेट पनि उच्च हुन्छ।
त्यस्तै, महिलाहरूमा सामान्यतया मांसपेशी कम र बोसो बढी हुन्छ, जसका कारण शरीरले कम गर्मी बनाउँछ र उनीहरूले बढी चिसो महसुस गर्छन्।
उनी भन्छन् कि शरीरको तापक्रम पुरुष र महिलामा फरक हुन्छ र बीएमआर मांसपेशीको मात्राको आधारमा निर्धारण हुन्छ।
के जनावरहरूमा पनि यस्तै हुन्छ?
डा. सुजीत कुमारका अनुसार, जनावरहरू दुई प्रकारका हुन्छन्, चिसो रगत भएका र तातो रगत भएका जनावर। उनी भन्छन्, 'सानो आकारका जनावरहरूको मेटाबोलिक रेट बढी हुन्छ, जबकि ठूला जनावरहरूको मेटाबोलिक रेट कम हुन्छ।'
तर यो पनि सत्य हो कि महिलाहरूलाई पुरुषहरूको तुलनामा किन बढी चिसो महसुस हुन्छ भन्ने विषयमा अझै पनि वैज्ञानिक अनुसन्धान सीमित छन्।
धेरै विज्ञहरूको मान्यता छ कि यो विषयमा अझ गहिरो अध्ययन आवश्यक छ। (बीबीसी हिन्दीबाट)