काठमाडौं- रक्षा क्यान्सर केयर सोसाईटिद्वारा 'स्तन क्यान्सर सम्बन्धि सरोकारवालाहरु सँग– चुनौति र समाधान' बिषयमा एक गहन अन्तर्क्रिया कार्यक्रम आयोजना गरिएको छ।
बहसमा नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रमुख जन स्वास्थ्य अधिकृत तथा समन्वय महाशाखा प्रमुख डा. भिम प्रसाद सापकोटा, नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा. अनिल बिक्रम कार्की, भक्तपुर क्यान्सर अस्पतालका पूर्व अध्यक्ष तथा नेपाल अर्बुद निवारण संस्थाका पूर्व अध्यक्ष दिवाकर राजकर्निकार, हिमालय टेलिभिजनका कार्यकारी अध्यक्ष श्याम कँडेल, स्तन क्यान्सर सर्भाइभर तथा वरिष्ठ गायिका तारा थापा, मिस नेपाल वर्ल्ड २०२५ लुना लुईटेल, र नेपाल क्यान्सर सर्भाइभर सोसाईटिका अध्यक्ष प्रमिता खनाल लगायतले आफ्नो धारणा राखेका थिए।
बहस क्यान्सरका बिरामीहरूको भोगाई र उनीहरूको उपचार तथा जीवनयापनलाई कसरी सहजीकरण गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित थियो। कार्यक्रमको प्रस्तोता तथा मध्यस्थता डा. जया सत्यालले गरेकी थिइन्।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कलाकार हरिबंश आचार्यले क्यान्सर जस्ता रोगको सचेतना फैलाउनमा कलाकारको मुख्य भूमिका रहने बताए। उनले आफूहरूले कुष्ठरोगबारे टेलिचलचित्र बनाउँदा थुप्रै बिरामी परीक्षणका लागि आएको र धेरैको निदान भएको स्मरण गराए।
रक्षा क्यान्सर केयर सोसाईटिकी अध्यक्ष डा. सृष्टि श्रेष्ठ प्रजापतिले सचेतना र नियमित परीक्षणले स्तन क्यान्सरलाई प्रारम्भिक चरणमै पत्ता लगाउन सकिने र पूर्ण रूपमा सही उपचार गरे निको हुन सक्ने बताइन्।
संस्थाका संस्थापक तथा संरक्षक क्यान्सर रोग विशेषज्ञ डा. रोशन प्रजापतिले स्तन क्यान्सर सम्बन्धि विस्तृत प्रस्तुति दिएका थिए।
उक्त कार्यक्रममा स्तन क्यान्सर सर्भाइभरहरू तथा विभिन्न संघ-संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।