काठमाडौं- लिखत सम्बन्धी कसुरमा संलग्न रहेको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरोले कान्तिपुर भेट डिष्ट्रिब्यूटर्स प्रा.लि. का सञ्चालक अध्यक्ष सुना सुवेदीलाई पक्राउ गरेको छ। सुवेदीले पशु सेवा विभागबाट जारी भएको सिफारिस पत्र किर्ते गरी नेपालमा दर्ता नभएका विभिन्न औषधिहरू आयात गरेको पाइएको छ।
केन्द्रीय अनुसन्धान ब्यूरो, लाजिम्पाटबाट खटिएको प्रहरी टोलीले शुक्रबार सुवेदीलाई काठमाडौं महानगरपालिका वडा नं. ३१, शंखमुलस्थित निवासबाट पक्राउ गरेको हो।
पशु सेवा विभाग अन्तर्गत आयात निर्यात सिफारिस, पशुजन्य उद्योग स्थापना तथा बिक्री वितरण अनुमति सम्बन्धी प्राविधिक समितिले कान्तिपुर भेट डिष्ट्रिब्यूटर्सलाई जारी गरेको पशुपन्क्षीको फिड सप्लिमेन्ट/प्रोवायोटिक्स/भिटामिन/मिनरल/टक्सिन वाइण्डर लगायतका सामग्री नियमानुसार भन्सार शुल्क लाग्ने गरी आयात गर्ने सिफारिस पत्रलाई सुवेदीले किर्ते गरेको ब्यूरोले जनाएको छ।
उक्त सिफारिस पत्र किर्ते गरी नेपालमा दर्ता नभएका Flocure 10%, Florlutin 45 %, Binodox, Levoflox BH, Piperazine लगायतका औषधिहरूको विवरण उल्लेख गरी विभिन्न भन्सार कार्यालयमा पेश गरेर ती औषधिहरू आयात गरिएको भेटिएको छ।
कान्तिपुर भेट डिष्ट्रिब्यूटर्स प्रा.लि. को बिरुद्ध लिखत सम्बन्धी कसुरमा मुद्दा दर्ता भई सम्मानित ललितपुर जिल्ला अदालतबाट पक्राउ अनुमति समेत लिई सुवेदीलाई पक्राउ गरिएको सूचना अधिकारी (प्रहरी वरिष्ठ उपरीक्षक) शिव कुमार श्रेष्ठले जानकारी दिए।
पक्राउ परेका सञ्चालक अध्यक्ष सुवेदीमाथि थप अनुसन्धान कार्य भइरहेको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ।