काठमाडौं- विभिन्न माग राखेर केही दिनदेखि मणिपाल मेडिकल कलेज पोखरामा कार्यरत नर्सहरु आन्दोलित छन्। उनीहरुले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पाँचौं तह बराबरको तलब सेवासुविधा माग गर्दै आन्दोलित भएका हुन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाँचौं तह बराबरको तलब सुविधा प्रदान गर्ने निजी संस्थाहरुलाई समेत गत वर्ष नै पत्र पठाएको थियो। सोहीअनुसार 'तहगत तलबमान' उनीहरुले माग गरेका हुन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वरिष्ठ पाँचौं तहका कर्मचारीका लागि सुरुवाती तलब ३४ हजार ७३० तलबमान तोकेको छ। त्यसैगरि वरिष्ठ पाँचौं तहका लागि सुरुवात तलब ३७ हजार ७४३ छ। नर्सहरुले सोही बराबर तलबसुविधा लागि आन्दोलन गरेका हुन्।
उनीहरुको निरन्तर प्रदर्शनपछि अस्पताल व्यवस्थापनले वार्ता गर्ने तयारी गरेको छ। तर, नर्सहरुले भनेजस्तै अहिले नै पाँचौं तहको तलब दिन नसकिने व्यवस्थापनको भनाइ छ।
के भन्छन् सञ्चालक ?
मणिपाल मेडिकल कलेजका सञ्चालक शान्तराज बतास देशकै निजी संस्थाहरुमा धेरै तलब दिनेमा आफ्नो संस्था अग्रणी रहेको बताउँछन्। श्रम ऐनले तोकेको न्युनतम तलब मापदण्ड पालना गरेको उनको भनाइ छ।
नर्सहरुले हाल सेवा प्रवेश गर्दा नै पाँचौंस्तर बराबर अर्थात् ३४ हजार बढी तलब दिन नसकिने उनले बताए। 'हामीले समयमै तलब दिइरहेका छौं । अरुको भन्दा धेरै दिइरहेका छौं । तर, सरकारले अनुरोध गरेको पाँचौं स्तरको तलब दिन अहिले नै सम्भव छैन,' उनले भने, 'त्यसको अर्थ त्यति नै मात्रै तलब दिइरहेका छौं भन्ने होइन । ३० वर्षदेखि काम गरिरहेका नर्सहरु हुनुहुन्छ। एक लाखसम्म तलब पाउने नर्सहरु पनि हुनुहुन्छ।'
उनले अस्पताल कर्मचारीका रुपमा नियुक्त नर्सहरुलाई अन्याय नगरेको बताए। यही बीचमा पनि कार्यरत नर्सहरुको तलब बढाइएको बताए। उनले भने, 'देशभरका कुनैपनि संस्थाले पाँचौं तह बराबर तलब दिएका छैनन्।'
आइतबार पनि व्यवस्थापन र नर्सहरुका प्रतिनिधि बीच वार्ता तय भएको आन्दोलनरत एक नर्सले बताइन्। नेपाल नर्सिङ संघका प्रतिनिधि समेत पोखरा पुगेका छन्। आइतबारको छलफल एउटा निष्कर्षमा पुग्ने अपेक्षा आन्दोलनरत नर्सहरुको छ।
आन्दोलित नर्सहरुमध्ये एकले भनिन्, 'कहीँ पाँचौं तह बराबर तलब नदिइएको भनेर मुद्दालाई पन्छाइँदैछ। हामी मणिपालबाट सुरुवात गराउने दबाबका लागि आन्दोलनमा उत्रेका छौं।'