रसुवा- नेपालका सर्वाधिक स्वयंसेवी शतक रक्तदाता एवं नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले आफ्नै पुरानो रेकर्ड तोड्दै १८४ औं पटकको रक्तदान गरेका छन्।
उनले रसुवाको कालिका गाउँपालिकामा आयोजित एक कार्यक्रममा शनिबार १८४ औं पटक रक्तदान गरेका हुन्।
नेपाल स्वयंसेवी रक्तदाता समाज रसुवा शाखा र कालिका हिमालय एस.एल.सी. २०५६ व्याज समूहले संयुक्तरुपमा आयोजना गरेको उक्त रक्तदान कार्यक्रममा कर्माचार्यसहित ८६ जनाले रक्तदान गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथि बाबुलाल तामाङ (नेरेसो रसुवा सभापति तथा नागरिक समाज रसुवा अध्यक्ष) ले सर्वाधिक स्वयंसेवी शतक रक्तदाता कर्माचार्यलाई दोसल्ला ओढाएर सम्मान-पत्र प्रदान गरी सार्वजनिक सम्मान गरेका थिए।
त्यसैगरी, कार्यक्रमका विशेष अतिथि एवं कालिका गाउँपालिका अध्यक्ष हरिकृष्ण देवकोटाले पनि गाउँपालिकाको तर्फबाट दोसल्ला ओढाएर सम्मान-पत्र प्रदान गरी सार्वजनिक सम्मान गरे।
कालिका हिमालय एस.एल.सी. २०५६ व्याज अध्यक्ष रामप्रसाद ढकाल र नेपाल स्वयंसेवी रक्तदाता समाज रसुवा जिल्ला शाखाका अध्यक्ष रामशरण गजुरेलको संयुक्त सभाध्यक्षतामा कार्यक्रम सञ्चालन भएको थियो। कार्यक्रममा प्रमुख जनस्वास्थ्य कार्यालय धुन्चे रसुवाका प्रमुख झमप्रसाद आचार्य अतिथि थिए।
रक्तदान गर्ने सबै स्वयंसेवी रक्तदाताहरूलाई कार्यक्रमका सम्मानित व्यक्ति प्रेमसागर कर्माचार्यले प्रशंसा-पत्र वितरण गरेका थिए।