काठमाडौं- बेलायतमा एक डाक्टरले अपरेशनको बीचमै बिरामीलाई छोडेर नर्ससँग शारीरिक सम्पर्क गरेको विषयमा 'मेडिकल प्य्राक्टिक्सनर्स ट्रिब्युनल सर्विस'को सुनुवाइ गरेको छ। सुनुवाइमा ती डाक्टर ‘पुनः त्यस्तो गम्भीर गल्ती गर्ने सम्भावना धेरै कम’ भएको मेडिकल ट्रिब्युनलले जनाएको छ।
पाकिस्तान मूलघर भएका ४४ वर्षीय डा. सुहैल अन्जुमलाई टेमसाइड अस्पतालमा एक सहकर्मीले नर्ससँग 'आपत्तिजनक अवस्थामा' फेला पारेका थिए। कन्सल्टेन्ट एनेस्थेटिस्ट अन्जुमले सामान्य एनेस्थेसिया दिइएका बिरामीलाई हेर्ने जिम्मा अर्का नर्सलाई लगाइदिएर बाथरुम जाने बताए।
तर १६ सेप्टेम्बर २०२३ मा, ग्रेटर म्यानचेस्टरको एस्टन-अन्डर-लिनस्थित अस्पतालको अर्को अपरेटिङ थिएटरमा गएर नर्स ‘सी’ सँग शारीरिक सम्पर्कमा लिप्त भएको पाइएको थियो।
एक नर्सले नर्स ‘सी’लाई 'उनको ट्राउजर घुँडासम्म झरेको र अन्डरवेयर देखिएको' अवस्थामा देखेको बयान दिइन्, त्यतिबेला डा. अन्जुम आफ्नो ट्राउजरको डोरी बाँधिरहेका थिए।
अन्जुम आठ मिनेटसम्म अपरेशन थिएटरमा अनुपस्थित रहे पनि बिरामीलाई कुनै क्षति भएन।
बिबाद सार्वजनिक भएपछि अस्पताल प्रशासनले आन्तरिक छानबिन गरी फेब्रुअरी २०२४ मा उनलाई बर्खास्त गर्यो। पछिल्लो हप्ताको 'मेडिकल प्य्राक्टिक्सनर्स ट्रिब्युनल सर्विस'को सुनुवाइमा अन्जुमले आफ्नो करियर पुनः सुरु गर्ने र परिवारसहित बेलायत फर्कन चाहेको बताएका थिए। हाल उनी पाकिस्तानमा डाक्टरका रूपमा काम गरिरहेका छन्।
सुनुवाइमा उनले भने, 'यो निकै लाजमर्दो थियो। म मात्र दोषी हुँ। मैले बिरामी, सहकर्मी र म माथि विश्वास गर्ने सबैलाई निराश पारेँ।'
सोमबारको फैसलामा ट्राइब्युनलले अन्जुमले आफ्नो व्यक्तिगत इच्छालाई बिरामी र सहकर्मीभन्दा माथि राखेको जनाएको छ। जसले उनको ध्यान बिरामीको उपचारमा पूर्ण रूपमा नलाग्ने सम्भावना बढाएको थियो।
ट्राइब्युनल प्रमुख रेबेका मिलरले भनिन्, 'बिरामीको सुरक्षामा प्रत्यक्ष असर नपरे पनि उनका कामहरू गम्भीर बदचलनमा पर्छन्।'
तर ट्राइब्युनलले अन्जुमले विगतको गल्ती दोहोर्याउने सम्भावना 'अत्यन्तै न्यून' रहेको ठहर गर्दै कुनै सजाय नगर्ने निर्णय गर्यो। पुनः बैठक बसेर उनको दर्तामा चेतावनी दिने–नदिने टुंगो लगाइने बताइएको छ।
अन्जुमले नर्स ‘सी’सँग शारीरिक सम्पर्कमा लिप्त भएको स्वीकार गरेका छन् र बिरामीलाई जोखिममा पार्ने सम्भावना आफैंले स्वीकार गरेका छन्।