काठमाडौं- जापानी वैज्ञानिकहरूले महिलाको डिम्बको गुणस्तर लामो समयसम्म जोगाउन मद्दत गर्ने नयाँ प्रोटिन पत्ता लगाएका छन्। ‘ओएमसीवान’ (OMC1) नाम दिइएको यो प्रोटिनले डिम्बभित्रका क्रोमोजोमलाई व्यवस्थित रूपमा जोडेर राख्न महत्त्वपूर्ण भूमिका खेल्ने अनुसन्धानमा पाइएको छ।
यो खोजले उमेर बढ्दै जाँदा महिलाको प्रजनन क्षमता किन घट्दै जान्छ भन्ने बुझ्न सहयोग गर्नुका साथै भविष्यमा प्रजननसम्बन्धी नयाँ उपचार विकास गर्ने सम्भावना देखाएको जापान टाइम्सले जनाएको छ।
चिबा विश्वविद्यालय, कुमामोटो विश्वविद्यालय र अनुसन्धान संस्था रिकेनका वैज्ञानिकहरूको नेतृत्वमा गरिएको यो अध्ययन बिहीबार वैज्ञानिक जर्नल ‘नेचर एजिङ’ मा प्रकाशित भएको हो।
अनुसन्धानकर्ताहरूका अनुसार ओएमसीवान प्रोटिनले महिलाको प्रजनन जीवनभर डिम्बभित्र रहेका क्रोमोजोमलाई आपसमा जोडेर राख्न मद्दत गर्छ। उमेर बढ्दै जाँदा यो प्रक्रिया कमजोर हुँदा क्रोमोजोम छुट्टिने क्रममा त्रुटि हुने सम्भावना बढ्छ। यसले गर्भधारणमा समस्या, गर्भपतन तथा डाउन सिन्ड्रोमजस्ता क्रोमोजोमसम्बन्धी समस्या भएका सन्तान जन्मिने जोखिम बढाउन सक्छ।
मानव शरीरका अधिकांश कोषिकाभन्दा डिम्बको विकास प्रक्रिया फरक हुन्छ। डिम्ब बन्ने प्रक्रिया महिलाको भ्रूण अवस्थामै सुरु हुन्छ। जन्मपछि ती डिम्ब निष्क्रिय अवस्थामा रहन्छन् र अण्डोत्सर्ग (ओभुलेसन) हुने समयसम्म दशकौँसम्म रहन सक्छन्।
यस अवधिमा ‘आरईसी८ कोहिसिन’ (REC8 cohesin) नामक प्रोटिन समूहले आणविक गोंदको काम गर्दै क्रोमोजोमलाई आपसमा जोडेर राख्छ। तर उमेर बढ्दै जाँदा यो जोडाइ कमजोर हुन्छ। त्यसले कोष विभाजनका क्रममा क्रोमोजोम छुट्टिने प्रक्रियामा त्रुटि निम्त्याउन सक्छ।
मुसामा गरिएको प्रयोगमा वैज्ञानिकहरूले ओएमसीवान प्रोटिनले आरईसी८ कोहिसिनको मात्रा घट्न नदिई क्रोमोजोमलाई सुरक्षित राख्न सहयोग गर्ने पत्ता लगाएका हुन्।
अनुसन्धानका क्रममा मुसाको शरीरबाट आनुवंशिक प्रविधिमार्फत ओएमसीवान प्रोटिन हटाउँदा कम उमेरका मुसाका डिम्बमै बढी उमेरका डिम्बमा देखिने खालका क्रोमोजोमसम्बन्धी असामान्यता देखिएको थियो। त्यस्ता डिम्बबाट निषेचन गराइएका भ्रूण सामान्य रूपमा विकास हुने सम्भावना पनि कम पाइएको थियो।
तर ओएमसीवानको कमी भएका डिम्बमा कृत्रिम रूपमा उक्त प्रोटिन पुनः उपलब्ध गराउँदा समयभन्दा अगाडि क्रोमोजोम छुट्टिने समस्या कम भएको अनुसन्धानकर्ताहरूले बताए।
अनुसन्धान टोलीले मानिसमा पाइने सीसीडीसी२०१ (CCDC201) नामक जिनमा हुने एक प्रकारको उत्परिवर्तनसँग मिल्दोजुल्दो आनुवंशिक परिवर्तनको पनि अध्ययन गरेको थियो। यसअघि भएका अनुसन्धानले उक्त जिनमा हुने उत्परिवर्तनलाई समयभन्दा अगाडि रजोनिवृत्ति (मेनोपज) हुने अवस्थासँग जोडेको थियो।
सन् २०२४ को एक अध्ययनअनुसार सीसीडीसी२०१ जिनको विशेष प्रकारको उत्परिवर्तनका दुईवटा प्रतिलिपि भएका महिलामा अन्य महिलाको तुलनामा करिब नौ वर्ष अगाडि नै रजोनिवृत्ति हुने पाइएको थियो।
अनुसन्धानको नेतृत्व गरेका चिबा विश्वविद्यालयको ग्राजुएट स्कुल अफ मेडिसिनका प्राध्यापक केइइचिरो इशिगुरोले यो खोजले उमेरसँगै डिम्बको गुणस्तरमा आउने ह्रास रोक्ने प्रविधि विकास गर्न भविष्यमा सहयोग पुग्न सक्ने बताए।