काठमाडौं- भारतमा पछिल्ला महिनामा खोकीको औषधि 'कफ सिरप'मा डायथाइलिन ग्लाइकोल (DEG) र इथिलिन ग्लाइकोल (EG) जस्ता विषाक्त रसायन भेटिएपछि त्यहाँ बालबालिकाको मृत्यु समेत भएको छ। भारतमा हरेक वर्षजस्तो कफ सिरपमा गम्भीर समस्याहरु भेटिन थालेको छ।
दुई वर्षअघि पनि भारतका कफ सिरपमा गम्भीर सम्स्या देखिएको थियो। जसका कारण ६६ जनाभन्दा बढी बालबालिकाको ज्यान गएको थियो। भारतका विभिन्न कम्पनीले उत्पादन गरेका कफ सिरपमा गम्भीर समस्या देखिएपछि यसले औषधि नियमन र गुणस्तर परीक्षण प्रणालीलाई पुनः मूल्यांकन गर्न बाध्य पारेको छ।
भारतबाट नेपालमा अधिकांस औषधिहरु आयात हुँदै आइरहेका छन्। भारतीय कम्पनीका कफ सिरप पनि नेपाली बजारमा आउने गरेका छन्। तर हालसम्म भारतमा गम्भीर समस्या फेला परेका कफ सिरप भने नेपालमा आएको छैन।
भारतका उत्पादनमा समस्या देखिएपछि नेपालमा जोखिमबाट बच्न कफ सिरप लगायतका औषधिको गुणस्तर सुनिश्चित गर्न प्रयोगशाला परीक्षणमा कडाइ गर्न सुरु गरिएको छ। दुई वर्ष अघि औषधि व्यवस्था विभागले कफ सिरफमा हुन सक्ने सम्भावित विषाक्त अशुद्धता विशेषत DEG र EG परीक्षण गर्ने व्यवस्था लागू गरेको छ।
विभागले मंगलबार पनि नयाँ सूचना जारी गर्दै प्रोपाइलेन ग्लाइकोल, पोलिथाइलिन ग्लाइकल, सरबाइटल, ग्लाइसेरोललगायतका रासायनिक पदार्थहरू प्रयोग गरिएका कफ सिरफ र अन्य औषधिहरूमा इथाइलिन ग्लाइकल र डायथाइलिन ग्लाइकल नामक हानिकारक तत्वको मात्रा परीक्षण गरी मात्र सुरक्षित रूपमा प्रयोग गर्नुपर्ने भन्दै उत्पादकहरुलाई समेत आग्रह गरेको छ।
यी रसायन कफ सिरप लगायत धेरै औषधिका सक्रिय तत्व (API) घोल्न प्रयोग हुने प्रोपाइलेन ग्लाइकोल मार्फत प्रवेश गर्न सक्ने भएकाले यसको गुणस्तर परीक्षण अत्यावश्यक मानिन्छ। भारतमा विषाक्त भेटिएका कफ सिरपमा डायथाइलिन ग्लाइकल नामक हानिकारक तत्वको मात्रा अत्याधिक पाइएको थियो। जसका कारण मिर्गौला फेल भएर बालबालिकाको ज्यान गएको थियो।
भारतका उत्पादनमा किन आइरहन्छ समस्या?
भारतमा केन्द्रिय परीक्षण भन्दा राज्यस्तरमा गुणस्तर परीक्षण र नियमनको काम हुँदै आइरहेको छ। जसका कारण केही राज्यमा पटक पटक गुणस्तरका विषयमा गम्भीर प्रश्न उठ्ने गरेको छ। राज्यस्तरका नियमन निकायले प्रभावकारी रुपमा काम नगरेको र उत्पादक समेत औषधिको गुणस्तरमा गम्भीर नभएका कारण भारतका केही उत्पादनहरुमा समस्या आइरहेको भारतीय नियमनकारी निकायले बताउँदै आइरहेका छन्।
भारतमा कफ सिरपसँग जोडिएका समस्या मुख्य रूपमा विषाक्त पदार्थहरूको मिसावटबाट आएको देखिन्छ। जसले विशेष गरी बच्चाहरूको मृत्यु निम्त्याएको छ। यो समस्या २०२२ देखि नै बढ्दै गएको छ र २०२३-२०२५ सम्ममा धेरै घटनाहरू भएका छन्। मुख्य कारणहरू:विषाक्त रसायनहरूको प्रयोग: कफ सिरप बनाउने क्रममा सोल्भेन्ट (solvent) को रूपमा प्रोपाइलेन ग्लाइकोलको सट्टा सस्तो औद्योगिक रसायनहरू जस्तै डायथाइलिन ग्लाइकोल (DEG) र इथाइलीन ग्लाइकोल (EG) मिसाउँदा समस्या आइरहेको भारतीय सञ्चारमाध्यमले लेखेका छन्।
यसका साथै भारतमा नियमनको कमीका कारण पनि पटक पटक समस्या दोहोरिएको भारतीय सञ्चारमाध्यममले लेखेका छन्। 'भारत विश्वको तेस्रो ठूलो औषधि निर्यातक हो, तर गुणस्तर नियन्त्रण कमजोर छ। साना कम्पनीहरूले परीक्षण नगरी उत्पादन बेच्छन्। २०२३ मा सरकारले निर्यात सिरपहरूको अनिवार्य परीक्षण लागू गर्यो, तर आन्तरिक बजारमा अझै समस्या छ,' भारतीय सञ्चारमाध्यमले लेखेको समाचारमा उल्लेख छ।
नेपाली उत्पादनको अवस्था के छ?
भारतीय कफ सिरपमा समस्या आइरहेको समयमा नेपाली उत्पादनको अवस्था के छ? भन्ने जिज्ञासा पनि धेरैले गर्दै आइरहेका छन्। स्वास्थ्यखबरले यही जिज्ञासा औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाललाई राखेको छ।
महानिर्देशक ढकालले भारतमा जस्तो कफ सिरपमा विषाक्त रसायनहरु नेपाली उत्पादनमा हालसमम्म नभेटिएको जानकारी दिए। उनले नेपालले गुणस्तरका विषयमा कडा व्यवस्था गरेको र औषधिको कच्चा पदार्थदेखि अन्तिम उत्पादन र बजार पठाउने समयसम्म प्रयोगशाला परीक्षण अनिवार्य गरेका कारण नेपाली उत्पादनको गुणस्तरमा भारतमा जस्तो समस्या नआएको बताए।
'नेपालमा अहिले सबै तरल औषधि निर्माण गर्ने उद्योगलाई अनिवार्य रूपमा प्रोपाइलेन ग्लाइकोल, पोलिथाइलिन ग्लाइकल, सरबाइटल, ग्लाइसेरोलमा इथाइलिन ग्लाइकल र डायथाइलिन ग्लाइकल परीक्षण गर्न निर्देशन दिइएको छ,' उनले भने, 'परीक्षणमा यी हानिकारक तत्व छैन भन्ने देखिएपछि मात्र उत्पादन र बिक्री गर्न पाइन्छ। नेपाली उत्पादनले अहिलेसम्म त्यही अनुसार काम गरिरहेका छन्।'
औषधि उत्पादक संघका महासचिव सन्तोष बरालका अनुसार हाल नेपालका धेरै औषधि कम्पनीहरूले प्रोपाइलेन ग्लाइकोल, पोलिथाइलिन ग्लाइकल, सरबाइटल जस्ता तत्वको प्रत्येक खेप र प्रत्येक ड्रमको परीक्षण गर्ने अभ्यास अपनाएका छन्। नेपालका औषधि उद्योगहरूले अहिले आफ्नै स्तरमा र निजी प्रयोगशालामार्फत यस्ता परीक्षणहरू गर्दै आएका छन्।
'औषधि बनाउन प्रयोग गरिने कच्चा पदार्थदेखि उत्पादित औषधि बजारमा पठाउने समयसम्म उत्पादकले विभिन्न चरणमा गरेर कम्तीमा चार पटक त प्रयोगशाला परीक्षण गरेर गुणस्तर यकिन गर्ने गर्छन्,' उनले भने, 'कफ सिरपको हकमा अहिले डिइजी र इजी परीक्षण अनिवार्य जस्तै बनेको छ। यसले बजारमा आउने तरल औषधिको गुणस्तरमा धेरै सुधार ल्याएको छ।'
बरालका अनुसार नेपालका उद्योगहरूले विश्व स्वास्थ्य संगठनको कुशल उत्पादन अभ्यास (जिएमपी) मापदण्ड अनुसार नै औषधि उत्पादन गरिरहेका छन्। तर प्रयोगशालागत क्षमता र उपकरणमा लगानी बढाउन सरकारले अझै सहुलियत दिनुपर्ने अवस्था भने रहेको छ।
औषधि व्यवस्था विभागले बजारमा रहेका सबै कफ सिरप र अन्य लिक्विड ओरल उत्पादनहरूको ब्याच परीक्षण कडाइ गरेको दाबी गरेको छ। हालसम्म नेपालमा बजारमा बिक्री भइरहेका कफ सिरपहरूमा विषाक्त पदार्थ भेटिएको रिपोर्ट भने आएको छैन।
महानिर्देशक ढकालले भने, 'भारतमा देखिएका घटनाबाट हामी सतर्क भएका छौं। नेपालमा आयात र स्वदेशी उत्पादन दुवै क्षेत्रमा निगरानी बढाइएको छ।'