काठमाडौं- औषधि व्यवस्था विभागले हाल भारतमा उत्पादित 'कफ सिरप'को सेवनका कारण बालबालिकाको मृत्यु भएको घटनापछि यसको सुरक्षितता र प्रयोगका विषयमा सार्वजनिक सूचना जारी गरेको छ।
भारतको स्रेसन फर्मा कम्पनीद्वारा उत्पादन गरिएको 'कोल्ड्रिफ' सेवनपछि भारतमा १८ जना बालबालिकाको मृत्यु भएको छ। विभागले उक्त कम्पनीका साथै अन्य समान उत्पादकहरूले प्रयोग गर्ने रासायनिक पदार्थहरूबारे समेत सावधानी अपनाउन निर्देशन दिएको छ।
विभागले प्रोपाइलेन ग्लाइकोल, पोलिथाइलिन ग्लाइकल, सरबाइटल, ग्लाइसेरोललगायतका रासायनिक पदार्थहरू प्रयोग गरिएका कफ सिरफ र अन्य औषधिहरूमा इथाइलिन ग्लाइकल र डायथाइलिन ग्लाइकल नामक हानिकारक तत्वको मात्रा परीक्षण गरी मात्र सुरक्षित रूपमा प्रयोग गर्नुपर्ने भन्दै उत्पादकहरुलाई समेत आग्रह गरेको छ।
विभागले २०८२ असोज १९ गते एक सूचना जारी गर्दै यी रासायनिक पदार्थहरूको गुणस्तर परीक्षण र प्रमाणिकरण नगरी औषधि उत्पादन, आयात र वितरण नगर्न निर्देशन दिएको थियो।
सूचनामा औषधि उत्पादकहरूले केवल स्वीकृत आपूर्तिकर्ताबाट कच्चा पदार्थ खरिद गर्नुपर्ने बताइएको छ। भनिएको छ, 'कफ सिरफमा प्रयोग गरिने रासायनिक तत्वहरूको गुणस्तर परीक्षण अनिवार्य हुनेछ।'
फार्मेसीहरूलाई विभागमा दर्ता नभएका औषधि बिक्री वितरण नगर्न निर्देशन दिइएको छ।
चिकित्सकहरूलाई पनि विभागमा दर्ता नभएका औषधि बालबालिकालाई प्रेस्क्राइब नगर्न चेतावनी दिइएको छ।
त्यसैगरी अभिभावकहरूलाई पनि चिकित्सकको सल्लाहबिना कुनै पनि कफ सिरफ बालबालिकामा प्रयोग नगर्न अनुरोध गरिएको छ।
विभागले बालबालिकाको स्वास्थ्य र सुरक्षालाई ध्यानमा राख्दै यस्तो चेतावनी जारी गरेको जनाएको छ। साथै, जनस्वास्थ्यमा हानि पुर्याउने कुनै पनि औषधि वितरण र प्रयोग रोक्न सबै निकायलाई सतर्क रहन आग्रह गरेको छ।
यस्ता छन् निर्देशन र अनुरोध
१. औषधि उत्पादकका लागि :
• कच्चा पदार्थ खरिद गर्दा आधिकारिक आपूर्तिकर्ता (Approved Vendor ) हरुबाट फर्माकोपियल स्तरको मात्र खरिद गर्नुहुन।
उल्लेखित कच्चा पदार्थ तथा सो समिश्रित झोल बनावटको औषधिको निर्धारित विधि वमोजिम Ethylene Glycol र Diethylene Glycol को परीक्षण गरे पश्चात मात्र उत्पादन तथा विक्री वितरण गर्नुहुन
२. औषधि आयातकर्ताका लागि :
• नेपालमा आयात हुने उल्लेखित कच्चा पदार्थ मिश्रित झोल बनावटको औषधिको प्रत्येक व्याचको Ethylene Glycol Diethylene Glycol मिसावट नभएको सुनिश्चित गरे पश्चात मात्र आयात तथा विक्री वितरण गर्नुहुन
३. फार्मेसीहरूका लागि :
• विभागमा दर्ता भएका औषधिहरु मात्र विक्री वितरण गर्नुहुन
४. चिकित्सकहरुका लागि :
• विभागमा दर्ता भएका औषधिहरु मात्र prescribe गर्नुहुन
• दुई वर्ष वा सो भन्दा कम उमेरका बालबालिकाहरुलाई खोकीको औषधि सिफारिस गर्दा वैज्ञानिक प्रमाणको आधारमा मात्र सिफारिस गर्न गराउनु हुन
५. सर्वसाधारणका लागि :
• बालबालिकाका लागि प्रयोग गरिने कुनै पनि औषधि चिकित्सकको सल्लाह बमोजिम मात्र प्रयोग गर्नुहुन विभागमा दर्ता भएका औषधिहरु मात्र प्रयोग गर्नुहुन
• औषधिको लेबलमा उल्लेखित जानकारी वमोजिम मात्र प्रयोग गर्नुहुन।
