काठमाडौं- जेन-जी युवाहरूले प्रधानमन्त्री सुशीला कार्कीलाई जस्तै मन्त्रीहरू पनि डिस्कोर्ड (Discord) जस्ता सामाजिक प्लेटफर्मको प्रयोग गरी खुला र पारदर्शी मतदानबाट छान्ने भएका छन्।
यो प्रक्रियामा मन्त्रीका लागि योग्य उम्मेदवारहरूको नाम सर्वसाधारणबाटै प्रस्ताव गरिनेछ। यसरी आएका नामहरूलाई उनीहरूको पृष्ठभूमि, विज्ञता, र राजनीतिक संलग्नताका आधारमा जाँच गरिनेछ । जेन-जीको मापदण्डअनुसार उम्मेदवारहरू कुनै पनि पार्टीसँग आबद्ध नभएको, उच्च छवि भएको र जनताको समस्या समाधान गर्न सक्ने हुनुपर्छ ।
जेन-जी आन्दोलनका अगुवा सुदन गुरुङका अनुसार यी मापदण्ड पूरा गर्ने उम्मेदवारहरूलाई अनलाइन भोटिङका लागि प्रस्ताव गरिनेछ। भोटिङमा सबैभन्दा बढी मत पाउने व्यक्ति नै सम्बन्धित मन्त्रालयको जिम्मेवारी पाउनेछ।
यो प्रक्रियामा यदि स्वास्थ्य मन्त्रीका लागि पाँच जना उम्मेदवारहरू छनोट भए भने, तीमध्ये जसले सबैभन्दा बढी भोट पाउँछन्, उही स्वास्थ्य मन्त्री बन्नेछन्।
स्वास्थ्य मन्त्रीसहित यी नामहरू चर्चामा
नयाँ सरकारमा मन्त्री बन्ने सम्भावित व्यक्तिको सूचीमा केही परिचित नामहरू पनि चर्चामा छन्। स्वास्थ्यमा पनि विभिन्न व्यक्तिहरुको नाम अहिले चर्चामा आइरहेको छ। चर्चामा आएका नामहरुमा डा सन्दुक रुइत, डा अर्जुन कार्की, डा जगदिशप्रसाद अग्रवाल, डा गोविन्द केसी, डा गोविन्द केसी, डा भगवान कोइराला, डा भोला रिजाल लगायत रहेका छन्।
तर जेजी युवाहरुले स्वास्थ्यमा चिकित्सा तथा जनस्वास्थ्य क्षेत्रमा काम गरिरहेका तर युवा उमेरका सक्षम व्यक्तिलाई मन्त्री बनाउन चाहिरहेका छन्। उनीहरुले मन्त्रीका लागि कुनै पनि राजनीतिक दलमा नलागेका, ५० वर्षभन्दा कम उमेर भएको, स्वास्थ्य क्षेत्रका विषयमा बुझेको र काम गर्न सक्ने आँट भएका व्यक्तिको खोजी गरेका छन्।
प्रधानमन्त्रीको प्रतिबद्धता
हालै मात्र शपथ लिएकी प्रधानमन्त्री सुशीला कार्कीले जेन-जी युवाहरूको भावनाअनुसार नै मन्त्रिपरिषद् गठन गर्ने र उनीहरूलाई निराश नबनाउने प्रतिबद्धता जनाएकी छिन्। कार्कीले जेन-जी प्रतिनिधिहरूसँगको छलफलमा भनिन्, 'युवाहरूले देश चलाउने गरी म देश बनाउँछु।'
उनले मन्त्रिपरिषद् गठनपछि मात्रै पदभार ग्रहण गर्ने योजना बनाएकी छिन्। यसअघि उनले आन्दोलनका घाइतेहरूलाई भेटेर उनीहरूको कुरा सुन्नुका साथै आन्दोलनमा क्षति भएको महाराजगन्ज प्रहरी वृत्तको निरीक्षण पनि गरिसकेकी छिन्।