पछिल्लो समय देशका विभिन्न भागमा, मूलतः ग्रामीण भेगमा, विभिन्न संघसंस्थाको आयोजनामा स्वास्थ्य शिविर (हेल्थ क्याम्प) गर्ने प्रचलन बढ्दो छ। एकजना चिकित्सकको नाताले मैले पनि यस्ता शिविरहरूमा सहभागी भएर बिरामीहरूको कुरा सुन्ने, काउन्सेलिङ गर्ने र औषधि बाँड्ने मौका पाएको छु। करिब दर्जन यस्ता शिविरहरूको अनुभवपछि भने मेरो मनमा प्रश्न उठेको छ—के यी स्वास्थ्य शिविरहरूले साँच्चिकै ती बिरामीहरूको स्वास्थ्यमा, स्वास्थ्य-चेतनामा र आनीबानीमा कुनै सकारात्मक परिवर्तन ल्याउन सकेका छन् त? कि कतै त्यत्रो खर्च र तामझामका साथ गरिने चीजले उल्टै नकारात्मक असर पो पारिरहेको छ? मेरो अनुभवले भन्छ—स्वास्थ्य शिविर भन्दै संचालन गरिएका अधिकांश एकदिने क्याम्पहरू हतार हतार सम्पन्न गरिने अनुष्ठानजस्ता हुन्। तिनले मानिसका स्वास्थ्यमा प्रतिकुल असर पारिरहेको हुनसक्ने मेरो ठम्याई छ।
इतिहासमा हेल्थ क्याम्प
नेपालमा हेल्थ क्याम्प गर्ने चलन ठ्याक्कै कहिलेदेखि सुरु भयो भनेर यकिनका साथ ठोकुवा गर्न गाह्रो छ। तर प्रा.डा. हेमाङ्ग दीक्षितले एक लेखमा लेखेअनुसार ‘बर्ड्स अफ नेपाल’ पुस्तकका लेखक रबर्ट फ्लेमिङले सन् १९५१/५२ मा आफ्नी श्रीमती डा. बेथेल र अर्का डाक्टर कार्ल फ्रेडरिक्ससँग नेपाल आएका बखत पाल्पाको तानसेनमा ६ हप्तासम्म हेल्थ क्याम्प संचालन गरेका थिए। करिब २ हजारको उपचार तथा केहीको शल्यक्रिया गरिएको सो क्याम्प नै सम्भवतः नेपालमा गरिएको पहिलो हेल्थ क्याम्प थियो। त्यस्तै सन् १९६५ ताका संयुक्त राज्य अमेरिकाको प्राविधिक सहयोगमा परिवार नियोजनका सेवा सुरु भएपछि भने ७० कै दशकभरि पुरुषका लागि स्थायी बन्ध्याकरण ‘भ्यासेक्टोमी’ र महिलाका लागि ‘मिनिल्याप’ का क्याम्पहरू प्रचुर मात्रामा चलेको बुझिन्छ। त्यसैगरी सन् १९७२ मा ‘एसोसिएसन फर अफ्थ्याल्मिक कोअपरेसन इन एसिया’ नामक एक जापानी एनजीओले पहिलो आँखा क्याम्प गरी ७४५ वटा मोतिविन्दुको शल्यक्रिया गरेको देखिन्छ। विदेशी चिकित्सकहरूले यसरी सुरु गरेको हेल्थ क्याम्पमा आजपर्यन्त उनीहरूको उल्लेखनीय संलग्नता पाइन्छ। विभिन्न राष्ट्रिय/अन्तराष्ट्रिय संस्थाहरू मार्फत विदेशी डाक्टरहरू यहाँ आएर यस्ता क्याम्पमा सहभागी हुने गरेका छन् भने विभिन्न फार्मास्युटिकल कम्पनीहरू, एनजीओ/आइएनजीओ, सामाजिक संस्था, निजी अस्पताल/मेडिकल कलेज र क्लबहरूदेखि लिएर गाउँपालिका/नगरपालिकाजस्ता स्थानीय निकायहरूसम्म यसका आयोजक रहने गरेका छन्।
अनुभव १: अछाम
अछामको जिल्ला अस्पतालमा कार्यरत रहँदा त्यहाँस्थित एक गैरसरकारी संस्थाले एकपटक एउटा स्वास्थ्य शिविर आयोजना गरेको थियो। एचआईभी/एड्सको महामारी रहेको अछाममा एड्सकै विषयमा काम गर्ने दर्जनौं एनजीओहरू छन् र यो शिविरको आयोजक एनजीओले काम गर्ने विषय पनि त्यही थियो। सदरमुकामबाट करिब ३० किलोमिटरको दूरीमा रहेको एउटा गाउँमा आयोजना गरिएको त्यो शिविरमा मुख्य गरी यौनजन्य संक्रमणका बिरामीहरूको जाँच गर्ने उद्देश्य राखिएको थियो। गाउँको स्थानीय स्कुलमा राखिएको सो शिविरमा बिरामी चेकजाँच गर्न म एकजना र एकजना हेल्थ असिस्टेन्ट थियौं। शिविरकै लागि भनेर आयोजक संस्थाले करिब एक लाख रुपैयाँबराबरको औषधि खरिद गरेर ल्याएको थियो।
निशुल्क शिविर भनेर गाउँमा रेडियोले राम्रै प्रचार गरेको थियो, भएभरका मानिस ओइरिएर आए। भन्नलाई त ‘यौनजन्य संक्रमणका बिरामीको निम्ति स्वास्थ्य शिविर’ भनिएको थियो, तर गर्नेबेला त्यो ‘जनरल हेल्थ क्याम्प’ नै हुन गयो जहाँ शरीरका विभिन्न भाग दुख्ने र चड्किनेदेखि स्वाँस्वाँ र फ्वाँफ्वाँ हुने सम्मका हरेक प्रकृतिका बिरामीहरू भेटिए। कतिपय त कुनै समस्या नभइकन पनि आएका थिए, जसबारे सोध्दा उनीहरूको उत्तर हुन्थ्यो—औषधि मिल्छ कि भनेर आएको हजुर! सित्तैमा हाम्रोलागि औषधि आएको हुन्छ, त्यो लिनुपर्छ भन्ने मूल ध्येय हुँदोरहेछ मानिसहरूको।
स्वास्थ्य शिविरलाई उनीहरूले आफ्नो शरीर चेकजाँच गर्ने अवसर भन्दा पनि औषधि वितरण कार्यक्रमका रूपमा बढी लिएको पाएँ। ‘खोइ आमा, तपाईंको छाती जाँच गरौँ’ भन्दै आला लगाउन खोज्दा एउटी वृद्धाले भनेकी थिइन्: ‘भो बाबु, मलाई दबाई देउ! चेक त मलाई यहींको हेल्थपोस्टमा पनि गर्छन्!’ यसरी कुनै खास रोगका बिरामीहरू पत्ता लगाउने र उपचार गर्ने भन्ने उद्देश्य राखेर क्याम्प गर्दा पनि स्थानीय स्तरमा त्यसखाले सम्भावित बिरामीहरू पहिल्यै पहिचान गरेर मात्रै क्याम्पमा ल्याउने संयन्त्र नहुँदा अन्ततः त्यो जनरल हेल्थ क्याम्प नै हुन पुग्दो रहेछ। जसकारण क्याम्पको उद्देश्य नै अपूरो रहन जान्छ।
अर्कोतिर, शिविरमा आउने हरेक मानिस औषधि नै चलाउनुपर्ने स्तरको समस्या बोकेर आएका हुन्छन् भन्ने हुँदैन। कतिपय हुन्छन् आफ्नो जीवनशैली परिवर्तन गरेमा सुधार हुनेहरू, कतिपय हुन्छन् खानपिनका कुरामा ध्यान दिनुपर्नेहरू, अनि अन्य कतिपय मनोसामाजिक परामर्शद्वारा ठीक हुनेहरू। औषधि चलाउनुपर्नेलाई त औषधि दिन्थ्यौं नै। तर जसलाई हामी भन्थ्यौं कि तपाईंलाई औषधिको जरुरत छैन, ती मानिसहरू आक्रोशका साथ भन्थे: ‘औषधि नै नदिने भएपछि किन क्याम्प चलाएको? त्यति टाढाको गाउँबाट यही क्याम्पका लागि भनेर घन्टौंको बाटो हिंडेर हामी आउने, तपाईंले चाँहि औषधि पर्दैन भन्ने?’ मानौं, हामीले लिएर आएका औषधिहरू हरेक कुराको रामवाण हुन् र ती औषधिबाहेक उपचारका अन्य विधिहरूको कुनै काम छैन।
औषधिको जथाभावी प्रयोग राम्रो होइन। बिनाकारण औषधि सेवन गर्दा अन्ततः हाम्रै शरीरलाई हानि गर्छ अनि ‘उपचार गर्ने’ भनेको औषधि बाँड्ने मात्रै होइन भनेर सम्झाउने यत्न नगरेको होइन तर त्यो भीडभाडमा कुरा सुनिदिने कसले, बुझिदिने कसले! फेरि सयौंको संख्यामा बिरामी दर्ता भएका छन्, दिनभरिमा सबैलाई हेरिभ्याउनुपर्ने बाध्यता छ। राम्रोसँग सम्झाउने बुझाउने फुर्सद पनि कहाँ होस् हामीलाई! अन्ततः अन्यत्रको झैं त्यो किचकिच र झमेलाबाट पार पाउन सजिलो बाटो रोज्यौं हामीले—ग्यासट्राइटिस (चलनचल्तीको ग्यास्टिक) का लागि चलाइने गोली (एसिलक) अनि भिटामिनको क्याप्सुल हातहातै बाँड्ने र उम्किने। यसरी एकातिर हामी औषधिको समुचित प्रयोगको रट लगाउँदैगर्दा अर्कातिर क्याम्पहरूमा अनावश्यक रुपले औषधि बाँडिहिँडेर विरोधाभाषपूर्ण व्यवहार देखाइरहेका थियौं।
औषधिको समुचित/अनुचित प्रयोग
विश्व स्वास्थ्य संगठनले ‘औषधिको समुचित प्रयोग’ लाई यसरी परिभाषित गरेको छ: ‘बिरामीलाई आफ्नो रोगअनुसारको उपयुक्त औषधि आफू र आफ्नो समुदायका निम्ति न्यूनतम मूल्यमा उपलब्ध भइ उपयुक्त मात्रामा उपयुक्त समयसम्म प्रयोग गर्नु नै औषधिको समुचित प्रयोग हो।’ यो परिभाषालाई मान्ने हो भने हाम्रा अधिकांश स्वास्थ्य शिविरहरूले औषधिको अनुचित प्रयोगलाई बढावा दिइरहेका छन् भन्न हिच्किचाउनुपर्ने कुनै कारण छैन।
औषधिको समुचित प्रयोग गर्नुपर्ने चिकित्सकहरूबाट नै स्वास्थ्य शिविरमा उल्टो काम कसरी भइरहेको छ त?
माथि नै भनियो, आफ्नै गाउँघरमा निशुल्क शिविर भनेपछि त्यो गाउँ मात्रै नभएर वरिपरिका गाउँहरूबाट पनि थेगिनसक्ने भीड उर्लेर आउँछ। सहरबाट ठूला डाक्टर आएका छन्, सबैजना चेकजाँच गर्न आउनु, औषधि लैजानु भनेर आयोजक संस्थाले गर्ने आक्रामक प्रचारबाजीले गर्दा पनि ठूलो संख्यामा मानिसहरू आउने गर्छन्, ठूलै आशा बोकेर।
जगजाहेर कुरा हो, संख्या बढ्दा गुणस्तर खस्किन्छ; संख्या कम भएमा गुणस्तर उकास्न सकिन्छ। सयौंको संख्यामा मानिस आउँदा उनीहरूलाई दिनुपर्ने जति समय दिन सकिंदैन। सात–आठ घण्टाको अवधिभित्रै जम्मैलाई सेवा दिइसक्नुपर्ने पावन्दी हुन्छ।
गुणस्तरीय सेवा दिनका लागि अन्तर्राष्ट्रिय मापदण्ड हेर्ने हो भने, एउटा बिरामीलाई औसतमा दस मिनेट समय दिनुपर्छ डाक्टरले। त्यो भनेको एक घन्टामा ६ जना बिरामी अर्थात् एक दिने क्याम्पमा लगातार आठ घण्टा (बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म) हेर्ने हो भने पनि मुस्किलले ४५–५० बिरामीसम्म हेर्न सकिन्छ। त्यसमाथि केही समय खानानास्ता र केहीबेर ‘फ्रेस’ हुनका लागि पनि छुट्याउनुपर्छ।
राष्ट्रिय स्तरका ठूला संस्थाले आयोजना गरेको शिविरबाहेक, स्थानीय स्तरमा गरिने अधिकांश शिविरमा बढीमा दुइजना स्वास्थ्यकर्मी खटाइएका हुन्छन्। यस हिसाबले एकदिने क्याम्पमा अधिकतम् हेर्न सकिने बिरामीको संख्या १०० हो। तर यथार्थ के हो भने बिरामीहरू ३००–५०० को संख्यामा हुन्छन्। त्यसमध्ये खास बिरामीको संख्या केही थोरै नै हुन्छ, तर आएका जतिलाई नजाँच धरै हुँदैन।
आयोजक संस्थालाई पनि कत्तिको स्तरीय सेवा प्रवाह हुनसक्यो भन्नेमा कुनै मतलब हुँदैन। कति धेरै मानिसहरू दर्ता किताबमा दर्ता भए—बस्, उनीहरूको चासो त्यत्तिमै सीमित देखें। जतिसक्दो फटाफट धेरैभन्दा धेरै बिरामी भ्याउनुहोस्, डाक्साप—उनीहरूको सल्लाह यत्ति पाएँ मैले।
यस्तो परिस्थितिमा सबै बिरामी हेरिसक्नुपर्ने दबाबका बीच, नचाहँ–दानचाहँदै पनि हामीले दिने सेवाको गुणस्तर कायम राख्न सक्दैनौं। क्याम्पमा जसै दिन ढल्दै जान्छ, थकानले हामीलाई छोप्दै जान्छ, अनि अब त छिटो भ्याउनुपर्यो भन्ने हतारोले हाम्रो चेकजाँच पनि झारा टार्ने हिसाबको हुँदै जान्छ। बिरामीसँग मीठा बात मार्न झिँजो लाग्दै जान्छ, अनि उही भिटामिन र एसिलकका गोली दिँदै—‘लौ हजुर, यो खानुहोला, निको हुन्छ’—भन्दै पठाउन सजिलो लाग्न थाल्छ। यसरी, स्वास्थ्य शिविरले औषधिको अनुचित प्रयोगको बन्दी बनाइछोड्छ।
अनुभव २: डडेल्धुरा
डडेल्धुराको अनुभव पनि त्यति प्रीतिकर रहेन। उही भीडभाड, उही औषधिको माग, उही सबथोक फूमन्तर गरेर ठीक हुने आशा! हामीहरूसँग भने आला र रक्तचाप जाँच गर्ने मेसिनबाहेक अन्य आवश्यक उपकरणहरूको व्यवस्था थिएन। कान दुखेर आउने बिरामीको ओटोस्कोपले कान हेर्नुपर्ने हुन्थ्यो जुन त्यहाँ थिएन। योनीबाट सेतो पानी बगेर आएको बिरामीको स्पेकुलमबाट जाँच गर्नुपर्थ्यो; त्यो पनि त्यहाँ थिएन। यसरी स्वास्थ्य चौकीमा समेत पाइने सामान्य उपकरणहरू नहुँदा अन्दाजकै भरमा औषधि चलाउनुपर्ने विवशता हाम्रासामु थियो। अनि त्यहाँ चलाइएका ती औषधिहरूले कस्तो रेस्पोन्स गरे, बिरामी ठीक भए या भएनन्—फलोअप नहुने हुनाले हामीलाई ती कुरा थाहा हुने भएन।
फलोअपबिनाको उपचार पनि के उपचार—उपचार गरिरहँदा मेरो मनमा यस्तै केही खेल्दै थियो। त्यसमाथि त्यो दिन गाउँमा एकजना २२ वर्षीय पुरुषले झुण्डिएर आत्महत्या गरेको खबर आयो। पोस्टमार्टम गर्न सदरमुकामस्थित म कार्यरत अस्पताल लग्नुपर्ने भयो। प्रहरीले त्यसैको तयारी गर्दै थियो तर गाउँपालिकाको अध्यक्षले एक्कासी अचम्मको प्रस्ताव राख्नुभयो। ‘अस्पतालको डाक्साप यतै हुनुहुन्छ क्यारे, यहीं पोस्टमार्टम गरे कसो होला! गाउँमै पहिलोपल्ट पोस्टमार्टम भएको रेकर्ड पनि रहने थियो!’ उहाँले मसँग भन्नुभयो। विस्मित् हुँदै मैले भने—‘अध्यक्षज्यू, यो नमिल्ने कुरा हो। पोस्टमार्टम भनेको चौरमा सबैका अगाडि लास चिर्ने कुरा होइन। यसका आफ्नै नियम छन्। यहाँ खोइ कहाँ छ पोस्टमार्टम घर, कहाँ छन् चिर्ने औजारहरू, कहाँ छन् चिर्न सघाउने सहयोगीहरू? त्यसैले कृपा गरेर अस्पतालमै लैजानुस् र त्यहाँ ड्युटीमा रहनुभएका डाक्टरलाई भनेर प्रकृयाअनुसार पोस्टमार्टम गराउनुहोस्।’ अलिक बुझ्ने खालकै अध्यक्ष हुनुहुँदो रहेछ क्यार, एकचोटीमै कुरा मान्नुभयो र लासलाई गाडीमा अस्पताल पठाउनुभयो।
प्रश्न उठ्यो, उहाँ अलि एकोहोरो खालको मानिस भएको भए मैले दबाब थेग्न सक्थें त? आफ्नो क्षेत्रको जनतालाई ‘हेर मैले तिमीहरूको लागि रेकर्ड राखेर देखाएँ’ भन्नका खातिर हुँदै नहुने कुरा शिविरमा गराउन खोजेर पनि हुन्छ त? बरु त्यो ठाउँमा अस्पताल खोल्न पहल गरुन्, डाक्टर र स्वास्थ्यकर्मीहरूलाई बस्ने वातावरण मिलाइदिउन्! तब पो रेकर्ड रहन्छ, नकि एक दिने क्याम्पमै सबैथोक गराइदिन खोज्ने स्टन्टबाजीले!
यसो भन्दै गर्दा सबै खालका क्याम्पहरू खत्तमै हुन् भन्न खोजेको होइन। डडेल्धुरा अस्पतालमै भएको दुइदिने हाडजोर्नी क्याम्पले थुप्रै बिरामीहरू लाभान्वित भएका थिए। कतिको भाँचिएको हाडको अपरेसन भयो भने कतिको हाडमा राखिएका रडहरू निकालिए। धनगढी वा नेपालगंज जानुपर्ने बिरामीहरूले, दुई दिनकै लागि सही, आफ्नै घरआँगनको अस्पतालबाट विशेषज्ञ सेवा पाए। यसैगरी पाठेघर खसेका महिलाका लागि पाठेघरको अपरेसन गर्ने क्याम्प, मोतिविन्दुका बिरामीका लागि अपरेसन गर्ने क्याम्पजस्ता विशेषज्ञ सेवा दिने क्याम्पहरू भइरहनु जरुरी छ। एउटा खास रोगका लागि भनेर गरिने क्याम्पमा त्यहीअनुसारको विशेषज्ञ जनशक्ति आएको हुन्छ, त्यहीअनुसारका उपकरणहरूको जोहो गरिएको हुन्छ र बिरामी पनि त्यहीअनुसारका लक्षणहरू भएकालाई ल्याइएको हुन्छ। यसर्थ जनरल क्याम्पको जस्तो गन्जागोल त्यहाँ रहँदैन जसकारण यो प्रभावकारी छ।
तर फेरि पनि मुख्य कुरा भनेको मैले माथि अछामको अनुभवमा लेखेजस्तो विशेषज्ञ सेवा दिने क्याम्पहरूलाई जनरल क्याम्पमा ‘डीजेनेरेट’ हुन नदिने कसरी भन्ने नै हो। दुर्गमका यी अस्पतालमा काम गर्दा मैले देखेको छु, यहाँ कति यस्ता आमाहरू छन् जो आङ खसेको पीडा लिएर बसिरहेका छन् र व्यग्र प्रतिक्षामा सोधिरहेका छन्—‘बाबु, त्यो शिविर कहिले आउँछ?’ कति यस्ता बाह्रु छन् जो बादल लागेको आँखा लिएर घुमिरहेका छन्—‘त्यो शिविर कहिले आउँछ?’ विशिष्टकृत सेवा दिने भनेर संचालन गरिएका क्याम्पहरू जनरल क्याम्पमा झर्न थाले भने यी बा र आमाहरूले सेवा पाउँदैनन्। पाए पनि त्यही मल्टीभिटामिनका क्याप्सुल पाउँछन्, पाउँदैनन् आङ खसेको अपरेसन अनि आँखाको ज्योति!
सहरका ठूला अस्पतालमा सीमित विशेषज्ञ सेवाहरूमध्ये क्याम्प गरेर दिन सकिने सीमित यस्ता सेवाहरू दुर्गम ठाउँमा कसरी राम्रो ढंगले प्रवाह गर्न सकिन्छ, त्यसप्रति सबैले ध्यान दिनुपर्छ। यो लेखमा चर्चा गरिएको भने जनरल हेल्थ क्याम्पको हो।
एन्टीमाइक्रोबियल रेजिस्टेन्सका कुरा
शरीरमा हुने विभिन्न किसिमका ब्याक्टेरियाका संक्रमणविरुद्ध काम गर्ने एन्टीबायोटिक भनिने औषधिहरूले ब्याक्टेरियासँग लड्ने आफ्नो क्षमता द्रुतगतिमा गुमाउँदै गएको कुरा स्थापित भइसकेको छ। पहिले त्यही एन्टिबायोटिकले कुनै ब्याक्टेरियाविरुद्ध राम्रोसँग काम गर्थ्यो भने आज आएर ती ब्याक्टेरियाले प्रतिरोधी क्षमता विकास गरेका छन्, जसकारण कडाभन्दा कडा एन्टिबायोटिकहरू पनि निकम्मा सावित हुँदैछन्। विश्व स्वास्थ्य संगठनले भनिसकेको छ: अब सामान्यभन्दा सामान्य संक्रमण र घाउचोटहरूले पनि ज्यान जाने ‘पोस्ट-एन्टीबायोटिक एरा’ हाम्रो सन्निकटमा आइसक्यो। आखिर यस्तो भयावह अवस्था कसरी निम्त्यो? एकै शब्दमा भने—एन्टीबायोटिकको जथाभावी प्रयोगले।
चाहे अस्पतालमा होस् या क्लिनिकमा, चाहे स्वास्थ्यकर्मीले ‘प्रेस्क्राइब’ गरेर होस् या बिरामी आफैंले किनेर, हचुवाको भरमा एन्टीबायोटिक खाने/खुवाउने प्रवृत्ति दिनानुदिन बढ्दो छ। यो प्रवृत्तिमा हेल्थ क्याम्पहरूको पनि सहायक भूमिका छ। बाँड्ने औषधिको लिस्टमा सेफिक्सिम र ओफ्लोक्सासिनजस्ता एन्टीबायोटिकहरू प्रायः कुनै शिविरमा छुटेका हुँदैनन्। जबकि यी एन्टीबायोटिक कुन अंगको, कस्तोखाले संक्रमण हो भनेर यकिन गरेर निदान गरेपछि मात्रै चलाउनुपर्ने हो। तर शिविरमा ल्याब जाँच नहुने भएकाले यकिन निदान गर्न गाह्रो हुन्छ।
यकिन निदान नहुँदा लक्षणका आधारमा मात्र पनि एन्टीबायोटिक चलाउनुपर्ने हुनसक्छ, किनकि थप जाँचका लागि अनेकन् कारणहरूले त्यो बिरामीको सदरमुकामस्थित अस्पतालसम्म पहुँच नहुन सक्छ। व्यक्तिगत रूपमा भन्दा, शिविरमा मैले अपवादबाहेक (क्लिनिकल जजमेन्टको आधारमा) एन्टीबायोटिक लेखेको छैन, बरु तिनै एसिलक र भिटामिन दिएर पठाएको छु। तर सायद एन्टीबायोटिक रेजिस्टेन्सको भयावहताको जानकारी नभएकाले होला, कतिपय अन्य स्वास्थ्यकर्मी साथीहरू एन्टीबायोटिकजस्ता औषधि पनि बिना सोचीसम्झी भिटामिन लेखेजस्तै लेख्छन्।
कसैगरी शिविर सम्पन्न हुँदा औषधिको पोकोमा एन्टीबायोटिक पनि बचेका छन् भने आयोजक संस्थाका साथीहरूले बिरामीलाई बोलाउँदै भनेको सुनेको छु: ‘लिएर जानुस्, यो पनि, हामीले फिर्ता लग्ने कुरा हुँदैन क्यारे!’ मानौं, एन्टीबायोटिकहरू गाउँमा बाँडिने चाउचाउ/बिस्कुट हुन्। तर वास्तवमा यी एन्टीबायोटिक त दुईधारे तरबार जस्ता हुन्—जसलाई चलाउन जान्यो भने जीवन दिने बुटी सावित हुन सक्छ, तर चलाउन नजान्दा जीवन लिने विष।
यसरी क्याम्पहरूमा देखिएको एन्टीबायोटिक बाँड्ने प्रवृत्तिले एन्टीमाइक्रोबियल रेजिस्टेन्स बढाउनमा र पोस्ट-एन्टीबायोटिक एरातिर धकेल्नमा केही न केही भूमिका खेलिरहेकै छ।
आयोजकका स्वार्थ
मेरो अनुभवमा आयोजक संस्थाको हामी क्याम्पमा बिरामी हेर्ने स्वास्थ्यकर्मीहरूसँग त्यस्तो कुनै खास सम्बन्ध रहँदैन। धेरैको स्वार्थ भनेकै आ–आफ्नो संस्थाको मार्केटिङ बढाउने नै रहेको पाएँ। कुनै औषधि कम्पनीले गरेको रहेछ भने नि:सन्देह, उसले आफ्ना औषधिहरूको प्रचारप्रसार गर्ने अवसरका रूपमा यसलाई लिन्छ। कुनै निजी अस्पताल/क्लिनिकले गरेको रहेछ भने सोहीअनुसार उसले पनि आफ्नो व्यापारिक माहौल बनाउने मौका छोप्छ। स्थानीय गाउँपालिका/नगरपालिकाहरू पनि यो होडबाजीमा पछि छैनन्। आखिर जनप्रतिनिधिहरूलाई पनि देखाउनु छ—‘हेर जनता हो, मैले तिम्रो घरआँगनमै डाक्टरहरू ल्याएर देखाइदिएँ’।
यही दुनियाँका अगाडि देखाइदिने प्रयोजनमा आयोजकहरू सफल छन्, तर यी क्याम्पहरूको झूर ‘क्वालिटी अफ सर्भिस’ भने आजसम्म पनि ढाकछोप हुँदै आएको विषय हो। अखबारका पाना र आयोजकका रिपोर्टमा यति हजार बिरामीले सेवा पाए भन्ने गौरवपूर्ण बखान पढ्दा पनि त्यो सेवाको गुणस्तरमा गहिरिएको खोइ? कस्तो संस्थाले कस्ता स्वास्थ्यकर्मी ल्याएर कस्तो खाले क्याम्प गरिरहेको छ, यसले समुदायमा कस्तो असर पारिरहेको छ; यसबारे अनुगमन र निरीक्षण खोइ?
मिडियाले पनि आयोजक संस्थाले दिएको विवरण जस्ताको तस्तै छाप्नेभन्दा अरु काम गर्न सकेको छैन। ‘निशुल्क स्वास्थ्य शिविर सम्पन्न, हजारौं बिरामी लाभान्वित’—हरेकजसो मिडियाको साझा हेडलाइन यही हुन्छ, जुन ती आयोजकले टिपेका हुन्छन्। त्योभन्दा गहिरिएर कस्तो सेवा, कसले दिएको सेवा, कुन गुणस्तरको सेवा भनेर खोज्ने जाँगर कुनै मिडियाले देखाएको मलाई थाहा छैन।
हालसम्म गरिएका क्याम्पहरूले आफ्ना जनताको स्वास्थ्य स्थितिमा कस्तो प्रभाव पारेको छ भनेर सरकारका तर्फबाट न त अध्ययन भएको छ, न त त्यो नाप्ने सूचकहरू नै बनाइएको छ।
अन्य अध्ययनका कुरा
Medical Camps and their Usefulness शीर्षकमा काठमाडौं युनिभर्सिटी मेडिकल जर्नलमा Karki DB, Dixit H र Neopane A को एउटा लेख छापिएको छ। त्यसमा उहाँहरू लेख्नुहुन्छ—‘उच्च रक्तचाप, मधुमेह, मृगौला रोगजस्ता नसर्ने रोगहरूको प्रकोप बढिरहेका बेला ती रोग लाग्नसक्ने वा लागेका मानिसको जतिसक्दो चाँडो पहिचान गर्न जरुरी हुन्छ, र यसरी ‘स्क्रिन’ गर्न राम्रो ढंगले चलाइने हेल्थ क्याम्पहरू सहायक सिद्ध हुन्छन्।’
म सहमत छु यो वाक्यमा, किनकि यसमा भनिएको हेल्थ क्याम्प फगत मैले अनुभव गरेको जस्तो देखावटी हेल्थ क्याम्प होइन, राम्रो ढंगले चलाइने क्याम्प हो। तर हाम्रोजस्तो सेटअपमा राम्रो ढंगले चलाउन असम्भव त होइन, मुस्किल जरुर छ। देखावटी क्याम्प गर्न सजिलो छ, र हामीकहाँ बढी मात्रामा हुने गरेको पनि त्यही नै हो।
कति जना बिरामी दर्ता भए भन्नेसँग मात्रै मतलब हुने भएपछि आयोजकलाई पनि कति ढंग पुर्याएर गरियो भनी सोधखोज गर्ने जरुरत हुँदैन। स्वास्थ्यकर्मीलाई पनि एक दिन क्याम्प गरेर तीन दिनको भत्ता खान पाएपछि अरु कुराको टन्टा लिनुपर्दैन। बस्, आयोजकसँग ‘हो’ मा ‘हो’ मिलायो, क्याम्प सफल भयो भन्दै फोटोसुट गरियो, किस्सा खत्तम!
त्यसैले ‘उच्च रक्तचाप भएका बिरामीहरूको पहिचान गर्ने’ भन्ने उद्देश्य राखेर मात्रै के गर्ने? जब बिरामीको अत्यधिक चाप अनि त्योअनुसार स्वास्थ्यकर्मीको संख्या नपुग्दा आएका सबैको ब्लडप्रेसर नै नापिदैन भने उच्च रक्तचाप भएका बिरामीको कसरी पहिचान गर्न सकिन्छ? यसर्थ हामीकहाँ झारा टार्न गरिने कर्मकाण्डी पाराको क्याम्पहरूबाट उक्त लेखमा भनिएजस्तो बिरामीहरू ‘स्क्रिन’ गर्न सफल हौंला भन्ने कुरामा मलाई विश्वास छैन।
त्यस्तै, The Anatomy Of Ephemeral Health Care: “Health Camps” and Short-term Medical Volunteerism In Remote Nepal शीर्षकमा डेभिड सिट्रीनले सिन्हासको २०१० अंकमा एउटा महत्वपूर्ण लेख छपाएका छन्। यसमा उनले नेपालका दुर्गम ठाउँमा गरिने हेल्थ क्याम्पहरूको आलोचनात्मक समीक्षा गर्दै दुर्गमका जनताको आधारभूत आवश्यकता र उनीहरूलाई चाहिएको प्राथमिक स्वास्थ्य त्यहाँ आयोजना गरिने केही दिनका स्वास्थ्य शिविरले पूरा गर्न सक्दैनन् भन्ने विचार राखेका छन्।
एक ठाउँमा उनी लेख्छन्—“औषधिप्रतिको जादुमयी आकर्षणलाई हेल्थ क्याम्पहरूले थप बढावा दिइरहेका छन्। गाँस, बास र कपासजस्ता आधारभूत आवश्यकता नै पूरा गर्न हम्मेहम्मे पर्ने मानिसहरूलाई जथाभावी औषधि बाँड्नु अनि अनावश्यक शल्यक्रियाको भारी बोकाउनु उचित होइन। भिटामिन, ब्रुफेन र एन्टीबायोटिकजस्ता औषधिहरू हचुवाको भरमा भिडाउनाले उनीहरूमा उल्टै थप स्वास्थ्य समस्या निम्तिने खतरा छ। विदेशी डाक्टरका हकमा भाषाको समस्या हुने हुँदा अर्काले उल्था गरिदिएको भरमा रोगको निदान गर्नुपर्ने अवस्था पनि पक्कै राम्रो होइन। त्यसैगरी क्याम्पमै गरिने शल्यक्रियामा संक्रमण रोकथामका उपायहरू राम्रोसँग अपनाउन नसकिने तथा शल्यक्रियापश्चात् फलोअप गर्न नसकिने अवस्थाले बिरामीमा थप जोखिम निम्त्याउन सक्छ।”
हो, स्थायी बन्ध्याकरणका अपरेशनहरू क्याम्पमा गर्दा संक्रमण रोकथामका उपायहरू सही ढंगले अपनाउन नसकेर थुप्रैको ज्यान गएको उदाहरण छिमेकी भारतमा प्रशस्त छन्। उदाहरणका लागि, सन् २०१४ को नोभेम्बरमा छत्तीसगढ राज्यमा गरिएको एउटा ‘स्टरलाइजेसन क्याम्प’मा अपरेशनपश्चात् १५ महिलाको ज्यान गयो भने ७० जना गम्भीर अवस्थामा अस्पताल भर्ना भए। एउटा अपरेशनलाई कम्तिमा १५ मिनेट समय लगाउने र एक दिनमा ३० वटा भन्दा बढी गर्न नमिल्ने ‘प्रोटोकल’ हुँदाहुँदै ‘टार्गेट’ पूरा गर्ने नाममा ९० वटासम्म गर्ने गरिदो रहेछ। हतपतको काम लतपत भनेझैं, मेडिकल क्षेत्रमा यस्तो हतपत गर्दा परिणाम मान्छेको ज्यानैसम्म जान सक्छ।
अतः सिट्रीनको लेखका उल्लेखित पङ्क्तिहरूमा मेरो पूर्ण सहमति छ। साथै, लेखकले स्वास्थ्य सेवा दिने एउटा उपायका रूपमा क्याम्पलाई लिँदा भएको अवस्था पुनर्विचार गर्नुपर्ने जुन निचोड प्रस्तुत गरेका छन्, त्यसमा पनि मेरो समर्थन रहेको छ। यसमा सबैको ध्यानाकर्षण हुनु जरुरी छ।
निष्कर्ष
स्वास्थ्य शिविर अनिवार्य रूपमा आवश्यक छन्। तर उद्देश्य स्पष्ट हुनु पर्छ—विशेषज्ञ सेवा दिने क्याम्प वा जनरल हेल्थ क्याम्प। जनरल हेल्थ क्याम्पमा औषधि वितरणको हतार, भीडभाड र गुणस्तर घटाउने उपायले उल्टो प्रभाव पार्छ। बिरामीलाई स्वास्थ्य शिक्षा, जीवनशैली सुधार, खानपिनका सुझाव, मनोसामाजिक परामर्श र आवश्यकता अनुसारको औषधि वितरणको सन्तुलन हुनुपर्छ।
डडेल्धुरा जस्तो दुई–तीन दिने विशेषज्ञ क्याम्प सफल छन् भने, एक दिने जनरल हेल्थ क्याम्पले धेरै मानिसलाई औषधि दिन पुग्छ, तर स्वास्थ्य सुधारमा अपेक्षित प्रभाव कम देखिन्छ। त्यसैले ग्रामीण भेगमा हेल्थ क्याम्प आयोजना गर्दा योजना स्पष्ट, विशेषज्ञता सुनिश्चित र औषधिको अनुचित प्रयोग रोक्ने उपाय अपनाउनै जरुरी छ।