काठमाडौं - पछिल्लोे समय बालबालिकामा अटिजम अर्थात् अटिजम स्पेक्ट्रम डिसअर्डरको समस्या बढ्दै गएको छ। यो स्नायु तथा विकाससम्बन्धी एक अवस्था हो।
गर्भावस्थामै बच्चामै अटिजम भए नभएको थाहा पाउने प्रविधिको विकास हालसम्म नभएको चिकित्सक बताउँछन्। अटिजम भएका बालबालिकाहरुको जीवनलाई सहज बनाउनका लागि अभिभावकको भूमिका महत्वपूर्ण हुन्छ।
अटिजम कस्तो समस्या हो ? अटिजम भएका बालबालिकाले के कस्ता व्यवहार देखाउँछन् ? अभिभावकको भूमिका कस्तो हुन्छ ? लगायत विषयमा हामीले बाल मनोचिकित्सक डा उत्कर्ष कार्कीसँग हामीले कुराकानी गरेका छौँ। डा कार्कीसँग स्वास्थ्यखबरकर्मी लक्ष्मी चौलागाईंले गरेको कुराकानीको सम्पादित अंश :
अटिजम भनेको के हो र यो कस्तो समस्या हो ?
अटिजमलाई मेडिकल भाषामा अटिजम स्पेक्ट्रम डिसअर्डर भन्ने गरिन्छ। यो स्नायु तथा विकाससम्बन्धी एक अवस्था हो। बालबालिकाले देखाउने विभिन्न लक्षणका आधारमा यसलाई अटिजम स्पेक्ट्रम डिसअर्डर भनिन्छ। यस्तो अवस्थालाई पत्ता लगाउनका लागि अभिभावकमा बालबालिकासँग अन्र्तक्रिया गर्न आवश्यक हुन्छ। यो पत्ता लगाउनका लागि विशेष प्रकारका परीक्षणहरु जस्तै एमआरआई, सिटीस्क्यान जस्ता परीक्षण भने आवश्यक पर्दैन। चिकित्सक, अभिभावक तथा बालबालिकासँगको अन्र्तक्रियाको आधारमा मात्रै यसको पहिचान गरिन्छ। जसमा अभिभावकले दिएको विवरण महत्वपूर्ण हुन्छ। उपचारका लागि तय गरिएको निश्चित सीमाका आधारमा यसको पहिचान गरी उपचार गरिन्छ।
आमाले गर्भावस्थामा गर्ने गतिविधिले बालबालिकामा अटिजमको समस्या देखिन सक्छ ?
हालसम्म आमाले गर्भवती हुँदा गर्ने गतिविधिले बालबालिकामा अटिजम हुन्छ भन्ने प्रमाणित भएको छैन। यद्यपि आमाको गर्भावस्थामा बढी तनावपूर्ण भएमा बच्चामा मनोरोगको जोखिम भने रहन्छ। आमाले गर्भवती हुँदा कुनै प्रकारको औषधि सेवन गरेको कारणले अटिजमको थोरै जोखिम भने रहन्छ। त्यस्तै धुम्रपान, अल्कोहलको सेवन लगायतले अटिजमको जोखिम भने बढाउन सक्छ। यद्यपि यस्ता पदार्थको प्रयोगले बालबालिकालाई अटिजम हुन्छ नै भन्ने प्रमाणित भने भएको छैन।
अटिजम भएका बालबालिकाले कस्तो व्यवहार देखाउँछन् ?
अटिजम जैविक कारणले हुने एक अवस्था हो। बच्चा जन्मेको १, २ महिनामा नै यसको पहिचान गर्न सकिदैन।बच्चा १ वर्ष भइसकेपछि भने विस्तारै अटिजमको अवस्थाबारे पहिचान गर्न सकिन्छ। अभिभावकले बोलाउँदा फर्केर नहेर्ने, अभिभावकसँग आँखामा आँखा नजुधाउने, औंलाले देखाउने जस्ता गतिविधीहरु बच्चा नगरेमा उसलाई अटिजम भएको होकि भनेर पहिचान गर्न सकिन्छ। बच्चा १८, १९ महिना भइसक्दा पनि सामान्य शब्दहरु उच्चारण नगरेमा अभिभावकहरु सतर्क हुन जरुरी छ।
अटिजमलाई पूर्ण रुपमा निको बनाउने औषधिको विकास हालसम्म गर्न सकिएको छैन। यसलाई जति छिटो पहिचान गरिन्छ, निको हुने सम्भावना रहन्छ। बालबालिकालाई तालिम तथा विभिन्न प्रकारको थेरापी दिइन्छ। जसमा अभिभावकलाई पनि तालिम दिने गरिन्छ।
अटिजम भएका ७० देखि ८० प्रतिशत बालबालिकामा अनिन्द्राको सम्भावना हुने गर्छ। कतिपयमा कब्जियत, छारे रोग, अत्याधिक चकचके जस्ता लक्षणहरु समेत हुन्छन्। त्यस्ता बालबालिकालाई भने औषधि दिएर यी लक्षणहरु कम गर्न सकिन्छ। यद्यपि पूर्ण रुपमा निको बनाउने औषधि भने हुँदैन।
अटिजम भएका बालबालिकाको जीवनलाई अभिभावकले कसरी सहज बनाउन सक्छन् ?
बच्चा १ वर्ष भएदेखि नै यसको पहिचान गर्न सकिन्छ भने ३ वर्ष भइसक्दा अटिजम हो होइन पहिचान गर्न सकिन्छ। यो आजीवन रहने एक अवस्था हो। अटिजमको पूर्ण रुपमा उपचार गराउन असम्भव छ। एकदमै नगन्य मात्रामा मात्रै बालबालिकाहरु पूर्ण रुपमा निको हुन्छन्। उमेर अनुसार सहजीकरणको वातावरण तथा थेरापीहरु हुने गर्छ। समयमै चिकित्सकसँगको निरन्तर सम्पर्कमा रहने तथा थेरापी गराएर बालबालिकाहरुलाई सहजीकरण गर्न सकिन्छ।
बच्चा ५, ६ वर्ष पुगिसकेपछि उसलाई खाना खाने, लुगा लगाउने लगायतका काम गर्न सिकाएर विस्तारै आत्मनिर्भर बनाउनका लागि अभिभावकको भूमिका महत्वपूर्ण हुने गर्छ। त्यस्तै बच्चालाई विद्यालयमा राखेर पढाउन सकिन्छ कि सकिदैन भन्नका लागि विद्यालयको वातावरण बुझेर अभिभावकहरुले काम गर्नुपर्ने हुन्छ। त्यस्तै उमेर बढ्दै गएपछि गरिने सहजीकरणले अभिभावकले खेल्ने भूमिका फरक हुन सक्छ।
ढिलो उमेरमा बच्चा जन्माउँदा पनि बच्चामा अटिजम हुन सक्छ ?
आमाभन्दा पनि बुबाको उमेर ४५ वर्ष पार भइसकेपछि बच्चा जन्मिएमा त्यसले बच्चामा विभिन्न प्रकारमा जोखिमहरु ल्याउन सक्छ।
आमाको उमेर ३५ वर्ष पार भइसकेपछि बच्चा जन्माउँदा अटिजम मात्रै नभएर डाउन सिन्ड्रोम लगायत विभिन्न विकाससम्बन्धी अवस्थाहरुको जोखिम भने रहन्छ। बच्चा गर्भमा नै हुँदा अटिजम भएको छ कि छैन भन्ने पत्ता लगाउन सक्ने परीक्षणको भने विकास भइसकेको छैन। कतिपय अभिभावकले बालबालिकालाई अटिजम भएको विश्वास नगर्दा उपचार प्रक्रियामा ढिलाई समेत हुन्छ।
बालबालिकालाई अटिजम भइसकेपछि उपचारका लागि कहाँ जाने ?
नेपालको सन्दर्भमा बालबालिकालाई अटिजम भइसकेपछि कहाँ जाने भन्ने जिज्ञासा धेरे अभिभावकहरुको हुने गर्छ। उपचारका लागि कुनै एक निश्चित स्थान तोक्न सक्ने अवस्था छैन। कान्ति बाल अस्पतालमा बालबालिकाका साथै अभिभावकलाई पनि १० हप्ताको तालिम दिने गरिन्छ। कतिपय निजी संस्थाहरुले पनि अटिजम भएका बालबालिकाका लागि विशेष प्रकारको तालिम दिदै आइरहेका छन्। यद्यपि यसका लागि सम्बन्धित चिकित्सकको सल्लाह अनुसारको उपचार अगाडि बढाउन आवश्यक हुन्।
लामो समयसम्म बालबालिकाहरुले मोबाइल चलाउँदा अटिजम हुने जोखिम कतिको हुन्छ ?
कुनै पनि बालबालिकाले २ वर्ष भन्दा अगाडि मोबाइल, टिभी, कम्यूटर लगायतका सामग्रीहरु धेरै चलाउनु राम्रो होइन। धेरै मोबाइल चलाएर नै अटिजम हुने भन्ने चाहि होइन। मोबाइल धेरै चलाउँदा बालबालिकाको समग्र विकासमा केही न केही समस्या भने आउँछ। यसले बोली तथा भाषा ढिलो गरी विकास हुने, बोलाउँदा वास्तै नगर्ने जस्ता समस्या भने बालबालिकामा आउने गर्छ। अटिजम जन्मजात नै हुने समस्या हो। जुन निश्चित उमेरमा पुगेपछि मात्रै पहिचान हुने गर्छ।
अटिजम भएका बालबालिकामा कुनै विषयमा बढी क्षमता हुन्छ भन्ने गरिन्छ के यो साँचो हो ?
अटिजम भएका कतिपय बालबालिकामा विशेष प्रकारको क्षमता हुने गर्छ। यस्ता कतिपय बालबालिकाको सम्झने क्षमता एकदमै बढी हुने गर्छ। कतिपय बालबालिकाहरुमा पत्याउने नसक्ने अवस्थाको क्षमता समेत हुन्छ। उमेर बढ्दै गएपछि अटिजम भएका कतिपय बालबालिकाले आफैंलाई हानी पु¥याउने काम समेत गर्न सक्छन्।
पहिलो बच्चामा अटिजम भएमा दोस्रो हुने सम्भावना कतिको हुन्छ ?
पहिलो बच्चामा अटिजम भएको अवस्थामा दोस्रो सन्तान जन्माउँदा पनि अटिजमको जोखिम हुने गर्छ। यद्यपि पहिलोलाई भयो भन्दैमा दोस्रोमा हुन्छ नै भन्ने पक्का भने हुँदैन।
बालबालिकालाई अटिजम हुन नदिन के गर्ने ?
बालबालिकालाई अटिजम हुनबाट रोक्ने कुनै निश्चित उपाय छैन। यद्यपि गर्भवती भएपनि नियमित रुपमा स्वास्थ्य परीक्षण गराउने, पोषणयुक्त खानेकुरा खाने, तनाव कम गर्ने, मदिरा तथा धुम्रपानको सेवन नगर्ने, चिकित्सकको परामर्श बिना औषधि सेवन नगर्ने, मधुमेहको जोखिम घटाउने लगायतका काम गरेर बालबालिकामा अटिजम हुने जोखिमलाई कम गर्न सकिन्छ।