काठमाडौं- सरकारले आसन्न निर्वाचनको सुरक्षामा खटिने सुरक्षाकर्मीहरूका विषयमा स्वास्थ्यलाई केन्द्रमा राखेर निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचनको दौरान घाइते हुने सुरक्षाकर्मी तथा म्यादी प्रहरी (निर्वाचन प्रहरी) को सम्पूर्ण उपचार खर्च राज्यले बेहोर्ने निर्णय गरेको हो।
बैठकका निर्णयहरूबारे जानकारी दिँदै सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनको शान्ति सुरक्षा कायम गर्ने क्रममा घाइते भएका सुरक्षाकर्मीहरूको उपचारमा लाग्ने सबै खर्च नेपाल सरकारले उपलब्ध गराउने बताए।
सरकारले निर्वाचन अवधिभर फिल्डमा खटिएका सुरक्षाकर्मी वा म्यादी प्रहरी घाइते भएमा सरकारी अस्पतालहरूमा उनीहरूको नि:शुल्क उपचार हुने र यदि कर्तव्य पालनको सिलसिलामा कुनै पनि सुरक्षाकर्मीको मृत्यु भएमा उनीहरूको परिवारलाई सरकारले उचित आर्थिक सहायता र राहत उपलब्ध गराउने निर्णय गरेको अर्यालले जानकारी दिए।
'निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन अहोरात्र खटिने सुरक्षाकर्मीको सुरक्षा र स्वास्थ्यप्रति सरकार संवेदनशील छ। त्यसैले उपचार र राहतमा कुनै कमी हुन नदिने निर्णय गरिएको हो,' उनले भने।