काठमाडौं- नेपालमा दैनिक प्रयोग हुने सौन्दर्य प्रसाधन तथा व्यक्तिगत सरसफाइका सामग्रीमै जनस्वास्थ्यका लागि अत्यन्तै घातक मानिने सिसा (लिड) अत्यधिक मात्रामा फेला परेको एक अध्ययनले देखाएको छ।
जनस्वास्थ्य तथा वातावरण प्रवर्धन केन्द्र (सेपेड) ले गरेको पछिल्लो अध्ययनले सिन्दूर, टुथपेस्ट र गाजलजस्ता सामग्रीमा अन्तर्राष्ट्रिय मापदण्डभन्दा बढी लिड भेटिनुले उपभोक्ताको स्वास्थ्य सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ।
‘लिड एक्सपोजर एलिमिनेसन प्रोजेक्ट अमेरिका’को प्राविधिक तथा आर्थिक सहयोगमा गरिएको अध्ययन काठमाडौं, पोखरा, विराटनगर र जनकपुरका खुद्रा पसलमा बिक्री भइरहेका उत्पादनमा केन्द्रित थियो। गत अक्टोबरदेखि डिसेम्बर २०२५ सम्म संकलन गरिएका १०० नमुनामध्ये ३१ प्रतिशतमा लिड भेटिनुले उपभोक्ताले दैनिक प्रयोग गरिरहेका सामग्री सुरक्षित छैनन् भन्ने स्पष्ट सन्देश दिएको छ।
‘एटोमिक एब्जोर्प्सन स्पेक्ट्रोस्कोपी’ (एएएस) विधिबाट गरिएको परीक्षणमा लिड भेटिएका नमुनामध्ये ८७ प्रतिशतले युरोपियन युनियनले तोकेको ०.५ पीपीएम र ७७ प्रतिशतले अमेरिका तथा क्यानडाको १ पीपीएमको सीमा नाघेका छन्। अझ गम्भीर पक्ष के छ भने नेपालमै स्वेच्छिक रूपमा तोकिएको १० पीपीएमको मापदण्डसमेत ५१ प्रतिशत नमुनाले उल्लङ्घन गरेका छन्।
उत्पादनअनुसार विश्लेषण गर्दा सिन्दूर सबैभन्दा जोखिमयुक्त देखिएको छ। विवाहित महिलाले नियमित प्रयोग गर्ने सिन्दूरका ४० प्रतिशत नमुनामा लिड भेटिएको छ भने केही नमुनामा १२४ पीपीएमसम्म लिड पाइएको छ। बालबालिकाका लागि भनेर बजारमा उपलब्ध केही टुथपेस्टमा समेत लिड भेटिनु बालस्वास्थ्यका लागि झनै चिन्ताजनक विषय बनेको छ। गाजलमा लिडको मात्रा तुलनात्मक रूपमा कम देखिए पनि आँखामा प्रत्यक्ष प्रयोग हुने भएकाले यसले गम्भीर स्वास्थ्य जोखिम निम्त्याउन सक्ने अध्ययनले औंल्याएको छ।
भौगोलिक रूपमा हेर्दा काठमाडौं उपत्यकामा सबैभन्दा बढी (४२.५ प्रतिशत) नमुनामा लिड भेटिएको छ। ‘हर्बल’ वा ‘प्राकृतिक’ भनेर प्रचार गरिएका उत्पादनहरू समेत लिडमुक्त नभएको तथ्यले बजारमा हुने दाबी र वास्तविकता बीचको गहिरो अन्तर उजागर गरेको छ।
स्वास्थ्य विज्ञहरूका अनुसार लिडको दीर्घकालीन असर अत्यन्तै गम्भीर हुन्छ। विश्व स्वास्थ्य संगठनले मानव शरीरका लागि लिडको कुनै पनि मात्रा सुरक्षित नहुने स्पष्ट गरिसकेको छ। लिडको सम्पर्कले बालबालिकाको बौद्धिक विकासमा असर पार्नुका साथै व्यवहारमा आक्रामकता बढ्ने, सिकाइ क्षमता घट्ने र स्नायु प्रणालीमा स्थायी क्षति पुग्ने जोखिम रहने बताइएको छ।
अध्ययन प्रतिवेदन सार्वजनिक कार्यक्रममा नियमनकारी निकायका प्रतिनिधिहरूले कानुनी कमजोरी स्वीकार गरेका छन्। औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले कस्मेटिक सामग्रीलाई प्रभावकारी रूपमा नियमन गर्न औषधि ऐन संशोधन आवश्यक रहेको बताए।
'कतिपय उपभोग्य सामग्रीमा न्यूनतम मात्रामा सिसा पाइने समस्या छ, त्यसका लागि स्पष्ट र कडा नियमन अपरिहार्य छ,' उनले भने। ऐन संशोधन प्रक्रिया अघि बढिरहेको जानकारीसमेत उनले दिए।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले नेपालीहरू अनजानमै यस्ता विषालु पदार्थ प्रयोग गरिरहेको हुन सक्ने भन्दै यसले जनस्वास्थ्यमा दीर्घकालीन संकट निम्त्याउन सक्ने चेतावनी दिए। मन्त्रालयका उपसचिव डा. समिरकुमार अधिकारीले लिडसम्बन्धी अध्ययनलाई जनस्वास्थ्य नीतिमा गम्भीर रूपमा लिनुपर्ने उल्लेख गर्दै सहकार्य गर्न मन्त्रालय तयार रहेको बताए।
सेपेडका कार्यकारी निर्देशक रामचरित्र साहले सिसाजस्ता रसायन नियमन गर्ने स्पष्ट अधिकार सम्पन्न सरकारी निकाय नहुनु ठूलो कमजोरी भएको बताए। 'साना बालबालिकामा लगाइने काजल, हरेक बिहान प्रयोग हुने दन्तमंजन र विवाहित महिलाले नियमित प्रयोग गर्ने सिन्दूरमै सिसा भेटिनु जनस्वास्थ्य संकटको संकेत हो,' उनले भने।
कार्यक्रममा मिस नेपाल कस्मो २०२५ दीपशिखा नेपालले लिड फ्री उत्पादनको पक्षमा अभियान चलाइरहेको बताउँदै आफू ब्रान्ड एम्बेसडर बन्दा लिड फ्री उत्पादनसँग मात्र आबद्ध हुने प्रतिबद्धता जनाइन्।
अध्ययनले सरकारलाई कस्मेटिक सामग्रीका लागि अनिवार्य मापदण्ड, नियमित परीक्षण र प्रभावकारी कार्यान्वयन संयन्त्र निर्माण गर्न आग्रह गरेको छ। साथै उपभोक्तालाई सामग्री खरिद गर्दा ‘लिड फ्री’ लेबल भएको उत्पादन छनोट गर्न र शिशुमा परम्परागत रूपमा काजल लगाउने अभ्यास कम गर्न सुझाव दिएको छ।
दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका सामग्रीमै लिड भेटिनु अब केवल उपभोक्ताको रोजाइको विषय नभई राज्यको जिम्मेवारी र जनस्वास्थ्य सुरक्षाको गम्भीर प्रश्न बनेको छ।