काठमाडौं- मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचारका लागि भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेल आज डिस्चार्ज भएका छन्। राष्ट्रपति पौडेललाई अचानक चक्कर लाग्ने र बान्ता हुने समस्या देखिएपछि हिजो शनिबार अस्पताल भर्ना गरिएको थियो।
चौबिस घण्टा चिकित्सकको निगरानीमा राखेर आवश्यक उपचार गरेपछि स्वास्थ्यमा सुधार आएपछि राष्ट्रपतिलाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ।
अस्पतालका कार्यकारी निर्देशक डा रत्नमणि गजुरेलले डिस्चार्ज गरिएको विषयमा जानकारी दिँदै जारी गरेको प्रेस विज्ञप्तिमा स्वास्थ्य अवस्था सामान्य भएकाले आज डिस्चार्ज गरिएको उल्लेख छ।
'सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूको स्वास्थ्य अवस्थामा समस्या आएपछि यस सेन्टरमा उपचारार्थ भर्ना हुनुभएकोमा स्वास्थ्य परिक्षण तथा उपचार पश्चात उहाँको स्वास्थ्य अवस्था सामान्य भएकाले आज डिस्चार्ज गरिएको व्यहोरा जानकारी गराउँदछौं,' विज्ञप्तिमा भनिएको छ।
के भएको थियो राष्ट्रपति पौडेललाई?
अस्पताल स्रोतका अनुसार राष्ट्रपति पौडेललाई यसपटक मुटुको भन्दा पनि कानको भित्री भागमा देखिने समस्या 'बेनाइन प्यारोक्सिज्मल पोजिसनल भर्टिगो' (बीपीपीभी) भएको थियो।
मनमोहन सेन्टरमा भर्ना भए पनि राष्ट्रपतिको उपचारमा त्रिवि शिक्षण अस्पताल, नाक कान घाँटी (ईएनटी) रोग विभागका चिकित्सकहरू बढी खटिएका थिए। उनीहरूकै डाइग्नोसिस र उपचारपछि राष्ट्रपति पौडेल आज बिहान साढे १० बजे सामान्य अवस्थामा डिस्चार्ज भएको अस्पताल स्रोतले जानकारी दियो।
'शनिबार बिहान चक्कर लागेर तीन पटक बान्ता भएपछि उहाँलाई सुरुमा त्रिवि शिक्षण अस्पताल लगिएको थियो। तर, त्यहाँ भिभिआइपी क्याबिन खाली नभएपछि सँगैको मनमोहन सेन्टरको क्याबिन प्रयोग भएको हो। खास समस्या बीपीपीभी हो, जसमा अचानक चक्कर लाग्ने र बान्ता हुने जस्ता लक्षण देखिन्छन्,' स्रोतले भन्यो।