‘ग्रामीण क्षेत्रका जनताको स्वास्थ्यप्रति डा गोविन्द केसी चिन्तित रहेको थाहा पाएँ। उहाँकै प्रेरणाले मलाई रोल्पाको थवाङमा गएर काम गर्न प्रेरित गर्यो।’
यो भनाइ सकिन नपाउँदै हलमा ताली गुञ्जियो।
कार्यक्रम चलिरहेको थियो धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हलमा। र, उक्त कार्यक्रमका वक्ता थिए– १० वर्षदेखि रोल्पाको थवाङमा बिरामीको उपचारमा सेवारत जापानी डाक्टर रुकिची इसिदा।
गत शुक्रबार र शनिबार प्रतिष्ठानमा 'चिकित्सा विज्ञान र मानविकीबीचका विभिन्न आयामका विषयमा विचार गोष्ठी' भइरहेको थियो। उक्त गोष्ठीमा डा इसिदाको सेसन सुरु भएको थियो।
सेसनको विषय थियो- जापानदेखि थवाङ : एक डाक्टरको सेवा र निःस्वार्थताको असाधारण यात्रा।
डा इसिदाले पावरप्वाइन्टबाट प्रस्तुति सुरु गरेको केही मिनेट मात्र भएको थियो। पावरप्वाइन्ट प्रस्तुतिको चौँथो स्लाइडमा नै थियो डा गोविन्द केसीको नाम। डा केसीसँगै अरु दुई डाक्टरको पनि नाम थियो उक्त स्लाइडमा।
डा इसिदाले रोल्पाको थवाङतर्फको यात्राका विषयमा बोलिरहेका थिए।
पावरप्वाइन्टको स्लाइडमा 'मस्ट रेस्पेक्टेबल टिचर्स अफ माइ लाइफ' अर्थात् ‘मेरो जीवनका सर्वाधिक सम्मानित गुरुहरू’ लेखिएको देखियो।
जहाँ उनले उल्लेख गरेका थिए डा गोविन्द केसीको पनि नाम।
त्यसपछि हल तालीले गुञ्जयमान भएको हो।
000
बाहिर वातावरण निकै चिसो थियो। तर, हलभित्र करिब ३ सय जनाको तालीले माहोल पुरै गरम बनिरहेको थियो।
हलमा दर्शकका रुपमा थिए, प्रतिष्ठानका प्राध्यापक, डाक्टरी तथा नर्सिङ र स्वास्थ्यसम्बन्धी अन्य विषय अध्ययनरत विद्यार्थी।
हल तालीले गुञ्जयमान हुँदा डा इसिदा मुस्कुराइरहेका थिए।
त्यसपछि उनले आफ्नो जीवनका ३ सम्मानित गुरुका विषयमा संक्षिप्त व्याख्या गरे।
सम्मानित गुरुको पहिलो नम्बरमा उनले राखेका रहेछन् आफ्नै बुबालाई।
दोस्रो नम्बरमा थिए, क्यानडाका डा हेनरी नोरम्यान बेथुन।
र, तेस्रो नम्बरमा चाहिँ डा केसी।
‘उहाँहरु तीन जना नै मेरा आदर्श हुन्। सम्मानित गुरु हुन्,’ उनले भने, ‘ग्रामीण भेगमा बिरामीको सेवा गर्न म उहाँहरुबाट नै प्रेरित भएको हुँ।’
डा केसी गाउँ-गाउँ पुगेर बिरामीको निःशुल्क उपचार गरेको देखेर आफू निकै प्रभावित भएको उनले सुनाए। ‘धेरै टाढाबाट हिँडेर आएका बिरामीले डाक्टर उपचार गर्ने पैसा छैन भन्दा डा केसीले भो भो पर्दैन भन्नुहुन्छ,’ डा केसीले हात हल्लाउँदै पर्दैन भनेको कुरालाई डा इसिदाले पनि आफ्नो हात हल्लाउँदै देखाए।
डा इसिदाले आफ्ना बिरामीको थप उपचारका लागि डा केसीलाई रेफर गरेको कुरा समेत प्रस्तुतिमा उल्लेख गरे। सन् २०१५ मा डा केसीलाई एउटा जटिल बिरामी रेफर गरेको कुरा उनले प्रस्तुतिका क्रममा फोटोसहित देखाएका थिए।
जहाँ लेखिएको थियो, ‘मैले एक जना बालिकालाई थप उपचार गर्नुपर्ने भएपछि उहाँ काम गर्ने त्रिवि शिक्षण अस्पतालमा रेफर गरेको थिएँ। ती बालिकाको तिघ्राको हड्डीमा जटिल संक्रमण भएको थियो। हाम्रो जापानमा यस्तो जटिल समस्याको शल्यक्रिया गर्न सम्भव थिएन। तर, डाक्टर केसीले ती बालिकाको सफल शल्यक्रिया गर्नुभयो। त्यसकारण डा केसीको शल्यक्रिया निकै शिक्षाप्रद छ।’
प्रस्तुतिका क्रममा डा इसिदाले भूकम्पपछि डा केसीले धेरै बिरामीको सेवा गरेको कुरा फोटोसहित उल्लेख गरेका थिए। डा केसीको अनसनका समयमा अनसनस्थलमा पुगेर हात मिलाएको तस्बिर पनि उनले आफ्नो प्रस्तुतिमा राखेका थिए।
ooo
डा इसिदाका बुबा पनि चिकित्सक हुन्। जापान र चीनको द्वन्द्वको समयमा उनका बुबा सेनाका डाक्टर थिए। त्यसक्रममा उनी चीनको सेनाद्वारा समातिए।
चीनबाट जापान फर्किएपछि उनका बुबाले दलित समुदायमा गएर स्वास्थ्य सेवा दिए।
‘मेरो बुबाले डाक्टर भएपछि जनताको सेवा कसरी सेवा गर्नुपर्छ भन्ने मार्गदर्शन गर्नुभयो। म अहिले थवाङ आउनुको कारणमध्ये यो पनि एक हो,’ डा इसिदाले आफ्नो बुबा र थवाङ आउनुको कारणबारे थप प्रष्ट पार्दै भने, ‘मेरा अर्का गुरु डा हेनरीले मेरो बुबाको पथमा लाग्न प्रेरित गरे।’
ooo
हाडजोर्नी विशेषज्ञ डा इसिदाको नेपाल नाता ५० वर्ष पुरानो छ। प्रतिष्ठानका विद्यार्थीहरूको संस्था ‘परिक्रमा विद्यार्थी परिवार र जुनियर रेजिडेन्ट वेल्फेयर सोसाइटीले आयोजना गरेको उक्त कार्यक्रममा डा इसिदाले यो जानकारी दिँदा हलमा भएका अधिकांशले आपसमा मुखामुख गरिरहेका थिए।
‘सन् १९६८ मा म पहिलो पटक नेपाल आएको हुँ। त्यतिबेला म मेडिकल विद्यार्थी थिएँ। नेपालमा मेरो दोस्रो जीवन १३ वर्षअघि सुरु भएको हो,’ उनले यति भनेपछि हल फेरि तालीले गुञ्जयमान भयो। ७३ वर्षे डा इसिदाको अनुहारमा मुस्कानसहितको चमक देखियो।
‘मेडिकल विद्यार्थी हुँदा पाल्पाको तानसेनमा म डा इवामुरासँग पुगेको थिएँ,’ उनले भने, ‘त्यतिबेलाको माया र सम्मान मैले अझै पनि भुलेको छैन। मैले त्यतिबेलै डाक्टर भएपछि नेपाल आउँछु र तपाईंको सेवा गर्छु भनेको थिएँ। अहिले त्यही वचन पूरा गरिरहेको छु।’
हाडजोर्नी विशेषज्ञ डा इसिदा आफ्नो रिटायर्ड जीवन नेपालको दुर्गम क्षेत्रका बिरामीको सेवामा बिताउने गरी आएका हुन्।
सन् २००६ मा उनले पाल्पाको तानसेनस्थित मिसन अस्पतालमा स्वयंसेवकका रुपमा काम गरे। त्यसपछि सन् २००७ मा रुकुमको चौरजहारी अस्पतालमा पुगे। उनले स्वयंसेवकका रुपमा नै काम गरिरहेका थिए।
त्यसक्रममा उनले ग्रामीण र दुरदराजका बिरामीको सामान्य समस्या पनि समयमा नै उपचार नहुँदा जटिल भएको देखे। हाडजोर्नीका चोटपटकका सामान्य समस्या समयमा नै उपचार नहुँदा हातखुट्टा नै गुमाउनु परेका बिरामी भेटे।
नेपालको ग्रामीण भेगमा यस्ता समस्या कसरी समयमा नै समाधान गर्न सकिन्छ भनेर बुझ्न अनुसन्धान नै गरे। सन् २००९ मा उनले प्राइमरी ट्रमा केयर रिसर्च क्याराभान अभियान नै सुरु गरे। यसका लागि जुम्ला, रुकुम, रोल्पा र बाग्लुङका १२ वटा गाउँमा हिँडेर नै पुगे। त्यहाँ उनले शिविर चलाए। यसका लागि उनले ६ हप्ता निरन्तर हिँडेका थिए।
‘अहो! यहाँको उकालो ओरालो बाटो हिँड्न निकै कठिन भएको थियो,’ कार्यक्रममा उनले भने, ‘तर त्यसक्रममा धेरै बिरामीले उपचार पाए। धेरैले मलाई आर्शिवाद र माया दिए।’
६ हप्ताको उक्त अध्ययनपछि उनले थवाङमा बसेर ग्रामीण भेगका बिरामीको सेवामा लाग्ने निधो गरेका रहेछन्। भन्छन्, ‘ग्रामीण क्षेत्रको स्वास्थ्य सेवालाई परिवर्तन गर्दै बिरामीलाई नयाँ जीवन दिन मैले थवाङमा बसेर सेवा दिने निर्णय गरेको हुँ।’
उक्त यात्रा र थवाङमा बिरामीको उपचारका क्रममा उनले नेपालको केही परम्परागत उपचार विधिका बारेमा पनि जानकारी पाएछन्।
ooo
थवाङमा सन् २००२ मा तत्कालीन माओवादी र सरकारबीचको द्वन्द्वका कारण स्वास्थ्य चौकीसमेत ध्वस्त भएको थियो। डा इसिदाले आफ्नो प्रस्तुतिमा ध्वस्त भएको स्वास्थ्य चौकीको तस्बिर देखाए। ‘सो समयमा उक्त स्वास्थ्य चौकी अन्तर्गत सेवारत महिला स्वास्थ्य स्वयंसेविका लालीको समेत मृत्यु भएको रहेछ,’ यो जानकारी दिने क्रममा उनी केही भावुक देखिए।
‘सायद लालीको आत्माले पनि मलाई द्वन्द्वपछिको पुर्नसंरचनामा काम गर्न थवाङमा बोलाएको पो हो कि?’ उनले भावुक हुँदै भने।
पछि उक्त क्षेत्रमा एउटा सानो भवनमा स्वास्थ्य चौकी बनाइएको थियो। एक जना सिएमएले मात्र सेवा दिइरहेका थिए।
डा इसिदा थवाङको नियमित सेवामा जुटे। थवाङका स्थानीयलाई साथ दिए।
बिरामीको सेवाका लागि थवाङमा सन् २०११ मा जलजला स्वास्थ्य सहकारी खुल्यो। सहकारी हो वा सामुदायिक अस्पताल भन्ने विषय आउन थालेपछि सन् २०१३ मा त्यसलाई जलजला समुदायिक स्वास्थ्य केन्द्रका रुपमा परिवर्तन गरियो। दुई वर्षअघि अर्थात् सन् २०१७ मा त्यसलाई जलजला सामुदायिक अस्पतालका रुपमा दर्ता गरिएको उनले जानकारी दिए। एक वर्षअघि थवाङ स्वास्थ्य चौकीसँग उक्त संस्था मर्ज गरेर थवाङ गाउँपालिका जलजला अस्पतालमा विस्तार गरिएको पनि उनले सुनाए।
‘अब त अस्पतालका रुपमा सेवा विस्तार भएको छ,’ उनले भने, ‘हामी झन् धेरै बिरामीलाई सहज रुपमा सेवा दिन सक्ने भएका छौं।’
000
उनले स्वास्थ्य सेवा सबैलाई समान अवसर दिइनुपर्ने कुरामा जोड दिए। प्रस्तुतिका क्रममा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको फोटो देखाए।
सन् २०११ मा थवाङ पुगेका प्रचण्डले डा इसिदासँग ओपिडीको अवलोकन गरेका रहेछन्। त्यही समयमा खिचेको तस्बिर देखाउँदै उनले हलबाट नै प्रचण्डसँग पुनः आग्रह गरे, ‘कृपया ग्रामीण क्षेत्र र राजधानीबीचको असमाना अन्त्य गर्नुहोस्।’
ooo
९६ वटा स्लाइड भएको उनको प्रस्तुतिमा उनकी श्रीमती र छोराछोरी नेपाल आएको तस्बिर समेत राखेका थिए। उनकी श्रीमती भने थवाङको जीवनशैलीमा सहजै भिज्न नसकेपछि जापानमा नै बसिरहेकी रहेछिन्।
‘अबको केही समयपछि म श्रीमती भेट्न जापान जाँदैछु,’ उनले भने, ‘उता करिब ३ महिना बसेपछि फेरि नेपाल आउँछु र यहाँको सेवामा खटिन्छु।’
थवाङ गाँउको फोटो देखाउँदै उनले आफ्नो प्रस्तुती अन्त्य गरे।