डा विष्णु सापकोटा अमेरिका नेपाल मेडिकल फाउन्डेसन (एएनएमएफ)का अध्यक्ष हुन्। फाउन्डेसनले नेपालको स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आइरहेको छ। अमेरिकाको न्युयोर्कमा ग्याष्ट्रोइन्टेरोलोजिष्टका रुपमा बिरामीको सेवामा रमेका डा सापकोटा पछिल्लो केही वर्षदेखि फ्याकल्टीका रुपमा पढाउने काममा पनि उत्तिकै सक्रिय छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नेपाल हेल्थ कनक्लेभमा सहभागी हुन डा सापकोटा हालै नेपाल आएका थिए। डा सापकोटा नेपाल आएको समयमा स्वास्थ्यखबरका लागि प्रवीण ढकालले गरेको कुराकानी:
स्वास्थ्य मन्त्रालयले डायस्पोरामा रहेका नेपालीहरुलाई जोड्ने प्रयास गरेको देखिन्छ। डायस्पोरालाई युनाइट गर्न कत्तिको सहज छ ?
स्वास्थ्य मन्त्रालयको यो प्रयासलाई हामीले निकै सकारात्मक रुपमा लिएका छौं। मन्त्रालयको यो कदमका कारण सम्मेलनमा धेरै देशमा छरिएर रहेका स्वास्थ्य जनश क्तिहरु एकै ठाउँमा भेला हुन सकेका छौं। जहाँसम्म डायस्पोरालाई युनाइट गर्ने कुरा छ, त्यो सम्भव छ र सहज पनि छ । हामीले त्यसको केही अभ्यासहरु गरिरहेका पनि छौं। अमेरिका नेपाल फाउण्डेसनले दाताहरुबाट पैसा उठाएपनि आफूले गएर फिल्डमा काम गर्दैन। नेपालमा हाम्रो पार्टनर संस्था ‘अमेरिका नेपाल मेडिकल फाउण्डेसन नेपाल’ छ, त्यसबाट केही कामहरु भइरहेका छन् भने अन्य गैरसरकारी संस्थाहरुलाई पनि हामीले विभिन्न प्रोजेक्टमा सहहयोग गरिरहेका छौं। फाउन्डेसनले अमेरिकामा छरिएर रहेका नेपालीहरुलाई जोड्दै अगाडि बढ्ने काम गरिरहेको छ। यसलाई अब अझ वृहत बनाउँदै जान सकिन्छ। किनकी एउटा व्यक्ति वा संस्थाले गर्ने कामभन्दा सबैको साथ र सहयोगबाट हुने काम निकै फलदायी र राम्रो हुन्छ। त्यसैले सबैले सहकार्यमा काम गर्न जरुरी छ। डायस्पोरालाई जोड्न त्यति गाह्रो काम छैन जस्तो मलाई लाग्छ।
अमेरिका नेपाल फाउण्डेसनको अध्यक्षको जिम्मेवारी कसरी सम्हाल्दै हुनुहुन्छ? तपाईंको योजना अनुसार काम अगाडि बढिरहेको छ?
म अध्यक्ष नियुक्त भएपछि मैले ‘रोडम्याप’ बनाएको थिएँ। उक्त रोडम्यापको प्रमुख काम भनेको नै ‘अमेरिका नेपाल मेडिकल फाउण्डेसन’ले डायस्पोरामा रहेका स्वास्थ्य क्षेत्रमा सक्रिय नेपालीहरुलाई ‘युनाइट’ गर्नुपर्छ, उनीहरुलाई सँगै लिएर जानुपर्छ भन्ने नै हो। त्यही अनुसार कामहरु अगाडि बढीरहेको छ। डायस्पोरामा रहेका जनशक्तिहरु के–के विषयमा सशक्त छन् उनीहरुलाई प्रमोट गर्नुपर्छ भन्ने पनि मेरो एजेन्डा हो। त्यसमा मैले काम गरिरहेको छु। यसो हुँदा काममा डुब्लिकेसन हुने समस्या हट्ने र धेरै भन्दा धेरै काम गर्न सकिने रहेछ। जस्तो उदाहरणका लागि मानसिक स्वास्थ्यका क्षेत्रमा हेल्थ फाउन्डेसन नेपाल र नेपाल इन्स्टिच्युट अफ मेन्टल हेल्थले मानसिक स्वास्थ्य र अन्य केही क्षेत्रमा निकै राम्रो काम गरिरहेका छन्। अब हामीले के गर्यौं भने उहाँहरुले गर्ने काम अब हामीले डुब्लिकेट नगर्ने, उहाँहरुलाई नै सहयोग गर्ने। त्यही अन्तर्गत नेपालमा रेडियो मेन्टल हेल्थ, डिजास्टर मेन्टल हेल्थ कार्यक्रमहरु भइरहेका छन्। डायस्पोरामा रहेकाहरुमध्ये कोसँग के विषयमा क्षमता र स्किल छ त्यसलाई सहयोग गर्ने र त्यस्ता कार्यक्रम अरुले नगर्ने भन्ने काम सुरु भइसकेको छ। यसले कहाँ कस्को के क्षमता छ र त्यसलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने साझा मत आउँछ र एकजुट भएर जाँदा नतिजा पनि राम्रो आउँछ ।
दोस्रो भनेको उत्प्रेरक, प्रभावकारी र दिगो प्रोजेक्टहरुमा नै हामीले जोड दिनुपर्छ। यो कुरामा हामी पहिले देखिनै लागिरहेका पनि छौं। त्यसलाई निरन्तरता दिइरहेका छौं। सानासाना कामसँगै हामीले ठूला र प्रभावकारी काममा नै जोड दिइरहेका छौं। अर्को भनेको हामीले गरेका कामहरुको सार्वजनिकरण गर्ने काममा भने हामीले अलि कम ध्यान दिएका हौं कि जस्तो लाग्छ। वा हामी प्रचारभन्दा पनि बढी काममा नै केन्द्रित भएका हौं कि भन्ने पनि लाग्छ। हाम्रा कतिपय कामहरु नागरिकले थाहा पाउनु पर्ने खालका पनि छन्। त्यसकारण अहिले हामीले हाम्रा कामहरुको प्रचार प्रसार पनि गर्न थालेका छौं। दाताहरुको विवरण पनि वेभसाइटमा राखेका छौं।
एएनएमएफको अध्यक्षको रुपमा काम गर्दा कस्ता–कस्ता चूनौतीहरुको सामना गर्नुपर्ने रहेछ?
सबैभन्दा ठूलो च्यालेन्ज व्यक्तिगत च्यालेन्ज नै हुन्छ। हामी सबै वर्किङ प्रोफेसनल हो। आफ्नो बालबच्चा, परिवारको समय पनि हुन्छ। काम गर्ने भनेको आफ्नो काम सकेर बचेको समयमा हो। त्यसैले सयम व्यवस्थापन सबैभन्दा ठूलो च्यालेन्ज हो। नेपालका संघसस्थासँग मिटिङ गर्नुपर्दा समय मिल्दैन। रातको समयमा उठेर मिटिङ गर्नुपर्छ। मान्छेलाई कुनै एजेण्डामा अगाडि बढाउन, त्यसलाई बुझाएर त्यही अनुसार लैजान पनि च्यालेन्ज छ। चुनौतीसँगै अवसर पनि छन्। यो पद भनेको नै चुनौतीको सामाना गर्दै कामहरु अगाडि लैजाने खालको हो। त्यसकारण मैले यसलाई चुनौती कम अवसर बढीका रुपमा लिएको छु।
अहिले नेपाललाई जोडेर के–के काम गरिरहनु भएको छ?
सबैभन्दा ठूलो प्रोजेक्टको रुपमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक लाख डलरको ब्लड बैंकको प्रोजेक्ट स्वीकृत गर्यौं। केही समयअघि सोसल वेलफेयर काउन्सिलबाट स्वीकृती आयो। अब बजेट निकासा गरेर सामान खरिदको विधि, प्रक्रिया पुरा गरेर अगाडि बढ्छौं। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नै अर्को प्रोजेक्ट प्रोब्लम बेस्ड लर्निङ कार्यक्रम पनि पारित गरेका छौं। यो कार्यक्रममा हमीले ट्युटरलाई ट्रेन गर्छौं।
केही समयअघि गएको बाढीले असर गरेको काभ्रे र काठमाडौं क्षेत्रमा पनि हामीले सहयोग गरेका छौं। नेपाल चिकित्सक संघ र अमेरिकामा भएका डायस्पोरासँग मिलेर फन्डरेज गरेर काठमाडौंको बल्खु एरिया र काभ्रेमा बाढी पिडिललाई हेल्थ क्याम्प, राहात वितरण लगायतका काम ग¥र्यौं। अर्को विपद्मा तत्काल पर्ने मानसिक स्वास्थ्यको विषयमा खासै काम भएको थिएन। हामीले यसमा पनि नेपाल इन्स्टिच्युट अफ मेन्टलहेल्थसँग मिलेर मेन्टल हेल्थमा अर्को बजेट पारित गरेका छौं। अंगदानमा हुने गलत चोरीचकारी विषयमा सचेतना कार्यक्रम गरिरहेका छौं। कीर्तिपुर अस्पतालमा वर्न युनिटमा आइसीयू लगायतका सेवा थपका लागि एक हजार डलरको बजेट स्वीकृत भएको छ। अन्य प्रोजेक्टहरुमा पनि कामहरु भइरहेको छ।
एएनएमएफले पब्लिक हेल्थमा काम गर्ने केही सोच बनाएको छ?
फाउण्डेसनको कामको पनि आफ्नौ सिमितता हुन्छ। यसले हेल्थकेयर सिस्टमलाई रिप्लेस गर्न सक्दैन र हुँदैन पनि। फाउण्डेसनले लक्षित क्षेत्र र विषय छुट्याएर त्यहाँ काम गर्न हो। हामीले ७७ जिल्लामा नै अक्सिजन प्लान्ट पुर्याउन सक्ने थिएनौं। तर आइडियालाई बाँड्यौ। केही स्थानमा अक्सिजन प्लान्ट बनाएर दियौं। त्यो आइडियामा सरकारले पनि अन्यत्र काम अगाडि बढाएको अवस्था छ। अहिले सबै जिल्लामा अक्सिजन प्लान्ट पुगेको छ। अब हामी स्क्रिनिङ कार्यक्रममा होमवर्क गरिरहेका छौं। स्तन क्यान्सर, कोलन क्यान्सर, सभाईकल क्यान्सरको समस्याहरुको स्क्रिनिङमा केही गर्ने योजना छ। यसमा चाँही हामी अहिले 'क्यान्सर स्क्रिनिङ कार्यक्रम' भनेर अवधारणा र अनुदान लेखनकै चरणमा छौं। यस कार्यक्रम अन्तर्गत हामीले मोबाइल क्यान्सर स्क्रिनिङ भेइकल हरेक प्रदेशमा एउटा उपलब्ध गराउने सोच बनाएका छौं। उक्त भेइकलमा आवश्यक सामग्री र प्राविधिक पनि दिने योजना छ। त्यो भेइकलले स्वास्थ्यचौकी वा स्कुलमा पुगेर गाउँ-गाउँमा गएर मेमोग्राम वा अन्य क्यान्सरको स्क्रिनिङ गर्न सक्छ। सातै प्रदेशमा त्यो भेइकल दिन सक्यौं भने सायद सरकारले नै ओनरसिप लिएर सातै प्रदेशमा गाउँ गाउँमा स्क्रिनिङको काम अगाडि बढाउन सक्छ।
एएनएमएफले गरेको सहयोग र नेपालमा त्यसको प्रभावकारीताबारे केही अध्ययन गर्नुभएको छ?
यसमा हामीले ‘इम्प्याक्ट एनालाइसिस’ गरिरहेका छौं। सबै प्रोजेक्टहरु सफल हुन्छ भन्ने पनि हुँदैन। तर हामीले गरेका अघिकांश प्रोजेक्टहरु सफल भएका छन्। समस्या के रहेछ भने प्रोजेक्टहरुको सस्टेनलिविटीमा समस्या रहेछ। उदाहरणका लागि हामीले स्वास्थ्य चौकीको भवन बनाएर हस्तान्तरण गर्यौं। तर पछि त्यसको मर्मत तथा सञ्चालनमा समस्या देखिएको छ। हामीले हाम्रो तर्फबाट काम सम्पन्न गरे पनि अन्यत्र निकायबाट काम नहुँदा समस्या परेको जस्तो देखिने रहेछ। अक्सिजन प्लान्टको पनि मर्मतमा समस्या हुने रहेछ। तर समग्रमा भन्नुपर्दा हाम्रा प्रोजेक्टहरु सफल नै भएका छन्।
आफ्नो कार्यकाल सकेर जाँदै गर्दा संस्थालाई कस्तो बनाउँछु भन्ने कल्पना गर्नुभएको छ?
हाम्रो संस्थामा हरेक २ वर्षमा अध्यक्ष परिवर्तन हुन्छ। तर ५, ६ वर्षको लागि लिडरसिप पनि त्यही अनुसार तयार गरेर गइसकेका हुन्छौं। त्यसैले के के गर्ने भन्ने फ्रेमवर्क तयार नै हुन्छ। अघिल्ले लिडरसिपले तय गरेको कामलाई निरन्तरता दिँदै नयाँ कार्यक्रम ल्याउने काम हुन्छ। हाम्रो प्रोजेक्टहरु संस्थाको मापदण्ड अनुसार चल्ने भएकाले नेतृत्व परिवर्तन भएसँगै कार्यक्रममा ठूलो परिवर्तन भने हुँदैन। हामीले नेपालमा प्रभावकारी हुने ठाउँ हेरेर काम गर्छौं। जस्तो पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एएनएमएफले 'पेडियाट्रिक क्रिटिकल केयर फेलोसिप' कार्यक्रम सुरु र निरन्तरता दिन सहयोग गरेको छ। त्यसअनुसार पहिलो फेलोजहरु तयार हुँदै हुनुहुन्छ। हामीले यस्ता विषयमा ध्यान दिन्छौं। नेपालको स्वास्थ्य क्षेत्रमा आवश्यक रहेका र दूरगामी फाइदा हुने विषयमा हामीले सहयोग गर्छौं।
अमेरिकामा दुई दशकदेखि कार्यरत तपाईंको नेपाल फर्कने कुनै योजना छ ?
तत्कालै नेपालमा फर्किहाल्ने अवस्था त छैन। तर नेपालको मायाले भने सँधै तानिनै रहन्छ। मलाई नेपालले धेरै कुरा दिएको छ। नेपालमै पढेँ, बढेँ, हुर्किएँ। नेपालले नै मलाई डाक्टर पढाएको हो। त्यसकारण मलाई सँधै नेपाललाई केही दिनुपर्छ भन्ने लागिरहन्छ। त्यही भएर नै म यो संस्थामा जोडिएको हुँ। देशका लागि आफ्ना तर्फबाट सक्दो गरिरहेको छु। अहिले मेरो छोराछोरीहरु पढ्ने क्रममा नै छन्। उनीहरु हुर्किएपछि, पढाइको एउटा तहमा पुगेपछि नेपाल फर्किएर काम गर्ने इच्छा भने छ।