मुगु- कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले मुगुमा विशेषज्ञ उपचार सेवा दिएको छ।
प्रतिष्ठानका उपकुलपति डा. पूजन रोकाया नेतृत्वको टोलीले मुगुमा विशेषज्ञ सेवा दिएको हो। टोलीले मुगुमा २०० भन्दा बढी बिरामीको निशुल्क उपचार गरेको छ।
मुगुका स्थानीयलाई विविध रोगका परामर्श, परीक्षण र उपचारसमेत प्रदान गर्दै दुर्गम क्षेत्रका जनतासम्म पहुँचयोग्य सेवा पुर्याउने उद्देश्यले विशेषज्ञ टोलीसहितको उपचार सेवा सञ्चालन गरेको उपकुलपति डा रोकायाले जानकारी दिए।
उनका अनुसार प्रतिष्ठानले हरेक महिनाको पहिलो आइतबार मुगुमा नियमित विशेषज्ञ सेवा दिँदै आइरहेको छ। यस्तै हरेक तीन महिनामा मानसिक स्वास्थ्य विशेषज्ञ सेवा पनि मुगुमा दिँदै आएको उपकुलपति डा रोकायाले बताए।
आइतबारको विशेषज्ञ टोली सहितको सेवामा प्रतिष्ठानको जिपी आकस्मिक विभागका प्रमुख डा. अनुप मंगल समाल, मानसिक रोग विशेषज्ञ डा. देविका डगोंल, नाक–कान–घाँटी विशेषज्ञ डा. अनुपम कोइराला, मेडिसिन विशेषज्ञ डा. राजेन्द्र गिरि, हाडजोर्नी विशेषज्ञ डा. तुफान कठायतलगायतले सेवा दिएका छन्।
जटिल तथा शल्यक्रिया आवश्यक परेका आर्थिक रूपमा कमजोर बिरामीलाई जुम्लामा निःशुल्क उपचार गर्ने प्रतिबद्धता उपकुलपति रोकायाले व्यक्त गरेका छन्।
प्रतिष्ठानले टेलिमेडिसिन सेवा अझ प्रभावकारी बनाउने तथा मुगुमा स्वास्थ्य बीमाको पहुँच विस्तार गर्ने गरी विशेषज्ञ सेवा विस्तार गर्दै लगेको हो।
उपकुलपति डा. रोकायाले कठिन भौगोलिक अवस्था र सीमित स्रोतबीच निरन्तर सेवा दिइरहेका स्थानीय चिकित्सकहरूको प्रशंसा गर्दै, दुर्गम जनताको सेवा नै 'साँचो चिकित्सकत्व' भएको उल्लेख गरे।
विशेषज्ञ सेवासहित शिविरमा सक्रिय मुगु अस्पतालका चिकित्सक बालरोग विशेषज्ञ डा. निरमल नागरकोटी, डा. नहकुल शाही, डा. अर्जुन भाम, डा. दिपेन्द्र शाही, डा. सन्तोष उपाध्याय र डा विप्लव चौधरी लगायतको टिमलाई उपकुलपति रोकायले विशेष धन्यवाद दिएका छन्।
प्रतिष्ठानका निर्देशक डा. कमल थानीका अनुसार प्रतिष्ठानबाट सुरु भएको नियमित विशेषज्ञ सेवाले मुगुवासीले गाउँमै उच्चस्तरीय उपचार पाउने आशा थप बलियो भएको छ।
दुर्गममा बसेर निरन्तर सेवा दिने चिकित्सकहरूले कठिनाइलाई जितेर जनताको जीवन रक्षा गरिरहेको उल्लेख गर्दै उपकुलपति रोकायाले उनीहरुको उचित सम्मान, प्रोत्साहन र सुरक्षा प्रदान गर्नु सरकारको प्राथमिक जिम्मेवारी हुनुपर्नेमा जोड दिए।

