काठमाडौं- डा. सुधा शर्मा गौतमले आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रीको पदभार ग्रहण गरेकी छिन्। तीन दशकभन्दा लामो समय सरकारी स्वास्थ्य सेवामा सक्रिय डा सुधा मन्त्रालयको प्रशासनिक नेतृत्व तहमा पुगेर बिदा भएकी थिइन्। अब सोही मन्त्रालयको राजनीतिक बागडोर सम्हाल्ने जिम्मेवारी प्राप्त भएको छ। प्रशासनिक नेतृत्वमा रहँदा 'शक्ति र राजनीतिक दबाब' महशुस गरेकी उनले मन्त्रीका रुपमा निष्फिक्री स्वास्थ्य क्षेत्र सुधारको सुरुवात गर्ने अवसर प्राप्त गरेकी छिन्।
आमजनको निराशाबाट उत्पन्न आक्रोशको आगोले जलेको मन्त्रालयको भवन हुँदै हरेक दिन गुज्रिनुपर्नेछ। त्यसले उनलाई सम्झाइरहनेछ- मन्त्रालयलाई भौतिक रुपमा पुन:स्थापना गर्नु त छँदैछ, संरचनागत सुधार पनि जरुरी छ। २०३९ सालमा मेडिकल अधिकृतको रूपमा सुरु भएको 'स्वास्थ्य सेवा यात्रा' सचिव हुँदै मन्त्रीसम्म पुगेको छ। जुन एउटा स्वास्थ्य सेवीको लागि सपना मात्रै होइन, अमूल्य अवसर पनि हो। अहिले शिरमा स्वास्थ्य सेवालाई जरैदेखि बुझेकी यी विज्ञ चिकित्सक पुगेकी छिन्। उनको आगमनसँगै नीतिगत र प्रशासनिक सुधारको ठूलो अपेक्षा गरिएको छ। यद्यपि उनको कार्यकाल भने निकै छोटो छ।तर, छोटो समयमा पनि उनले केही नीतिगत सुधारका सुरुवात भने गर्ने सक्ने अपेक्षा गरिएको छ।
विगतमा स्वास्थ्य क्षेत्रका प्राविधिक विषय नबुझ्ने मन्त्रीहरूको आगमनले नीतिगत र प्रशासनिक सुधारमा ढिलाइ हुन्थ्यो। प्राविधिक शब्दावली र जटिल विषयवस्तुले उनीहरूलाई अलमलमा पार्थ्यो, जसले सुधारका लागि समय र ऊर्जा खेर जान्थ्यो। तर डा. शर्माको हकमा यो अवरोध लागू हुँदैन। स्वास्थ्य क्षेत्रको प्राविधिक र प्रशासनिक दुवै पक्षमा उनको लामो अनुभव र गहिरो बुझाइले उनलाई मन्त्रीको रूपमा तत्कालै प्रभावकारी कदम चाल्न सक्षम बनाउँछ।
उनको नेतृत्वले स्वास्थ्य क्षेत्रलाई नयाँ लय र दिशातर्फ अगाडि बढाउने पाइलाको सुरुवात गर्नेछ भन्ने विश्वास स्वास्थ्य क्षेत्रकाहरुले लिएका छन्। तर, उनीसँग पर्याप्त समयक छैन । विगतका मन्त्रीजस्तै प्रशासनिक जटिलतामा अल्झिइन् भने अपेक्षित उपलब्धी हासिल हुने छैन। विज्ञ मन्त्रीका रुपमा उनले यहीँनेर चलाखी गर्नुपर्ने देखिन्छ।
मन्त्रालयको प्रणाली भित्रैबाट आएका कारण मन्त्रालय परिवारबाट प्रशासनिक रुपमा सहयोग मिल्ने आशा उनले पदाभार ग्रहणका क्रममा समेत गरिन्। आफूले जीवनको उर्वर समय स्वास्थ्य क्षेत्रलाई नै दिएको स्मरण गराउँदै उनले भनेकी थिइन्, 'म यो स्वास्थ्य मन्त्रालयको परिवार हुँ। मैले आफ्नो जीवनको ३२ वर्ष उर्वर, क्रियाशील र सक्षम समय यहाँ बिताएकी छु।'
पदभार ग्रहणका क्रममा डा. शर्माले स्वास्थ्य मन्त्रालयमा भ्रष्टाचार शून्य सहनशीलता र पूर्ण आर्थिक पारदर्शिता कायम गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन्। 'अहिले देशको जटिल अवस्थामा मन्त्रीको रूपमा कार्यभार सम्हाल्दै छु। भ्रष्टाचार बढ्यो, सुशासन भएन भनेर नै जेनजी आन्दोलन भएको हो। त्यही भावनालाई आत्मसात् गर्दै म मुहान सफा गर्न लाग्छु। हामीले मुहान सफा गर्न सकिन्छ र सक्छौं। कुनैपनि तहमा भ्रष्टाचार भएको सुन्न नपरोस्,' उनको भनाइ थियो। उनको यो दृढ अठोट र छविले मन्त्रीको रूपमा उनको नेतृत्वप्रति ठूलो आशा जगाएको छ। स्वास्थ्य क्षेत्रका चुनौतीहरूलाई सम्बोधन गर्न उनको अनुभव, विज्ञता र पेसागत निष्ठा बलियो आधार बन्ने विश्वास गरिएको छ।
डा. शर्माको पेशागत इतिहास केलाउँदा ठूलो विवादमा मुछिएको पाइँदैन। चाहे मेडिकल अफिसरको रूपमा चितवनको भरतपुरमा सेवा गर्दा होस्, चाहे प्रसूति गृहको निर्देशक वा स्वास्थ्य मन्त्रालयको सचिवको जिम्मेवारी सम्हाल्दा उनले सार्वजनिक रुपमा आलोच्य र प्रशासनिक रुपमा विवादित निर्णय लिइनन्। उनको यो छवि र विज्ञताले नै स्वास्थ्य मन्त्रीको कुर्सीसम्मको यात्रा तय गर्न सफल बनाएको हो।
मन्त्रीको पदभार ग्रहणका क्रममा पनि उनले यो कुरा निकाल्दै भनिन्, 'विगतमा मैले गरेका सत्कर्मकै कारण आज म यो स्थानमा आइपुगेकी हुँ। मैले विगतमा प्रशासनिक रूपमा जति सकेँ, सुधार गरेँ। तर, राजनीतिक रूपमा गर्न नसकेका कामहरू मेरो हातमा नभएका कारण सचिव पदबाट राजीनामा दिएको थिएँ। अब म राजनीतिक रूपमा सुधार गर्न सक्ने स्थानमा छु र म यो अवसरलाई पूर्ण उपयोग गरेर स्वास्थ्य क्षेत्रलाई स्वच्छ र प्रभावकारी बनाउनेछु।'
मेडिकल अधिकृतदेखि मन्त्रीसम्मको यात्रा
काठमाडौंको गैह्रीधारास्थित गौतम परिवारको फराकिलो घरमा २०१२ सालको असारमा जन्मिएकी सुधा शर्मा आज नेपालको स्वास्थ्य मन्त्रीको कुर्सीमा पुगेकी छिन्। डा सुधा गौतम परिवारकी कान्छी छोरी थिइन्, जहाँ ११ सन्तानमध्ये उनले सबैको माया र हौसला पाइन्। हजुरबुवा कुलचन्द्र गौतम ‘विद्वत्शिरोमणि’ उपाधिबाट सम्मानित संस्कृत र नेपाली साहित्यका विद्वान् थिए। सरकारी जागिरे बुबा लक्ष्मीनाथ गौतमले उनको बाल्यकाललाई बौद्धिक र नैतिक मूल्यले सजाए। आमाको प्रेरणाले पढाइप्रति उनको लगाव झन् गहिरियो। सानैदेखि अमरकोश र अष्टाध्यायी पढेपछि कन्यामन्दिर विद्यालयमा औपचारिक शिक्षा सुरु गरेकी सुधाले स्कूल नजाँदै हिसाब र नेपाली किताबमा रमाइसकेकी थिइन्।
२०२८ सालको प्रवेशिका परीक्षामा छात्रातर्फ प्रथम भएकी सुधाले डाक्टर बन्ने सपना बोकेर भारतको राँचीस्थित राजेन्द्र मेडिकल कलेजबाट एमबीबीएस पूरा गरिन्। यो सपनाको बाटोमा उनले विवाह र पारिवारिक जिम्मेवारीलाई पनि सँगसँगै अघि बढाइन्।
एमबीबीएसको अन्तिम वर्षमा डा. विजयकुमार शर्मासँग विवाह भयो। तर, सुधाले आफ्नो पढाइलाई कहिल्यै पछाडि पर्न दिइनन्। २०३६ सालको जनमत संग्रहको समयमा भएको सामान्य विवाहपछि उनले श्रीमान्सँगै गोरखपुर र दिल्लीमा समय बिताइन्। इन्टर्नसिपकै बेला पहिलो सन्तान छोरा जन्मिए र १३ महिनापछि छोरी। बच्चाहरूलाई माइतीमा छोडेर उनी राँची फर्किइन्, एमबीबीएसको प्रमाणपत्र लिइन् र पेशागत यात्रा सुरु गरिन्।
२०३९ सालमा स्वास्थ्य मन्त्रालयअन्तर्गत चितवनको भरतपुरमा श्रीमान्–श्रीमती दुवैले लोकसेवामार्फत काम सुरु गरे। सुधाले त्रिवि शिक्षण अस्पतालमा डिप्लोमा इन गाइनो अब्स (डीजीओ) कोर्स पूरा गरिन् र विराटनगरमा प्रसूति सेवा प्रदान गरिन्। तर, उनको मनमा पढाइको भोक मेटिएको थिएन। बेलायतमा एमआरसीओजीको कठिन परीक्षा एकैपटकमा पास गरेर उनले एफआरसीओजी उपाधि हासिल गरिन्। नेपाल फर्किएपछि १९९५ देखि प्रसूतिगृहमा उनले विशेषज्ञ सेवालाई नयाँ उचाइमा पुर्याइन्।
नेसोगदेखि चिकित्सक संघको पहिलो महिला अध्यक्षसम्म
सुधाको नेतृत्व क्षमता नेपाल स्त्रीरोग तथा प्रसूति समाज (नेसोग) मा स्पष्ट देखियो। डा. विमला लाखेले उनलाई वर्कसपको जिम्मेवारी दिएपछि सुधाले महासचिव, वरिष्ठ उपाध्यक्ष हुँदै नेसोगको अध्यक्षसम्मको यात्रा तय गरिन्। उनले अन्तर्राष्ट्रिय परियोजनाहरू भित्र्याएर नेसोगलाई बलियो बनाइन्।
नेपाल चिकित्सक संघ (एनएमए) मा जर्नल सम्पादक हुँदै उनले २०६१ सालमा अध्यक्षको जिम्मेवारी सम्हालिन्। यो नेपालको राजनीतिक परिवर्तनको संवेदनशील समय थियो। २०६२/६३ को जनआन्दोलनमा उनले पेसागत संगठनहरूको साझा मञ्च (पापड)को नेतृत्व लिइन्। माइतीघर मण्डलामा निषेधित क्षेत्र तोडेर उनले लोकतन्त्रका लागि आवाज बुलन्द गरिन्।
तत्कालीन स्वास्थ्य मन्त्री निक्षशमशेर जबरासँगको भेटमा उनले निर्भीकतापूर्वक भनिन्, 'कारबाहीले मलाई फरक पर्दैन, डाक्टर हुँ, रुखमुनि बिरामी जाँचेर पनि बाँच्न सक्छु।' जनआन्दोलन सफल भएपछि उनले घाइते उपचार समन्वय समितिको नेतृत्व सम्हालिन्, जसले उनको सामाजिक पहिचानलाई थप उजागर गर्यो।
सचिव र राजीनामा
सुधाले सन् २००० मा लोकसेवाको खुला प्रथम श्रेणीमा नाम निकालिन् र प्रसूति गृहमा विशेषज्ञ सेवालाई निरन्तरता दिइन्। जनआन्दोलनपछि मन्त्री गिरिराजमणि पोखरेलको आग्रहमा उनले प्रसूति गृहको निर्देशक बनेर अस्पताल सुधारमा उल्लेखनीय योगदान पुर्याइन्।
२०६३ सालपछि पम्फा भुषालको पहलमा उनी स्वास्थ्य मन्त्रालयको कामु सचिव बनिन्। सचिव हुँदा उनले निःशुल्क प्रसूति कार्यक्रमको आधार तयार पारिन्, जुन नेपालको स्वास्थ्य क्षेत्रको कोसेढुंगा साबित भयो। तर, सचिवको कार्यकालमा कार्यविभाजन र सरुवाका कारण उनले तनावको सामना गर्नुपर्यो। अन्ततः उनले अढाई वर्ष बाँकी रहँदै २०६८ पुसमा सचिव पदबाट राजीनामा दिइन्।
राजीनामापछि युनिसेफ तान्जानियामा स्वास्थ्य र पोषण प्रमुखको जिम्मेवारी सम्हाल्दा उनले स्मार्ट सर्वेक्षण, सार्वजनिक खर्च पुनरावलोकन र मोबाइल प्रविधिमार्फत प्रसूति सेवालाई नवीनता प्रदान गरिन्।
विज्ञ मन्त्रीको परीक्षा
डा. सुधा शर्मा केवल आफ्नो व्यक्तिगत उपलब्धिको प्रतिनिधित्व गर्दिनन् उनले समग्र चिकित्सक र स्वास्थ्यकर्मीहरूको आकांक्षा र नेतृत्वको अपेक्षा बोकेकी छिन्। विज्ञका रुपमा मन्त्रीको कुर्सीमा पुगेकी उनको परीक्षा आइतबारबाट नै सुरु भएको छ। स्वास्थ्य क्षेत्रलाई प्राविधिक मन्त्रालयका रुपमा हेरेकाहरुले यस क्षेत्रमा विज्ञ मन्त्री आउनु पर्ने आवाज उठाउँदै आइरहेको समयमा डा सुधाले उक्त जिम्मेवारी पाएकी छिन्।
स्वास्थ्य मन्त्रीको लक्ष्य बोकेर विभिन्न राजनीतिक दलमा आबद्ध चिकित्सक तथा स्वास्थ्यकर्मीहरुका लागि पनि उनको कार्यसम्पादन अर्थपूर्ण हुनेछ। किनभने विज्ञलाई मन्त्रालय दिँदा आउने नतिजाले उनीहरुको भविष्य पनि निर्धारण गर्नेछ। उनको सफलताले स्वास्थ्य क्षेत्रमा विज्ञताको कदर हुने सन्देश दिनेछ तर प्रशासनिक जटिलतामा अल्झिएमा विज्ञ मन्त्रीको क्षमतामाथि पनि प्रश्न उठ्न सक्छ। उनको यो यात्रा स्वास्थ्य क्षेत्रको सुधारमा मात्र नभई चिकित्सक तथा स्वास्थ्यकर्मी समुदायको नेतृत्व र प्रतिनिधित्वको लागि पनि कोसेढुंगा बन्न सकोस्। सुधारको सुरुवातकर्ता बन्ने कि थप एउटा पूर्वमन्त्री बन्ने त्यो उनको कार्यदक्षताले निर्धारण गर्नेछ।