नेपालको आधुनिक चिकित्सा इतिहास, जनस्वास्थ्यका नीतिगत फड्को र लोकतान्त्रिक आन्दोलनहरूको एउटा साझा र बलियो साक्षी हो- नेपाल चिकित्सक संघ। वि.सं. २००७ सालमा वीर अस्पतालको एउटा सानो कोठामा २० जना दूरदर्शी चिकित्सकहरूले रोपेको पेसागत एकताको त्यो बिरुवा आज विशाल वृक्ष बनिसकेको छ।
चिकित्सक संघ केवल डाक्टरहरूको हकहितका लागि आवाज उठाउने संगठन मात्र होइन; सिंहदरबारका नीतिगत कोठाहरूदेखि विकट गाउँका महामारी र भूकम्पका भग्नावशेषसम्म नागरिकको स्वास्थ्य अधिकारका लागि अहोरात्र खटिएको एउटा जीवन्त अभियान हो। ऐतिहासिक प्रथम अध्यक्ष डा. सिद्धिमणि आचार्य दीक्षितदेखि पछिल्लो पुस्ताका सारथिहरूसम्म आइपुग्दा संघले चिकित्सा क्षेत्रको जग मात्र बसालेन, 'जेल विदाउट बेल' जस्ता ऐतिहासिक कानुनी सुरक्षा, स्वायत्त स्वास्थ्य सेवा ऐन र चिकित्सा शिक्षा सुधारका कयौँ कडा संघर्षहरूको कमान्डसमेत सम्हाल्यो।
समयका अनेकौँ उतारचढाव, राजनीतिक महामारी र पेसागत असुरक्षाका बीच संघको साख र गरिमालाई सधैँ उच्च राख्ने, त्यागी, निडर र मार्गदर्शक पूर्व अध्यक्षहरूको योगदान, नीतिगत नेतृत्व र नेपाली स्वास्थ्य क्षेत्रको जग बसाल्न नेपाल चिकित्सक संघका ३३ जना अध्यक्षहरुको संक्षिप्त विवरण यहाँ प्रस्तुत गरिएको छ।
डा. सिद्धिमणि आचार्य दीक्षित
नेपालमा प्रजातन्त्र स्थापनाको १३ दिनपछि, २०७ साल फागुन २० गते वीर अस्पतालका २० जना चिकित्सकहरू मिलेर 'नेपाल चिकित्सक संघ' को स्थापना गरे। यसका ऐतिहासिक प्रथम अध्यक्ष डा. सिद्धिमणि आचार्य दीक्षित हुन्। उनले लगातार आठ वर्षसम्म (२०१५ सालसम्म) संघको नेतृत्व गरेर सबैभन्दा बढी समय अध्यक्ष हुने इतिहास रचे। संघलाई सरकारबाट स्वीकृति दिलाएर उनले यसलाई नेपालकै पहिलो पेसागत संगठन बनाए।
चन्द्र शमशेरको सहयोगमा कोलकाताबाट चिकित्सा शिक्षा (एमबी) पूरा गरेका डा. सिद्धिमणिले सुरुमा भक्तपुरको लोकभक्त अस्पताल र पछि वीर अस्पतालमा सेवा गरे। प्रजातन्त्रपछि वीर अस्पतालको पहिलो डाइरेक्टर जनरल बनेका उनले स्वास्थ्य मन्त्रीसँगको खटपटका कारण सरकारी सेवाबाट राजीनामा दिए।
उनको नेतृत्वमा चिकित्सकहरूको तलबमान तोक्ने र खोप तथा राहत शिविर जस्ता जनहितका कार्यहरू भए। दुई पटक हृदयाघात र एक पटक मस्तिष्कघात झेलेका डा. सिद्धिमणिको सन् १९६८ अक्टोबर २९ मा निधन भयो।
डा. जीतसिंह मल्ल
भक्तपुरका मल्ल राजाका वंशज डा. जीतसिंह मल्ललाई डा. सिद्धिमणि दीक्षितले 'प्रिन्स अफ भक्तपुर' भन्थे। १९९० सालको विनाशकारी भूकम्पमा आफ्नो असनस्थित घर र परिवारको पर्वाह नगरी उनले वीर अस्पतालको प्राङ्गण र टुँडिखेलको पालमा बसेर अहोरात्र हजारौँ घाइतेको उपचार गरे। यसबापत उनले उच्च सम्मान पाएका थिए।
कोलकाताबाट चिकित्सा शिक्षा पूरा गरेका डा. मल्ल वीर अस्पतालको पहिलो नेपाली सुपरिटेन्डेन्ट तथा स्वास्थ्य सेवा विभागको महानिर्देशकसमेत बने। राजा महेन्द्रले उनको सेवाबाट खुसी भई मर्सिडिज गाडी उपहार दिएका थिए।
नेपाल चिकित्सक संघको संस्थापक महासचिव र दोस्रो अध्यक्ष बनेका उनले चिकित्सा क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान दिए। उनले आईओएमलाई स्वर्ण पदक, छात्रवृत्ति र भवन निर्माणका लागि लाखौँ रुपैयाँ सहयोग गरेका थिए। बेलायती दूतावासका फिजिसियनसमेत रहेका डा. मल्लको ८८ वर्षको उमेरमा हृदयाघातका कारण निधन भयो।
डा. दिनेशानन्द वैद्य
प्रख्यात वैद्य शारदानन्दका सुपुत्र डा. दिनेशानन्द वैद्य नेपालका पहिलो क्लिनिकल प्याथोलोजिष्ट हुन्। डा. सिद्धिमणि दीक्षितले राणा दरबारबाट पाएको सम्मान देखेर डाक्टर बन्ने प्रेरणा पाएका उनले सन् १९४४ मा कोलकाताबाट एमबीबीएस गरे। वीर अस्पतालमा चार वर्ष काम गरेपछि राणाकालीन छात्रवृत्ति पाएर उनी युनिभर्सिटी अफ लन्डनबाट प्याथोलोजी अध्ययन गरी फर्किए।
उनले वीर अस्पतालमा प्याथोलोजी सेवा विस्तार गर्नुका साथै नेपालकै पहिलो निजी प्रयोगशाला ‘लक्ष्मी क्लिनिक’ स्थापना गरे। गणेशमान सिंहका सहपाठी डा. वैद्यको घरमा बीपी कोइराला लगायतका राजनीतिक नेताहरूको बाक्लो जमघट हुन्थ्यो।
नेपाल चिकित्सक संघको संस्थापक सहसचिव र तेस्रो अध्यक्ष (२०१७–२०१८) बनेका उनले स्वास्थ्य सेवा विभागको महानिर्देशक भई नीतिगत सुधार, चिकित्सा कलेज स्थापनाको अध्ययन र शिक्षण अस्पतालको जग्गा पहिचानमा भूमिका खेले। बहुआयामिक भाषाका धनी डा. वैद्यको २०५० सालमा ७३ वर्षको उमेरमा हृदयाघातका कारण निधन भयो।
डा. नागेश्वरप्रसाद सिंह
सप्तरीको शिक्षित सिंह परिवारमा वि.सं. १९८३ मा जन्मिएका डा. नागेश्वरप्रसाद सिंहले बुबाको चाहनाअनुसार भारतको पटना मेडिकल कलेजबाट एमबीबीएस पूरा गरे। डाक्टर बनेर नेपाल फर्किए पनि उनले चिकित्सकीय अभ्यास गर्नुको साटो राजनीति र समाजसेवालाई आफ्नो मुख्य मार्ग रोजे।
उनी २०१५ सालको आम निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट सप्तरीबाट प्रतिनिधि सभा सदस्य निर्वाचित भए। उनले २०१७ सालमा अर्थ सहायक मन्त्री तथा पछि स्वास्थ्य, निर्माण, सञ्चार र यातायात मन्त्री जस्ता महत्त्वपूर्ण पदहरू सम्हाले।
डा. सिंह नेपाल चिकित्सक संघको चौथो अध्यक्ष (२०१८–२०१९) हुन्। उनकै कार्यकालमा संघको आधिकारिक मेडिकल जर्नल प्रकाशन गर्ने ऐतिहासिक निर्णय भएको थियो। उनी नेपाल मेडिकल काउन्सिल र साझा स्वास्थ्यका संस्थापकसमेत हुन्। जीवनको उत्तरार्धमा राजनीति छाडेर रेडक्रस र नेत्रज्योति संघमार्फत समाजसेवामा सक्रिय रहेका डा. सिंहको २०६७ सालमा ८७ वर्षको उमेरमा निधन भयो।
डा. यज्ञराज जोशी
सुदूरपश्चिमको डोटीमा जन्मिएका डा. यज्ञराज जोशीले भारतबाट चिकित्सा शिक्षा र बेलायतबाट छाती रोगमा विशेषज्ञता हासिल गरेका थिए। डा. सिद्धिमणि दीक्षितको प्रेरणाबाट छाती रोग विशेषज्ञ बनेका उनले वीर अस्पताल र केन्द्रीय चेस्ट क्लिनिक (तत्कालीन ज्ञानेन्द्र मोहन चेस्ट अस्पताल) मा लामो समय सेवा गरे।
वि.सं. २०१४ तिर स्वास्थ्य सेवा विभागको निर्देशक बनेका उनले चिकित्सकहरूको मर्म बुझेर काम गरे। उनकै कार्यकालमा नेपालमा पहिलो पटक ईसीजी मेसिन लगायतका आधुनिक चिकित्सा उपकरणहरू भित्रिएका थिए।
डा. जोशी नेपाल चिकित्सक संघका पाँचौँ अध्यक्ष (२०१९–२० २०२१) हुन्। उनको नेतृत्वमा त्रिभुवन विश्वविद्यालयलाई चिकित्साशास्त्र अध्ययन संस्थान स्थापनाका लागि पत्राचार गरिएको थियो। साथै, अन्तर्राष्ट्रिय मेडिकल एशोसिएशनहरूसँग सम्बन्ध विस्तार गर्ने, वीर अस्पतालको तालिमलाई वैधानिकता दिलाउने र नेपालमै औषधि तथा स्लाइन उत्पादन गर्ने नीतिगत प्रस्तावहरू उनकै पालामा अघि सारिएका थिए।
डा. अवध नारायण
विराटनगरमा जन्मिएका डा. अवध नारायण महात्मा गान्धीको विचारधाराबाट प्रभावित र खादी कपडा पहिरिने देशभक्त चिकित्सक थिए। भारतको स्वतन्त्रता आन्दोलन, नेपालको २००७ सालको क्रान्ति तथा पचासको दशकको हिन्दी भाषा आन्दोलनमा उनको सक्रिय सहभागिता थियो।
उनले सन् १९५२–५३ मा विराटनगरमा चिकित्सा संघ स्थापना गरे, जुन पछि नेपाल चिकित्सक संघमा गाभियो। डा. अवध २०२१ सालमा संघको छैटौँ अध्यक्ष चुनिए। उनको कार्यकालमा राजा महेन्द्रबाट भृकुटीमण्डपमा संघको भवनका लागि २ रोपनी जग्गा प्राप्त भयो र 'सिद्धिभवन' निर्माणको आर्थिक स्रोत जुटाइयो। उनकै पालामा नेपाल मेडिकल काउन्सिलले पूर्णता पायो र औषधि आयातको भन्सार महसुल १० प्रतिशतबाट घटाई १ प्रतिशत कायम गरियो।
समाजको तल्लो र पिछडिएको वर्गमा स्वास्थ्य सेवा पुर्याउन समर्पित डा. अवधले विराटनगरमा नर्सिङ होम र कलेज स्थापनामा योगदान दिए। सन् १९७२ मा मात्र ४८ वर्षको अल्पायुमै हृदयाघातका कारण उनको निधन भयो।
डा. लक्ष्मण पौडेल
ललितपुर निवासी डा. लक्ष्मण पौडेल नेपाल चिकित्सक संघका सातौँ अध्यक्ष हुन्। उनले वि.सं. २०२३ देखि २०२५ सम्म संघको सफल नेतृत्व गरेका थिए। बेलायतबाट प्याथोलोजी विषयमा विशेषज्ञता हासिल गरेर फर्केका डा. पौडेलले सुरुमा वीर अस्पतालमा सेवा गरे। वि.सं. २०२५ मा केन्द्रीय प्रयोगशाला (हालको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला) स्थापना गर्न उनले महत्त्वपूर्ण भूमिका खेले र लामो समय त्यहाँको निर्देशकका रूपमा कार्यरत रहे।
प्रयोगशालापछि स्वास्थ्य सेवा विभागको महानिर्देशक बनेका उनलाई तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाले कायममुकायम स्वास्थ्य सचिव नियुक्त गरेका थिए। उनी स्वास्थ्य मन्त्रालयका सम्भवतः पहिलो डाक्टर सचिव हुन्, जसले करिब ९ महिना सो पद सम्हाले।
डा. पौडेलकै कार्यकालमा संघको केन्द्रीय भवन निर्माण सम्पन्न भई प्रथम अध्यक्षको स्मरणमा यसको नाम 'सिद्धिसदन' राखियो। उनले चिकित्सकहरूको पदोन्नति, विशेष सेवा सर्त र मेडिकल काउन्सिल प्रभावकारी बनाउने नीतिगत मागहरू सरकारसमक्ष राखेका थिए।
डा. लक्ष्मीनारायण प्रसाद
रौतहटमा जन्मिएका डा. लक्ष्मीनारायण प्रसाद नेपालका पहिलो नाक, कान, घाँटी रोग विशेषज्ञ हुन्। पटनाबाट एमबीबीएस र बेलायतबाट विशेषज्ञता हासिल गरेका उनकै पहलमा वीर अस्पतालमा नाक, कान, घाँटी र आँखा रोगको छुट्टै युनिट स्थापना भएको थियो। उनले वीर अस्पताल सञ्चालक समितिको अध्यक्षका रूपमा समेत सेवा गरे।
बाल्यकालदेखि नै समाजसेवामा रुचि राख्ने डा. प्रसादले नेपालमा पहिलो बहिरा स्कुलको स्थापना गरे। यसका साथै सुस्त श्रवण कल्याण संस्था, रेडक्रस रक्त सञ्चार केन्द्र र नेपाल मेडिकल काउन्सिल जस्ता संस्थाहरूको नेतृत्वदायी भूमिका निर्वाह गरे। उनले अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित 'हेलेन केलर' पुरस्कारसमेत प्राप्त गरेका थिए।
नेपाल चिकित्सक संघको आठौँ अध्यक्ष (२०२५–२०२७) का रूपमा उनले मोफसलमा अधिवेशन गर्ने परम्परा बसाले, औषधि नियन्त्रण ऐन लागू गर्न दबाब दिए र अञ्चल शाखाहरूको व्यवस्था गरे। साहित्य लेखनमा समेत सक्रिय डा. प्रसादको २०६४ सालमा निधन भयो।
डा. शंकरबहादुर सिंह
१९९० सालको भूकम्पमा बुबाआमा गुमाएका डा. शंकरबहादुर सिंहले कोलकाताबाट एमबीबीएस र बेलायतबाट रेडियोलोजीमा डीएम गरे। वीर अस्पतालमा सेवारत रहँदा रानी रत्नको सफल उपचार गरेबापत पदक पाएका उनी एक निडर र स्पष्टवक्ता चिकित्सक थिए।
जेलमा रहेका बीपी कोइरालालाई क्यान्सर भएको रिपोर्ट दिएपछि मानवअधिकारको दबाबमा राजा महेन्द्रले बीपीलाई रिहा गरे। सोही रिपोर्टका कारण सुरक्षा चुनौती बढेपछि उनी तान्जानिया र जाम्बियामा रेडियोलोजी प्रमुख भई काम गरे। २०४० सालमा नेपाल फर्केपछि उनले प्रहरी, कान्ति र केएमसी अस्पतालमा सेवा गरे।
नेपाल चिकित्सक संघको नवौँ अध्यक्ष (२०२७–२०२९) का रूपमा उनले मेडिकल काउन्सिल ऐन कार्यान्वयन गराए, दन्त चिकित्सकलाई काउन्सिलमा समेटे र संघको केन्द्रीय पुस्तकालय निर्माण गरे। ९० वर्षको उमेरसम्म पेसामा सक्रिय वरिष्ठ रेडियोलोजिस्ट डा. सिंहको २०८० साल पुसमा निधन भयो।
डा. रामभद्र अडिगा
पशुपतिका पुजारीका सुपुत्र डा. रामभद्र अडिगा नेपालका पहिलो छाला तथा यौनरोग विशेषज्ञ हुन्। मोहन शमशेरको सहयोगमा छात्रवृत्ति पाई भारतबाट सन् १९५७ मा एमबीबीएस गरेका उनले तत्कालीन प्रधानमन्त्री बीपी कोइरालाको सहमतिमा बेलायतबाट विशेषज्ञता हासिल गरे। बेलायत बस्दा उनले बीबीसीमार्फत राजा महेन्द्रको भ्रमणको रिपोर्टिङसमेत गरेका थिए।
नेपाल फर्केपछि उनले वीर अस्पतालमा छाला तथा यौनरोग युनिट स्थापना गरे। पछि सरकारी सेवामै रहेर हैजा, बिफर उन्मूलन, एड्स र कुष्ठरोग नियन्त्रण अभियानमा महत्त्वपूर्ण योगदान दिँदै उनी स्वास्थ्य सेवा विभागको कार्यवाहक निर्देशकसम्म बने।
नेपाल चिकित्सक संघको १०औँ अध्यक्ष (२०२९–२०३१) का रूपमा उनले विशेषज्ञ चिकित्सकको क्लिनिक शुल्क ७ रुपैयाँ निर्धारण गराए। उनकै कार्यकालमा बेलायती चिकित्सकहरूद्वारा नेपाली डाक्टरहरूलाई विशेष तालिमको व्यवस्था र आधारभूत स्वास्थ्य सेवाको प्रतिवेदन सार्वजनिक गरियो। नाम जस्तै भद्र र सहयोगी डा. अडिगाको ९५ वर्षको उमेरमा २०८० पुसमा निधन भयो।
डा. अञ्जनीकुमार शर्मा
वि.सं. १९८५ मा सिरहामा जन्मिएका डा. अञ्जनीकुमार शर्मा बाल्यकालमा भ्यागुताको पेट चिरेर हेर्ने उत्सुकताकै कारण चिकित्सा क्षेत्रमा आकर्षित भएका थिए। कोलकाताबाट एमबीबीएस गरेपछि उनले बेलायतबाट एफआरसीएस उपाधि हासिल गरे। उनी नेपालका प्रथम कन्सल्टेन्ट सर्जन हुन्, जसको अगुवाइमा २०२२ सालमा वीर अस्पतालमा पहिलो सर्जिकल विभाग स्थापना भयो।
उनले अन्धविश्वास चिर्न 'रक्तदान जीवनदान' को ऐतिहासिक नारा दिए। तत्कालीन रानी रत्नको सफल शल्यक्रिया गरेर शाही चिकित्सक बनेका डा. शर्माले नेपाल अर्बुद रोग निवारण संस्था र भक्तपुर क्यान्सर अस्पतालको स्थापनामा महत्त्वपूर्ण जग बसाले। उनलाई लायन्स क्लबको विस्तारका लागि 'फादर अफ लायनिज' समेत भनिन्छ।
नेपाल चिकित्सक संघको ११ औं अध्यक्ष (२०३१–२०३३) का रूपमा उनले संघलाई 'वर्ल्ड मेडिकल एसोसिएसन' को सदस्यता दिलाए भने वीर अस्पतालमा पहिलो पटक डायलाइसिस मेसिन भित्र्याए। त्रिवि शिक्षण अस्पताल र नेपाल मेडिकल कलेजमा सर्जरी विभागको नेतृत्व गरेका चिकित्सा शिक्षाका यी महान् गुरुको २०७१ साल असोज २१ गते निधन भयो।
डा. विष्णुप्रसाद शर्मा
काठमाडौँमा जन्मिएका डा. विष्णुप्रसाद शर्मा नेपालका पहिलो मानसिक रोग विशेषज्ञ तथा 'नेपालका मनोचिकित्सक पिता' हुन्। बनारसबाट संस्कृतमा शास्त्री गरेपछि उनले अंग्रेजी पढेर भारतबाट एमबीबीएस र बेलायतबाट मानसिक रोगमा विशेषज्ञता हासिल गरे।
सुरुमा भक्तपुर अस्पतालमा बिनाभेदभाव सेवा गरेका उनले धामीझाँक्रीको विश्वास तोड्न भूमिका खेले। उनकै पहलमा सन् १९६४ मा वीर अस्पतालमा पहिलो पटक ४ शय्याको मानसिक वार्ड स्थापना भयो, जसले नेपालमा मनोचिकित्सा सेवाको बिजारोपण गर्यो। उनी वीर अस्पतालको सुपरिटेन्डेन्ट र पाटनस्थित मानसिक अस्पतालको निर्देशक समेत बने।
नेपाल चिकित्सक संघको १२औँ अध्यक्ष (२०३३–२०३५) का रूपमा उनले चिकित्सकहरूको सुरक्षाका लागि आवाज उठाए। साथै, स्वास्थ्य सम्बन्धी पहिलो पत्रिका 'यति परिवार डाइजेस्ट' को सम्पादन र साझा स्वास्थ्य सेवामा योगदान दिएका डा. शर्माको ६४ वर्षको उमेरमा मस्तिष्कघात (स्ट्रोक) का कारण निधन भयो।
डा. मणिन्द्ररञ्जन बराल
सिरहामा जन्मिएका डा. मणिन्द्ररञ्जन बराल नेपालका वरिष्ठ बालरोग विशेषज्ञ हुन्। ग्वालियरबाट एमबीबीएस र बेलायतबाट बाल चिकित्सामा विशेष तालिम प्राप्त गरेका उनले कान्ति बाल अस्पतालको निर्देशकका रूपमा यसको विकासमा महत्त्वपूर्ण योगदान पुर्याए। उनी तत्कालीन अधिराजकुमारी शोभा शाहीका जुम्ल्याहा सन्तानका पारिवारिक चिकित्सकसमेत थिए।
वि.सं. २०३५ देखि २०३८ सम्म नेपाल चिकित्सक संघको दुई पटक (१३औँ) अध्यक्ष बनेका उनले चिकित्सकमाथिका दुव्र्यवहारविरुद्ध क्लिनिक बन्द र कालोपट्टी आन्दोलनको नेतृत्व गरे। उनकै कार्यकालमा अनाधिकृत व्यक्तिले 'डाक्टर' पद लेख्न नपाउने व्यवस्था, आर्थिक नियमावली पारित र 'ह्यान्डबुक अफ पेडियाट्रिक्स इमरजेन्सी' पुस्तक प्रकाशन भयो।
नेपाल पेडियाट्रिक सोसाइटीका संस्थापक र दुई कार्यकाल अध्यक्ष रहेका उनी प्रजातन्त्रपछि नेपाल मेडिकल काउन्सिलको अध्यक्षसमेत बने। ५५ वर्षको उमेरमा अवकाशपछि राजनीति र शिक्षणमा सक्रिय डा. बराल एक प्रखर चिकित्सक हुन्।
डा. बद्रीबहादुर वैद्य
नेपाली चिकित्सा क्षेत्रमा मिहिनेती, शालिन र भद्र व्यक्तित्वका रूपमा परिचित डा. बद्रीबहादुर वैद्य एक कुशल प्याथोलोजिष्ट थिए। कोलोम्बो प्लान अन्तर्गत प्याथोलोजीको अध्ययन पूरा गरेका उनले लामो समय नेपाली सेनाको अस्पतालमा सेवा गरे। उनले न्यूरोडमा चर्चित 'सेन्टर क्लिनिक' सञ्चालन गर्नमा पनि महत्त्वपूर्ण भूमिका खेलेका थिए।
डा. वैद्य नेपाल चिकित्सक संघका १४औँ अध्यक्ष (२०३९–२०४१) हुन्। यसअघि उनले संघको वरिष्ठ उपाध्यक्ष र सदस्यका रूपमा समेत योगदान दिएका थिए। उनको कार्यकालमा चिकित्सा सेवाको गुणस्तर वृद्धि गर्ने, नेपालमै स्नातकोत्तर तहको शिक्षा सुरुआत गर्ने र अस्पतालहरूमा स्थानीय प्रशासनको अस्वाभाविक नियन्त्रण हटाउने नीतिगत निर्णयहरू गरिए।
उनकै नेतृत्वमा अतिरिक्त सेवाबापत चिकित्सकहरूलाई अतिरिक्त पारिश्रमिक र पदोन्नतिमा मूल्यांकन गराउने सहमति स्वास्थ्य मन्त्रालयसँग भयो। साथै, वीर अस्पतालका चिकित्सकमाथि भएको दुर्व्यवहारविरुद्ध पेसागत सुरक्षाका लागि उनले दह्रो आवाज उठाएका थिए।
डा. सुदीपकुमार भट्टाचार्य
धनुषामा जन्मिएका डा. सुदीपकुमार भट्टाचार्य नेपालका एक निडर शल्यचिकित्सक हुन्। भारतबाट एमबीबीएस र बेलायतबाट एफआरसीएस गरेका उनले आफ्नो करियरको सुरुआतमा विकट भोजपुरमा अस्पताल स्थापना गरी चुनौतीपूर्ण अवस्थामा स्वास्थ्य सेवा विस्तार गरेका थिए। उनी जातपात र सामाजिक अन्धविश्वासभन्दा माथि उठेर बिरामीको ज्यान जोगाउन प्रतिबद्ध रहने निर्भीक स्वभावका चिकित्सक हुन्।
काठमाडौँ सरुवाको विषयमा कुरा नमिल्दा तत्कालीन स्वास्थ्यमन्त्रीलाई ट्वाइलेट पेपरमा राजीनामा लेखेर बुझाएका उनी वीर अस्पतालको अध्यक्ष, न्याम्स तथा नेपाल मेडिकल कलेजको प्रोफेसर र नेपाल मेडिकल काउन्सिलको अध्यक्षसमेत बने।
नेपाल चिकित्सक संघको १५औँ अध्यक्ष (२०४१–२०४३) का रूपमा उनले चिकित्सकको सेवा-सुविधा सम्बन्धी प्रतिवेदन कार्यान्वयन गराउन पहल गरे। उनकै कार्यकालमा विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन, सल्लाहकार परिषद् गठन, सिद्धी भवनको विस्तार र लुम्बिनी अञ्चल शाखा स्थापना गरिएका थिए। हाल ९० वर्षको उमेरमा उनी सेवानिवृत्त जीवन बिताइरहेका छन्।
डा. यन्तमणि प्रधान
सिक्किममा जन्मिएका डा. यन्तमणि प्रधान नेपालका प्रतिष्ठित नेत्र रोग विशेषज्ञ हुन्। नेपाल सरकारको छात्रवृत्तिमा भारतबाट एमबीबीएस गरेका उनले बेलायतबाट आँखा सर्जरीमा विशेषज्ञता हासिल गरे। बेलायतबाट फर्केपछि वीर अस्पतालमा सेवा सुरु गरेका उनले तत्कालीन बडामहारानीको आँखामा रहेको जलविन्दु रोग पत्ता लगाएर चर्चा कमाएका थिए। काठमाडौँमा गाडी हुँदाहुँदै पनि साइकलमा हिँड्ने बानीका कारण उनलाई 'साइकल आई डाक्टर' उपनामले चिनिन्थ्यो।
उनी नेपाल आँखा अस्पताल, पोखरा अस्पताल र पाथिभारा आँखा अस्पतालमा समेत सक्रिय रहे। लायन्स क्लबको डिस्ट्रिक गभर्नरका रूपमा उनले देशका कुनाकुनासम्म आँखा शिविर सञ्चालन गरे र मीनभवनमा लायन्स आँखा अस्पताल स्थापना गर्न महत्त्वपूर्ण भूमिका खेले। उनले आफ्नो ५० वर्षभन्दा लामो करियरमा एक लाखभन्दा बढी मोतिविन्दुका बिरामीको दृष्टि फर्काएका थिए।
नेपाल चिकित्सक संघको १६औँ अध्यक्ष (२०४३–२०४५) का रूपमा उनले चिकित्सकको दरबन्दी बढाउन र अत्यावश्यक सेवा ऐन निर्माणमा पहल गरे। बाढीपहिरो र भूकम्पपीडितको उद्धारमा सक्रिय डा. प्रधानको २०७६ साल फागुन २२ गते निधन भयो।
डा. सच्चेकुमार पहारी
पाल्पामा जन्मिएका डा. सच्चेकुमार पहारी नेपालका प्रतिष्ठित फिजिसियन, कुशल संगीतप्रेमी र निडर पेसागत नेता हुन्। पटनाबाट एमबीबीएस र बेलायतबाट एमआरसीपी गरेका उनले २५ वर्ष वीर अस्पतालमा सेवा गरे। राजा वीरेन्द्रको 'रोयल फिजिसियन' रहेका डा. पहारीले २०४६ सालको जनआन्दोलनमा दरबारको प्रतिष्ठा त्यागेर प्रजातन्त्रका पक्षमा आम चिकित्सकहरूलाई सडकमा उतारे। आन्दोलनका क्रममा असुरक्षा बढेपछि उनी केही समय भारतसमेत पलायन हुनुपरेको थियो।
नेपाल चिकित्सक संघको १७ औं अध्यक्ष (२०४५–२०४७) का रूपमा उनले आन्दोलनकारी चिकित्सकको रिहाइको माग गरे, भारतीय नाकाबन्दीका बेला औषधि आपूर्ति सहज बनाए र संघको भवन निर्माणका लागि ३ लाख रुपैयाँ आर्थिक सहयोग गरे।
मृदुभाषी र सरल स्वभावका डा. पहारी नर्भिक अस्पतालका संस्थापक अध्यक्ष तथा नेपाल मेडिकल कलेज, जोरपाटीको स्थापनाका अग्रणी व्यक्तित्व हुन्। ५५ वर्षभन्दा लामो समय चिकित्सा क्षेत्रमा योगदान दिएका उनको २०७२ साल वैशाख ४ गते मस्तिष्क क्यान्सरका कारण निधन भयो।
डा. हेमांगमणि दीक्षित
काठमाडौँमा जन्मिएका डा. हेमांगमणि दीक्षित नेपालका वरिष्ठ बालरोग विशेषज्ञ, प्रतिष्ठित चिकित्सा शिक्षक र साहित्यकार हुन्। बेलायतबाट एमबीबीएस र बाल स्वास्थ्यमा डिप्लोमा गरेका उनले वीर र कान्ति बाल अस्पतालमा लामो समय सेवा गरे। चिकित्साशास्त्र अध्ययन संस्थानको डिन हुँदा शिक्षण अस्पताल निर्माणमा अग्रणी भूमिका खेलेका डा. दीक्षित पछि काठमाडौँ मेडिकल कलेजको प्रिन्सिपलसमेत बने। केएमसीमा कार्यरत रहँदा फिरौती नदिएको रिसमा आपराधिक समूहको गोली प्रहारबाट उनी बाँच्न सफल भएका थिए।
नेपाल चिकित्सक संघको १८औँ अध्यक्ष (२०४७–२०४९) का रूपमा उनले संघको भवन निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग जुटाए र लोकसेवामा चिकित्सकको दरबन्दी खुलाउन सफल पहल गरे।
स्वास्थ्य सेवालाई निजामतीबाट अलग गर्नुपर्ने माग उठाएका उनले नेपाल टेलिभिजनमार्फत स्वास्थ्य चेतना जगाउने र धूमपान नियन्त्रण गर्ने अभियानको सुरुआत गरे। 'मणि दीक्षित' का नाममा साहित्यिक र चिकित्सा इतिहासका दर्जनौँ पुस्तक लेखेका उनी ज्ञान र सिपका कारण चिकित्सा क्षेत्रका 'मणि' मानिन्छन्।
डा. भोजराज जोशी
बैतडीमा जन्मिएका डा. भोजराज जोशी नेपालका कुशल एनेस्थेसियोलोजिष्ट तथा नेपाल चिकित्सक संघका एक समर्पित अभियन्ता हुन्। भारतको दरभंगाबाट एमबीबीएस र एनेस्थेसियामा एमडी गरेका उनले प्रसूतिगृह, कान्ति, वीर, र नेपालगञ्ज मेडिकल कलेज (१९ वर्ष मेडिकल डाइरेक्टर) लगायतका अस्पतालहरूमा लामो समय सेवा गरे।
गुरुको प्रेरणाबाट चिकित्सक संघतर्फ आकर्षित भएका उनले आफ्नो तलब जति नै महँगो शुल्क भए पनि ऋण-धन गरेर आजीवन सदस्यता लिए। उनले अभियान नै चलाएर ३ सयभन्दा बढी चिकित्सकहरूलाई संघको आजीवन सदस्य बनाएका थिए। एक सहकर्मीको मस्तिष्क ट्युमरको उपचारका लागि संघमार्फत आर्थिक र औषधि सहयोग जुटाएपछि चिकित्सकहरूमा संघप्रति ठूलो विश्वास जागेको थियो।
संघको दुई कार्यकाल महासचिव र १९औँ अध्यक्ष (२०४९–२०५१) बनेका डा. जोशीले २०४६ सालको जनआन्दोलनमा घाइतेहरूको उपचारमा निडरतापूर्वक कमान्ड सम्हाले। तत्कालीन सरकारको धम्कीसामु नझुकी बिरामीको सेवामा अहोरात्र खटिएका उनी हाल सेवानिवृत्त जीवन बिताइरहेका छन्।
डा. रमेशकान्त अधिकारी
लमजुङको प्रसिद्ध 'हलोक्रान्ति' का नायक तोयनाथ अधिकारीका नाति डा. रमेशकान्त अधिकारी नेपालका प्रतिष्ठित बालरोग विशेषज्ञ, चिकित्सा शिक्षक तथा जनस्वास्थ्य अनुसन्धानकर्ता हुन्। भारतको एम्सबाट बाल रोगमा एमडी गरेका उनले आईओएममा करार लेक्चररबाट सेवा सुरु गरी महाराजगञ्ज मेडिकल क्याम्पसको प्रमुख र आईओएमको डिनसम्मको जिम्मेवारी कुशलतापूर्वक निभाए। डिन हुँदा उनले मनमोहन कार्डियोथोरासिक सेन्टरको निर्माण र बेसिक साइन्समा पीजीको सुरुआत गराए।
नेपाल चिकित्सक संघको २०औँ अध्यक्ष (२०५१–२०५३) का रूपमा उनले स्वास्थ्य सेवा ऐन ल्याउन रचनात्मक भूमिका खेले, चिकित्सकमाथिका दुव्र्यवहारविरुद्ध आवाज उठाए र दिवंगत तथा जेहेन्दार चिकित्सकका छोराछोरीका लागि छात्रवृत्तिको व्यवस्था गरे।
नेपालको पोषण र खोप योजनाका प्रमुख अनुसन्धानकर्ता डा. अधिकारी कोभिड महामारीका समयमा राष्ट्रिय खोप सल्लाहकार समितिको अध्यक्षसमेत बनेका थिए। नीति र विवेकलाई आत्मसात गर्ने प्रखर छवि बनाएका उनी हाल पनि स्वास्थ्य क्षेत्रमा सक्रिय छन्।
डा. विजयकुमार शर्मा
कपिलवस्तुमा जन्मिएका डा. विजयकुमार शर्मा नेपालका प्रतिष्ठित सर्जन, चिकित्सा शिक्षक तथा निडर पेसागत नेता हुन्। कलकत्ताबाट एमबीबीएस र भारतको एम्सबाट जनरल सर्जरीमा एमएस गरेका उनले राजनीतिक पृष्ठभूमिका कारण सुरुमा सरकारी जागिर पाउन ठूलो संघर्ष गर्नुपरेको थियो। भरतपुर अस्पतालमा कार्यरत रहँदा सीमित स्रोत-साधनका बीच जटिल शल्यक्रिया गरेका उनले एक बिरामीलाई आफ्नै रगत दिएर ज्यानसमेत बचाएका थिए।
पञ्चायतकालमा सरकारी दबाब र राजनीतिक निगरानीका बाबजुद उनले आन्दोलनका घाइते तथा नेताहरूको निर्भीक रूपमा उपचार गरे। त्रिविका प्राध्यापक र न्याम्सको शिक्षाध्यक्षका रूपमा उनले चिकित्सा शिक्षाको गुणस्तर वृद्धिमा महत्त्वपूर्ण योगदान दिए।
नेपाल चिकित्सक संघको २१ औं अध्यक्ष (२०५३–२०५५) का रूपमा उनले छुट्टै 'स्वास्थ्य सेवा ऐन' ल्याउन र चिकित्सकहरूको तह मिलान एवं स्वतः पदोन्नतिको व्यवस्था गराउन ऐतिहासिक भूमिका खेले। साथै, चिकित्सकहरूको सामूहिक दुर्घटना बीमा, संघको भवन निर्माण र मेडिकल काउन्सिलमा लाइसेन्स परीक्षा पद्धति सुरु गर्नमा उनको उल्लेखनीय योगदान छ। हाल उनी सेवानिवृत्त जीवन बिताइरहेका छन्।
डा. आनन्दप्रसाद श्रेष्ठ
संखुवासभामा जन्मिएर झापामा हुर्किएका डा. आनन्दप्रसाद श्रेष्ठ नेपालका अग्रणी रेडियोलोजिष्ट तथा सफल स्वास्थ्य प्रशासक हुन्। बाल्यकालमा डाक्टर बन्ने जिद्दीका साथ पाँच दिन भोक हड्ताल गरेका उनले तत्कालीन शिक्षा मन्त्री कीर्तिनिधि विष्टको सहयोगमा छात्रवृत्ति पाई भारतको दरभंगाबाट एमबीबीएस गरे। पछि उनले 'रेडियो मर्मत गर्ने विषय' भनी समाजले गिज्याएको विधा रेडियोलोजीमा भारतको एम्सबाट एमडी गरे र शिक्षण अस्पतालमा प्राध्यापनका साथै ओम अस्पतालको स्थापना गरी हालसम्म त्यसको अध्यक्षका रूपमा सेवा दिइरहेका छन्।
नेपाल चिकित्सक संघको २२ औं अध्यक्षका रूपमा उनले विभिन्न विशेषज्ञ समाजहरूलाई संघको छातामुनि एकीकृत गरे, डाक्टरहरूले रेडक्रसको साटो संघकै लोगो प्रयोग गर्ने परम्परा बसाले र ७० वर्ष पुगेका वृद्धवृद्धालाई उपचार शुल्कमा विशेष छुटको व्यवस्था गरे।
नेपाल मेडिकल काउन्सिलको इतिहासमा निर्वाचनमार्फत पहिलो उपाध्यक्ष बनेका डा. श्रेष्ठ नयाँ पुस्तालाई पेसागत एकता र इमानदारिताका साथ अघि बढ्न प्रेरित गर्दछन्।
डा. कल्याणराज पाण्डे
काठमाडौँको शिक्षित परिवारमा जन्मिएका डा. कल्याणराज पाण्डे नेपालका प्रतिष्ठित जनस्वास्थ्यविद् तथा कुशल स्वास्थ्य प्रशासक हुन्। भारतबाट एमबीबीएस गरेपछि वीर अस्पताल लगायतका सरकारी अस्पतालमा क्लिनिकल अभ्यास गरेका उनले धेरै मानिसलाई एकै पटक स्वस्थ राख्ने उद्देश्यले अमेरिकाबाट जनस्वास्थ्यमा स्नातकोत्तर गरे।
उनी स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार नियोजन तथा मातृशिशु कल्याण महाशाखाको निर्देशक हुँदै विभागको महानिर्देशकसम्म बने। नयाँ मेडिकल अधिकृतहरूलाई जिम्मेवारी सुम्पिन र सहयोगी व्यवहार गर्न अब्बल भएकाले उनलाई 'पपुलर डाक्टर' का रूपमा चिनिन्थ्यो।
नेपाल चिकित्सक संघको २३ औं अध्यक्ष (२०५७–२०५९) का रूपमा डा. पाण्डेले संघको हातामा व्यापारिक सटर निर्माण गरी आम्दानीको स्रोत जुटाए र धूमपानविरुद्ध बृहत् अभियान चलाए। उनको सबैभन्दा ठूलो योगदान सन् २००२ मा नेपाल चिकित्सक संघलाई वर्ल्ड मेडिकल एसोसिएसनको सदस्यता दिलाउनु हो, जसले संघलाई विश्वसामु चिनायो।
डा. मनोहरप्रसाद गुप्ता
विराटनगरमा जन्मिएका डा. मनोहरप्रसाद गुप्ता नेपालका प्रतिष्ठित चिकित्सक, कुशल स्वास्थ्य प्रशासक तथा प्राध्यापक हुन्। सुरुका दिनमा चिकित्सक बन्ने निश्चित लक्ष्य नभए पनि तत्कालीन समाजमा डाक्टरले पाउने उच्च सम्मान र बिरामीको अगाध विश्वास देखेर उनी यस पेसातर्फ आकर्षित भए। भारतको दरभंगाबाट एमबीबीएस गरेका उनले त्रिभुवन हेल्थ सेन्टरमा सेवा सुरु गरे र पछि क्यानडाको क्यालगरी विश्वविद्यालयबाट एमडीजीपीको अध्ययन पूरा गरे।
उनले त्रिवि शिक्षण अस्पतालमा सह-प्राध्यापकका रूपमा प्राध्यापन गर्नुका साथै बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र नेसनल मेडिकल कलेज, वीरगञ्जमा मेडिकल निर्देशकका रूपमा प्रशासनिक नेतृत्व सम्हाले।
नेपाल चिकित्सक संघको २४ औं अध्यक्ष (२०५९–२०६१) का रूपमा डा. गुप्ताले संघको भवन विस्तार, जर्नलको नियमित प्रकाशन, र 'डक्टर्स डिक्सनरी' को तयारीमा योगदान दिए। साथै, क्षयरोग नियन्त्रणका लागि ५ सय चिकित्सकलाई डट्स सम्बन्धी तालिम दिलाएका उनी २०६६ सालमा सेवानिवृत्त भई हाल पारिवारिक जीवन बिताइरहेका छन्।
डा. सुधा शर्मा
काठमाडौँमा जन्मिएकी डा. सुधा शर्मा नेपाल चिकित्सक संघको इतिहासमा पहिलो र हालसम्मकी एक मात्र महिला अध्यक्ष हुन्। राँचीबाट एमबीबीएस र बेलायतबाट स्त्री तथा प्रसूति रोगमा विशेषज्ञता गरेकी उनले प्रसूति गृहको निर्देशक तथा नेपाल सरकारको स्वास्थ्य सचिवको उच्च जिम्मेवारी कुशलतापूर्वक सम्हालिन्। उनको कार्यकालमा नेपालमा 'निःशुल्क प्रसूति कार्यक्रम' को घोषणा र कार्यान्वयन भएको थियो।
२०६१ देखि २०६३ सम्म चिकित्सक संघको नेतृत्व गर्दा उनले जनआन्दोलनमा पेसागत संगठनहरूको मोर्चा (पापड) को साहसिक नेतृत्व गरिन् र तत्कालीन सरकारको धम्कीसामु नझुकी आन्दोलनका घाइतेहरूको उपचार समन्वयको कमान्ड सम्हालिन्।
इमानदार र स्पष्टवक्ता डा. शर्माले मन्त्रालयमा राजनीतिक हस्तक्षेप र थिचो सहनुभन्दा साढे दुई वर्ष बाँकी छँदै सचिव पदबाट राजीनामा दिइन्। पछि उनले युनिसेफ तान्जानियाको स्वास्थ्य तथा पोषण प्रमुख भई अन्तर्राष्ट्रिय रूपमा सफल काम गरिन्। उनले जेनजी बिद्रोहपछि बनेको नयाँ सरकारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रीको रुपमा समेत काम गरिन्।
प्रा.डा. चोपलाल भुसाल
अर्घाखाँचीमा जन्मिएका प्रा.डा. चोपलाल भुसाल नेपालका वरिष्ठ नाक, कान, घाँटी रोग विशेषज्ञ, कुशल प्राध्यापक, पूर्व राजदूत तथा स्वास्थ्य प्रशासक हुन्। त्रिचन्द्र कलेजबाट आईएससी र आईओएमबाट हेल्थ असिस्टेन्ट गरेका उनले सोभियत युनियन (रूस) बाट एमबीबीएस र नेपालमै एमएस गरे। उनले वीर अस्पतालमा सेवा गर्नुका साथै आईओएममा २७ वर्ष प्राध्यापन गरे। पछि उनले बङ्गलादेशका लागि नेपालको राजदूत (२०१७–२०१९) का रूपमा समेत देशको प्रतिनिधित्व गरे।
नेपाल चिकित्सक संघको २६ औं अध्यक्ष (२०६३–२०६५) का रूपमा उनले जनआन्दोलन पछिको चन्दा आतंक, चिकित्सकमाथिका आक्रमण र अस्पताल तोडफोडविरुद्ध ऐतिहासिक नेतृत्व गरे।
चिकित्सकको सुरक्षाका लागि उनले चालेको अथक कदमकै कारण उनले पद हस्तान्तरण गरेकै दिन 'स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६' संसद्बाट पास भयो। चिकित्सकको नियुक्ति नवौँ तहमा हुनुपर्ने र चिकित्सक नै स्वास्थ्य सचिव बन्नुपर्ने नीतिगत आवाज उठाउने डा. भुसाल नेपाल मेडिकल काउन्सिलका निवर्तमान अध्यक्ष हुन्।
डा. केदार नरसिंह केसी
नुवाकोटमा जन्मिएका डा. केदार नरसिंह केसी नेपालका प्रतिष्ठित छाती तथा क्षयरोग विशेषज्ञ, प्रखर सामाजिक अभियन्ता र निडर पेसागत नेता हुन्। महाराजगञ्ज क्याम्पसबाट हेल्थ असिस्टेन्ट गरी सेवा सुरु गरेका उनले बंगलादेशबाट एमबीबीएस र स्नातकोत्तर गरे। कालीमाटी चेस्ट अस्पताल, रसुवा र कान्ति बाल अस्पतालमा लामो समय सेवा गरेका उनले बिरामीप्रतिको अगाध समर्पणका कारण 'जनताका पारिवारिक डाक्टर' को पहिचान बनाए।
पारिवारिक र राजनीतिक चेतका धनी डा. केसी पञ्चायतकाल र २०६२/६३ को गणतान्त्रिक आन्दोलनको अग्रमोर्चामा सक्रिय थिए। डा. भोलाराज जोशीको प्रेरणाबाट नेपाल चिकित्सक संघमा जोडिएका उनी २०६५ देखि २०६७ सम्म संघको २७ औं अध्यक्ष बने।
उनको कार्यकालमा जाजरकोटको हैजा महामारीमा चिकित्सक टोली परिचालन, डा. भक्तमान श्रेष्ठको अपहरणविरुद्ध आन्दोलन, र ९ औं-१० औं तहका चिकित्सकको दरबन्दी वृद्धि भयो। चिकित्सा क्षेत्रको सुदृढीकरण र नागरिक आन्दोलनमा समेत दरिलो उपस्थिति जनाएका डा. केसी भविष्यमा स्वास्थ्य मन्त्री बनेर देशको स्वास्थ्य क्षेत्र सुधार्ने लक्ष्य राख्छन्।
डा. किरण श्रेष्ठ
जुम्लामा जन्मिएका डा. किरण श्रेष्ठ कर्णाली क्षेत्रका पहिलो हेल्थ असिस्टेन्ट, प्रतिष्ठित चिकित्सक तथा प्रखर पेसागत नेता हुन्। महाराजगञ्ज क्याम्पसबाट एचए गर्दा विद्यार्थी राजनीतिमा होमिएका उनले रसियाबाट एमबीबीएस पूरा गरे। सरकारी सेवाका क्रममा हुम्लामा तीन वर्ष काम गरेका उनी पञ्चायत विरोधी राजनीतिक गतिविधिमा संलग्न हुँदा दुई महिना जेलसमेत परे, जसका कारण उनको विवाह नै रद्द भएको थियो।
नेपाल चिकित्सक संघको २८ औं अध्यक्ष (२०६७–२०६९) बन्नुअघि उनी संघको उपाध्यक्ष र दुई कार्यकाल महासचिव बने। २०६२/६३ को जनआन्दोलनमा कर्फ्युका बेला निडर भई घाइतेको उद्धार, मोबाइल क्लिनिक सञ्चालन र वीर अस्पतालका लागि बनेपा पुगेर तरकारी ल्याउने काममा उनी खटिए। आन्दोलनपछि देशभरका घाइते एवं अपाङ्गता भएकाहरूको सूची तयार पार्ने सरकारी समितिमा रहेर उनले काम गरे। हाल उनी सेवाभावका साथ सक्रिय जीवन बिताइरहेका छन्।
डा. अञ्जनीकुमार झा
महोत्तरीमा जन्मिएका डा. अञ्जनीकुमार झा नेपालका प्रतिष्ठित क्यान्सर रोग (रेडिएसन अंकोलोजी) विशेषज्ञ, कुशल चिकित्सा प्रशासक तथा निडर पेसागत नेता हुन्। बाल्यकालमा समयमै उपचार नपाएर १३ वर्षीय दाइ गुमाउनु परेको पारिवारिक पीडा र आमाको सपना पूरा गर्न उनी चिकित्सा क्षेत्रमा होमिएका थिए। बंगलादेशबाट एमबीबीएस र भारतबाट रेडिएसन अंकोलोजीमा एमडी गरेका उनले नवस्थापित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुरमा २२ वर्ष सेवा गरी त्यसलाई व्यवस्थित बनाउन ठूलो चुनौती र योगदान दिए।
नेपाल चिकित्सक संघको २९ औं अध्यक्ष (२०६९–२०७३) का रूपमा उनले डा. गोविन्द केसीको चिकित्सा शिक्षा सुधार आन्दोलनलाई सडकदेखि सरकारसँगको वार्तासम्म सशक्त नेतृत्व दिए। चिकित्सक हकहित र ऐनविपरीत गैर-स्वास्थ्यकर्मीलाई स्वास्थ्य सचिव बनाउँदा उनले कडा आन्दोलन गरे।
भूकम्पका बेला उद्धार तथा मानसिक परामर्शमा खटिएका र संघको केन्द्रीय भवन निर्माण सम्पन्न गराएका डा. झा चिकित्सा शिक्षा आयोगका निवर्तमान उपाध्यक्ष हुन्।
डा. मुक्तिराम श्रेष्ठ
अर्घाखाँचीमा जन्मिएका डा. मुक्तिराम श्रेष्ठ नेपाल स्वास्थ्यकर्मी संघ र नेपाल चिकित्सक संघ दुवैको अध्यक्ष बन्ने सम्भवतः एकमात्र गौरवशाली व्यक्तित्व हुन्। महाराजगञ्ज क्याम्पसबाट स्वास्थ्य सहायकको कोर्ष पूरा गरी १५ वर्ष सेवा गरेका उनले पछि एमबीबीएस, न्याम्सबाट प्रसूति तथा स्त्रीरोगमा एमडी र अस्पताल व्यवस्थापनमा स्नातकोत्तर गरे।
नेपाल चिकित्सक संघको ३० औं अध्यक्ष (२०७३–२०७६) का रूपमा उनले ऐतिहासिक नेतृत्व प्रदान गरे। उनको कार्यकालमा संघको नयाँ भवन निर्माण सम्पन्न भयो, जहाँ २६ वटा विशेषज्ञ समाजहरूका कार्यालय स्थापना गरी चिकित्सकहरूलाई एउटै छातामुनि गोलबन्द गरियो।
उनकै पालामा देशको संघीय संरचनाअनुसार संघको प्रादेशिक संरचना निर्माण भयो। डा. गोविन्द केसीको चिकित्सा शिक्षा सुधार आन्दोलनलाई समर्थन र चिकित्सक हकहितका लागि आन्दोलनको कमान्ड डा. श्रेष्ठको नेतृत्वको संघले गरेको थियो।
डा. लोचन कार्की

भोजपुरमा जन्मिएका डा. लोचन कार्की नेपालका वरिष्ठ फिजिसियन, चिकित्सा शिक्षाविद् तथा अत्यन्त लोकप्रिय पेसागत नेता हुन्। आमाको चाहनाअनुसार पाइलट बन्ने सपना त्यागेर चिकित्सा क्षेत्र रोजेका उनले बंगलादेशबाट एमबीबीएस र न्याम्स बाट इन्टरनल मेडिसिनमा एमडी गरे। उनी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), वीर अस्पतालको निवर्तमान शिक्षाध्यक्ष तथा रोयल कलेज अफ फिजिसियन्स, एडिनबर्गको एसियाका लागि क्षेत्रीय सल्लाहकार (२०२४–२०२९) हुन्।
४१ वर्षको सबैभन्दा कम उमेरमा नेपाल चिकित्सक संघको ३१ औं अध्यक्ष (२०७६–२०७९) निर्वाचित भएका उनले कोभिड-१९ महामारीको संकटलाई अवसरमा बदले। उनको नेतृत्वमा १२ हजारभन्दा बढी स्वास्थ्यकर्मीलाई क्रिटिकल केयर तालिम, निःशुल्क कल सेन्टर, र २५ वटा स्वास्थ्य संगठनहरूको साझा मोर्चाको कमान्ड सम्हाल्ने काम भयो।
उनकै कार्यकालमा स्वास्थ्यकर्मीमाथि हातपात गर्नेलाई जेल पुर्पक्ष गर्ने 'जेल विदाउट बेल' को प्रावधानसहितको ऐन परिमार्जन भयो, राष्ट्रिय स्वास्थ्य सम्मेलनको थालनी गरियो र मेडिकल म्युजियम स्थापनाको ऐतिहासिक कार्य अघि बढाइयो।
डा. अनिलविक्रम कार्की

वि.सं. २०३३ मा तेह्रथुममा जन्मिएका डा. अनिलविक्रम कार्की बाल्यकालमा आमाको गम्भीर रोग र नेपालमा उपचार नपाएर भारत धाउनुपरेको पारिवारिक सङ्घर्ष देखेपछि चिकित्सक बन्न प्रेरित भएका हुन्। पोखराको मणिपालबाट एमबीबीएस गरेपछि वीर अस्पतालमा इन्टर्नसिप गर्दा लाइसेन्स परीक्षाको विसङ्गतिविरुद्ध भएको आन्दोलनले उनलाई नेपाल चिकित्सक संघको नेतृत्व गर्ने सपना देखायो।
क्यान्सर रोगीहरूको पीडा देखेपछि न्यूरोसर्जरीको चाहना त्यागेर उनले चीनको सन यात-सेन युनिभर्सिटीबाट 'हेड एन्ड नेक क्यान्सर सर्जरी' मा विशेषज्ञता हासिल गरे। उनको सेवा र भरतपुर क्यान्सर अस्पतालमा सुरु भएको फेलोसिप कार्यक्रमले क्यान्सर उपचारका लागि नेपालीहरू भारत जानुपर्ने बाध्यता धेरै हदसम्म हटाएको छ।
सन् २०२३ मा संघको ३२ औँ अध्यक्ष बनेका डा. कार्कीको कार्यकालमा 'जेल विदाउट बेल' ऐनको कार्यान्वयन, आवासीय चिकित्सकहरूको भत्ता वृद्धि, अन्तर्राष्ट्रिय सिमाओ सम्मेलनको सफल आयोजना र चिकित्सा ऐनको मस्यौदा निर्माण जस्ता ऐतिहासिक नीतिगत तथा पेसागत सुरक्षाका उपलब्धिहरू हासिल भए।
अध्यक्ष डा. बद्री रिजाल

वि.सं. २०३२ मा रुपन्देहीमा जन्मिएका हाडजोर्नी विशेषज्ञ (स्पाइन सर्जन) डा. बद्री रिजाल २०४६ सालको जनआन्दोलनको परिवेशबाट राजनीतिक चेततर्फ आकर्षित भएका हुन्। विद्यालय जीवनमा जिल्ला टपर रहेका उनी महाराजगञ्ज क्याम्पसबाट एमबीबीएस गर्दा स्ववियु उपसभापति बने। पछि एमएस अध्ययनका क्रममा उनी रेजिडेन्ट डाक्टर्स एसोसिएसनको अध्यक्ष भएर चिकित्सा शिक्षा सुधार र आवासीय चिकित्सकका हकहितमा सक्रिय रहे।
सरकारी सेवामा प्रवेश गरी एघारौँ तहसम्म पुगेका डा. रिजालले अमेरिका जाने अवसर त्यागेर नेपालमै हाडजोर्नी शल्यक्रिया सेवामा आफूलाई समर्पित गरे। नेपाल चिकित्सक संघमा सदस्यता लिएपछि महासचिव र वरिष्ठ उपाध्यक्ष जस्ता महत्वपूर्ण पदहरू सम्हाल्दै उनले 'स्वास्थ्यकर्मी सुरक्षा ऐन' को संशोधन र कार्यान्वयनमा अग्रणी भूमिका खेले।
हाल संघको ३३ औँ अध्यक्षमा निर्वाचित डा. रिजाल कञ्जुमर कोर्ट र कार्यक्षेत्रमा हुने चिकित्सकमाथिको आक्रमणविरुद्ध नीतिगत लडाइँ लड्ने तथा सिनियर चिकित्सकको 'होस' र युवा चिकित्सकको 'जोस' लाई समन्वय गरी पेसागत सुरक्षा सुनिश्चित गर्ने योजनामा छन्।