मुम्बई- महाराष्ट्र खाद्य तथा औषधि प्रशासन (एफडीए) ले सिप्ला फार्मा एन्ड लाइफ साइन्सेस लिमिटेडको पुणेस्थित वडकी गोदामको औषधि बिक्री तथा वितरण लाइसेन्स रद्द गरेको छ।
विभिन्न नियम उल्लंघन गरेको आरोपमा एफडीएले यस्तो कारबाही गरेको हो। कम्पनीले भने एफडीएको निर्णयलाई ‘निराशाजनक’ भनेको छ।
एफडीएका अनुसार गोदाममा रियाक्सन प्लस ट्याबलेट्सको प्याकेजिङ, भण्डारण, अभिलेख व्यवस्थापन र औषधि फिर्ता (रिकल) प्रक्रियामा अनियमितता भेटिएको थियो।
औषधिको प्याकेजिङमा यसलाई दुखाइ कम गर्ने औषधिका रूपमा प्रस्तुत गर्दै टाउको दुखाइ, मांसपेशी दुखाइ, ढाड दुखाइ, जोर्नी दुखाइ, मोच, शरीर दुखाइ र दाँत दुखाइलगायत समस्यामा प्रयोग गर्न सकिने दाबी गरिएको एफडीएले जनाएको छ।
एफडीएले उक्त प्याकेजिङमा मानिसको आकृति प्रयोग गरिएको र औषधिले मांसपेशी दुखाइबाट राहत दिने सन्देशसमेत राखिएको जनाएको छ। नियामक निकायका अनुसार यस्ता दाबी, शब्दावली र चित्रण कानुनी प्रावधानअनुकूल नभएकाले औषधि ‘मिसब्रान्डिङ’ भएको हो।
गोदामको भण्डारण तथा व्यवस्थापनमा समेत कमजोरी भेटिएको एफडीएले जनाएको छ।
बम्बे उच्च अदालतको निर्देशनअनुसार एफडीएले नयाँ प्रक्रिया पूरा गरेपछि अक्टोबर १ मा लाइसेन्स रद्द गर्ने आदेश जारी गरेको हो। यसअघि अगस्ट २७ मा गरिएको कारबाहीपछि अदालतको निर्देशनअनुसार प्रक्रिया पुनः सुरु गरिएको थियो।
एफडीएले सेप्टेम्बर ४ मा सिप्लालाई संशोधित कारण देखाऊ सूचना जारी गरेको थियो। कम्पनीले सेप्टेम्बर ११ मा लिखित जवाफ दिएको र सेप्टेम्बर २१ मा व्यक्तिगत सुनुवाइमा सहभागी भएको थियो।
एफडीए आयुक्त तुकाराम मुन्धेले अदालतको निर्देशनअनुसार प्राकृतिक न्याय, पारदर्शिता र सुनुवाइको अवसर सुनिश्चित गर्दै निर्णय गरिएको बताएका छन्।
सिप्लाले भने आफ्नो पुणेस्थित गोदामले औषधि भण्डारण तथा वितरणका सबै प्रोटोकल र डिजिटल अभिलेख व्यवस्थापनका मापदण्ड पालना गर्दै आएको दाबी गरेको छ। कम्पनीले एफडीएको आदेशको समीक्षा गरिरहेको र थप कानुनी विकल्पबारे मूल्यांकन गरिरहेको जनाएको छ।