धनगढी- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नवजात शिशु तथा बालरोग विशेषज्ञ डा. प्रदीप मिश्रले पेसागत विषय विज्ञ समूहबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गरेका छन्।
स्वास्थ्य क्षेत्रमा लामो समयदेखि सक्रिय मिश्रले आफ्नो चिकित्सकीय अनुभव, पेसागत नेतृत्व क्षमता र राजनीतिक अनुभवलाई पार्टीको नीति निर्माण तहमा उपयोग गर्ने उद्देश्यले उम्मेदवारी दिएको बताएका छन्।
कांग्रेसको राजनीतिक पृष्ठभूमि भएको परिवारमा हुर्किएका मिश्रका पिता नारायण मिश्र नेपाली कांग्रेसका नेता तथा तत्कालीन जिल्ला विकास समितिका पूर्वसभापति हुन्। विद्यार्थी जीवनदेखि नै उनी नेपाल विद्यार्थी संघ (नेविसंघ)मार्फत लोकतान्त्रिक आन्दोलनमा सक्रिय भएका थिए।
सन् २००७ मा काठमाडौं मेडिकल कलेजबाट एमबीबीएस गरेका मिश्रले सन् २०१५ देखि धनगढीमा नवजात शिशु तथा बालरोग विशेषज्ञका रूपमा सेवा सुरु गरेका हुन्। सुदूरपश्चिमका ग्रामीण तथा विपन्न समुदायले स्वास्थ्य सेवामा भोगिरहेका समस्या नजिकबाट देखेकाले नीतिगत तहमा काम गर्न प्रेरित भएको उनले बताएका छन्।
डा मिश्रले नेपाल चिकित्सक संघ सुदूरपश्चिम शाखाको पूर्वसचिव तथा पूर्वअध्यक्षका रूपमा जिम्मेवारी सम्हालिसकेका छन्। उनी प्रजातान्त्रिक चिकित्सक संघ सुदूरपश्चिम प्रदेशका संयोजकसमेत हुन्। यसअघि उनले सुदूरपश्चिम प्रदेश सरकारका पूर्वसामाजिक विकासमन्त्री गोविन्द बोहराका विज्ञ सल्लाहकारका रूपमा पनि काम गरेका थिए।