काठमाडौं- नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनमा स्याङ्जा क्षेत्र नं. २ का खुमा प्रसाद अर्यालले गण्डकी प्रदेश खुलातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गरेका छन्।
वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट अर्यालले नेपाल विद्यार्थी संघ (नेविसंघ)बाट राजनीतिक यात्रा सुरु गरेका हुन्। उनले यसअघि पार्टीमा कार्यवाहक कोषाध्यक्ष र आर्थिक संयोजकजस्ता जिम्मेवारीसमेत सम्हालेका छन्।
पार्टी नेतृत्वमा आफ्नो व्यावसायिक अनुभव उपयोग गर्दै आर्थिक सुशासन, उद्यमशीलताको विकास, शिक्षा, स्वास्थ्य तथा आधुनिकीकृत कृषिलाई प्राथमिकतामा राख्ने उनले बताएका छन्।
अर्याल स्वास्थ्य शिक्षातर्फ युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस (यूसीएमएस), गण्डकी मेडिकल कलेज पोखरा, नेपालगञ्ज मेडिकल कलेज, लर्ड बुद्ध मेडिकल कलेज र सञ्जीवनी मेडिकल कलेज दाङलगायतका संस्थामा प्रमुख लगानीकर्ताका रूपमा संलग्न छन्। स्याङ्जामा आधुनिक पोल्ट्री फार्म, जनकपुरमा लेयर्स फार्म र हेटौँडामा दाना उद्योग सञ्चालनमा पनि उनको संलग्नता छ।
उनका व्यवसाय तथा उद्यममार्फत हालसम्म १५ हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएको दाबी गरिएको छ। ‘खुमा अर्याल फाउन्डेसन’मार्फत स्याङ्जासहित देशका विभिन्न जिल्लामा शिक्षा, स्वास्थ्य, रोजगारी र खेलकुद क्षेत्रमा सामाजिक काम हुँदै आएका छन्।
अर्याल यसअघि नेपाली कांग्रेसका तर्फबाट समानुपातिक संविधानसभा सदस्यका उम्मेदवारसमेत बनेका थिए। गण्डकी प्रदेश खुलातर्फ उनको उम्मेदवारीसँगै कांग्रेसको १५औँ महाधिवेशनमा यो समूहको प्रतिस्पर्धा थप रोचक बनेको छ।