काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा स्वास्थ्य क्षेत्रसँग प्रत्यक्ष जोडिएका नेता, चिकित्सक तथा मेडिकल व्यवसायीहरूले सभापति, महामन्त्री र केन्द्रीय सदस्यसम्मका विभिन्न पदमा उम्मेदवारी दिएका छन्।
पूर्व स्वास्थ्यमन्त्रीदेखि चिकित्सक तथा मेडिकल व्यवसायीसम्मका व्यक्तिहरू कांग्रेसको नयाँ नेतृत्व चयन प्रक्रियामा प्रतिस्पर्धामा छन्। स्वास्थ्य क्षेत्रको पृष्ठभूमि भएका केही उम्मेदवारले पार्टीको नीति निर्माणमा स्वास्थ्यका मुद्दालाई प्राथमिकताका साथ उठाउने बताएका छन्।
सभापतिमा पूर्व स्वास्थ्यमन्त्री गगन थापा
कांग्रेस सभापतिमा पूर्व स्वास्थ्य तथा जनसंख्यामन्त्री गगनकुमार थापाले उम्मेदवारी दर्ता गरेका छन्। १५औँ महाधिवेशनका लागि सभापतिमा थापासहित किशोरसिंह राठौर र श्यामकृष्ण खड्गीको उम्मेदवारी परेको छ। थापा यसअघि विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका थिए।

महामन्त्रीमा पूर्व स्वास्थ्यमन्त्री र दुई चिकित्सक
महामन्त्रीको खुलातर्फ स्वास्थ्य क्षेत्रसँग जोडिएका प्रदीप पौडेल, डा. सुनिलकुमार शर्मा र डा. सन्तोष उपाध्यायले उम्मेदवारी दिएका छन्। निर्वाचन समितिको प्रारम्भिक सूचीअनुसार खुला महामन्त्रीका दुई पदका लागि सात जनाको उम्मेदवारी परेको छ। उनीहरूसँगै अमरसिंह पुन, उदयशमशेर राणा, गुरुराज घिमिरे र नैनसिंह महर प्रतिस्पर्धामा छन्।
पौडेल यसअघि स्वास्थ्य तथा जनसंख्यामन्त्री भइसकेका हुन् र विशेष महाधिवेशनबाट महामन्त्री निर्वाचित भएका थिए। डा. शर्मा मेडिकल व्यवसायी हुन् भने डा. उपाध्याय चिकित्सक तथा युवा कांग्रेस नेता हुन्।
-1791345002.png)
चिकित्सक संघका पूर्वअध्यक्ष पनि केन्द्रीय सदस्यमा
नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष डा. अञ्जनीकुमार झा र डा. मुक्तिराम श्रेष्ठले पनि कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन्। झा मधेश भूगोल र श्रेष्ठ खुलातर्फ प्रतिस्पर्धामा छन्।
संघका अर्का पूर्वअध्यक्ष डा. केदारनरसिंह केसीले पेसागत/वर्ग क्लस्टरतर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन्। उनी कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्वास्थ्य समितिका संयोजकसमेत हुन्।
-1791343145.png)
मेडिकल व्यवसायी र स्वास्थ्य विज्ञ पनि मैदानमा
मेडिकल व्यवसायी खुमा प्रसाद अर्यालले गण्डकी प्रदेश खुला क्लस्टरबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गरेका छन्। चार्टर्ड एकाउन्टेन्टसमेत रहेका अर्याल विभिन्न मेडिकल कलेज तथा स्वास्थ्य संस्थामा लगानीकर्ताका रूपमा संलग्न छन्। उक्त क्लस्टरबाट तीन जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन्।

नवजात शिशु तथा बालरोग विशेषज्ञ डा. प्रदीप मिश्रले पेसागत विषय विज्ञ समूहबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गरेका छन्। स्वास्थ्य क्षेत्रका समस्या समाधानका लागि नीतिगत तहबाट हस्तक्षेप आवश्यक रहेको उनको भनाइ छ।
त्यस्तै, डा. गरिबदास ठाकुरले मधेशी क्लस्टरतर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन्। उक्त क्लस्टरमा आठ जना केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धा हुँदैछ।
यसरी कांग्रेसको १५औँ महाधिवेशनमा स्वास्थ्य क्षेत्रसँग जोडिएका व्यक्तिहरू पार्टीको शीर्ष नेतृत्वदेखि विभिन्न क्लस्टरका केन्द्रीय सदस्यसम्मको प्रतिस्पर्धामा देखिएका छन्। चिकित्सक तथा स्वास्थ्य क्षेत्रका उम्मेदवारहरूले आफ्नो पेसागत अनुभवलाई पार्टीको नीति निर्माण र स्वास्थ्य क्षेत्र सुधारसँग जोड्ने विषयलाई उम्मेदवारीको आधार बनाएका छन्।