काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदका लागि पूर्व स्वास्थ्यमन्त्री, मेडिकल व्यवसायी र चिकित्सकसहित ११ जना प्रतिस्पर्धामा उत्रिएका छन्। खुला महामन्त्रीतर्फ ८ र महिलातर्फ ३ जनाले उम्मेदवारी दर्ता गरेका छन्।
खुलातर्फ पूर्व स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, वर्तमान महामन्त्री गुरुराज घिमिरे, उदयशमशेर राणा, अमरसिंह पुन, नैनसिंह महर, शंकर तिवारी, मेडिकल व्यवसायी तथा चिकित्सक डा. सुनिलकुमार शर्मा र चिकित्सक डा. सन्तोष उपाध्यायले उम्मेदवारी दर्ता गरेका छन्।
पूर्व स्वास्थ्य तथा जनसंख्यामन्त्री पौडेल यसअघि कांग्रेसको महामन्त्री भइसकेका छन्। यसपटक पनि उनले खुलातर्फबाट उम्मेदवारी दिएका हुन्। स्वास्थ्य क्षेत्रबाटै आएका डा. सुनिल शर्मा र डा. सन्तोष उपाध्यायको उम्मेदवारीले महामन्त्रीको प्रतिस्पर्धामा चिकित्सक पृष्ठभूमिका दुई नेता पनि देखिएका छन्।
मेडिकल व्यवसायीसमेत रहेका डा. सुनिल शर्मा काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेज सञ्चालक हुन्। उनले कांग्रेसलाई जनतासँग थप जोड्ने एजेन्डासहित महामन्त्रीमा उम्मेदवारी दिएका छन्। अर्का चिकित्सक डा. सन्तोष उपाध्यायले पनि पार्टीमा नयाँ पुस्ताको सहभागिता र स्वास्थ्य क्षेत्रका विषयलाई राजनीतिक तहमा उठाउने विषयलाई प्राथमिकतामा राखेका छन्।
महिला महामन्त्रीतर्फ डा. डिला संग्रौला, रिता खनाल र महालक्ष्मी उपाध्याय ‘डिना’ प्रतिस्पर्धामा छन्। कांग्रेसको विधानअनुसार खुला समूहबाट दुई र महिलातर्फबाट एक महामन्त्री निर्वाचित हुने व्यवस्था छ।
यसरी कांग्रेसको महामन्त्रीको प्रतिस्पर्धामा राजनीतिक संगठनमा लामो समयदेखि सक्रिय नेतादेखि पूर्व स्वास्थ्यमन्त्री, मेडिकल व्यवसायी तथा चिकित्सकसम्म मैदानमा देखिएका छन्।